22 April 2016

भुकम्पमा भगवानले वचाएका ६ महिने वालकको एक बर्ष

sonisभक्तपुर-भूकम्प गएको बेला बामे सर्न पनि नसक्ने सोनिस कुद्‌न सक्ने भएका छन् । त्यसबेला रुन र हाँस्न मात्रै जान्ने उनी तोतेबोलीमा बाबा-मामा भन्न थालेका छन् ।
घरको भग्नावशेषभित्र २२ घन्टापछि ६ महिने सोनिसलाई जीवितै पाउँदा भूकम्पले ध्वस्त उनका बाबा-आमाको मन जसरी जोडिएको थियो, ढलेको घर भने वर्ष दिन पुग्दा पनि ठडिएको छैन ।
धुलैधुलोले पुरिएका सोनिस अवाल नेपाली सेनाले उद्धार गरेसँगै संसारभर एकाएक ‘सेलिब्रिटी’ बने । वर्षदिन पुग्दा अवाल परिवारले घरको भग्नावशेष पन्छाएको छ तर छोरो कसरी हुर्काउने ? जीवन कसरी धान्ने भन्ने पिरलोले भक्तपुर नगरपालिका ४ मूलढोकाका श्याम अवाल र रमिला अवाललाई पनि पछ्याइरहेको छ ।

भुइँचालोलाई जित्ने शिशु सोनिसको परिवारको पीडा पनि भूकम्प बेहोरेका आम नेपालीकै जस्तो साझा छ । गएको वैशाख १२ को भूकम्पमा घर ध्वस्त हुँदा श्याम-रमिलाका ६ महिनाको छोरा सोनिस र १३ वर्षकी छोरी सोनिया घरभित्रै पुरिएका थिए ।
भूकम्पलगत्तै खटिएका सुरक्षाकर्मी र स्थानीयले सोनियाको जीवितै उद्धार गरे तर सोनिस फेला परेनन् । भूकम्प गएको एकदुई घन्टा होइन, २० घन्टा हुँदा पनि सोनिसको अत्तोपत्तो लागेन ।
सुरक्षाकर्मीले पटकपटक भूकम्पले भत्काएको घरको भग्नावशेष पन्छाउँदा पनि सोनिस नभेटिएपछि आमा रमिला र बुबा श्यामको मन ठाउँमा थिएन । ‘छोरा नभेटिँदासम्म म त अर्धमूर्छितजस्तै भएछु । होस छैन भनौं होस छ तर कुनै सम्झना छैन’, सोनिसकी आमा रमिलाले भनिन्, ‘आँखाभरि छोरा मात्रै देखें । दिमाग र मनले पनि छोरालाई मात्रै झलझली सम्झिरहेको थियो ।’
छोरा नभेटिएसम्म बाँचेको भए हुन्थ्यो भन्ने कुरा मात्रै आफ्नो दिमागमा खेलिरहेको उनले सुनाइन् । ‘छोरा नभेटिएको र भूकम्प पनि नरोकिएकाले अब हामी पनि मर्ने भयौं भन्ने तर्कनासमेत मनमा आउँथ्यो’, रमिलाले थपिन् ।
sonis1
त्यही घरमा आफ्ना दुई भतिजीले पनि ज्यान गुमाएकाले आफ्नो छोरा पनि जीवित होला भन्ने उनलाई आशा थिएन । सुरक्षाकर्मी घन्टौंको खोजीमा पनि सोनिस नभेटिँदा हरेस खान्थे । उद्धारमा खटिएका सुरक्षाकर्मी ‘अब सोनिस भेटिँदैन। बाँच्ने सम्भावना पनि छैन’, भन्दै उद्धार रोक्थे ।
यसो भनेको सुन्दा रमिलाको आँखाबाट आँसु बगिरहन्थ्यो । सुरक्षाकर्मी काम रोकेर अघि बढ्न नपाउँदै सोनिस रोएको आवाज सुनिन्थ्यो । बच्चा रोएको सुनेपछि सुरक्षाकर्मी ‘यसले त हामीलाई नछाड्ने भयो। बोलाएको छ, बोलाएको छ’ भन्दै फेरि उद्धारमा खटिन्थे ।
२२ घन्टाको अथक खोज तथा उद्धारपछि सुरक्षाकर्मीले सोनिसलाई जीवित भेट्टाए धुलाम्मे र बायाँ तिघ्रामा घाउ भएको अवस्थामा । सोनिस भेटिएपछि रमिलाका आँखा पुनः रसाए । आँसु भन्ने अनौठो चीज रहेछ दुःखमा पनि बग्ने, खुसीमा पनि बगिहाल्ने ।
‘छोरा भेटिएपछिको अनुभूति मैले अझसम्म व्यक्त गर्न सकेकी छैन’, उनले लामो सास लिएर भनिन्, ‘यसलाई म चमत्कार नै मान्छु ।’ सोनिसको तिघ्रामा आमा रमिलाले लुगा सिउन बस्ने फलामे मेचले घोच्दा घाउ भएको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

No comments :

Post a Comment