18 January 2016

तराईमा एकै सातामा दुइ बालकको अपहरणपछी हत्या

१८ जनावरी २९१६, जनकपुरधाम : एक सातामा दुईजना बालकको अपहरणपछि हत्या भएको घटनाले महोत्तरीको सीमाक्षेत्रसँग जोडिएका ग्रामीण भेगमा आतंक छाएको छ ।
जिल्ला सदरमुकाम जलेश्वर-१२ मलिवाराबाट विहीबार साँझ अपहरणमा परेका ११ वर्षीय बालकको शरीर खाल्डोमा गाडिएको अवस्थामा फेला परेपछि सम्पूर्ण गाउंनै शोकमग्न भएको छ ।

सीमावर्ती भिठ्ठामोड बजारमा भारु र नेरु सटहीको काम गर्दै आएका नविन पाण्डेका एकमात्र छोरा निश्चलको अपहरण विहीबार साँझ भिठ्ठामोड बस स्टेन्डबाट भएको थियो ।

अपहरण भएको चार दिनपछि उनको शव जलेश्वर–१३ रातो खोलाको पश्चिम किनारमा खरघारीमा गाडिएको अवस्थामा फेला परेको थियो । 

बालक अपहरणको आशंकामा प्रहरीले तीनजनालाई पक्राउ गरि अनुसन्धान थालेपछि उनीहरुले नै बालकको अपहरण लगत्तै हत्या गरि शव खाल्डोमा गाडेको स्वीकारका छन् । 

खाल्डोमा गाडिएको अवस्थामा प्रहरीले बालकको शव निकालेको निश्चलकी काकी सुधा पाण्डेले बताइन् । 

अपहरणकारीहरुले आफुलाई शुक्रबार फोन गरि मागेको ५० लाख रुपैयाँ फिरौती दिन नसकेपछि निश्चलको हत्या भएको सुधाले बताइन् । 

मृतक निश्चलकी आमा रुबी मण्डलले एकमात्र छोराको हत्या भएको थाहा पाएदेखिनै अचेत अवस्थामा रहेकी छिन् । 

निश्चलको शवलाई पोष्टमार्टमपछि सोमबार परिवारजनको जिम्मा लगाएपछि अन्तिम संस्कार गरिएको छ । कसैसँग दुष्मनी नरहेको अवस्थामा यस प्रकार अबोध बालकलाई हत्या किन गरियो भन्ने प्रश्न गाउँमा उठेको छ ।
यसअघि गत आइतबार महोत्तरीको भटौलिया गाविस–२ निवासी रविन्द्र महासेठका ८ वर्षीय छोरा जिनेस भनिने चिरञ्जीवी महासेठलाई हत्या गरि खाल्डोमा पुरिएको अवस्थामा शव बरामद गरिएको थियो । 

मेला लगाउने विषयमा चन्दा संकलनलाई लिएर मेला समितिका अध्यक्ष समेत रहेका महासेठ र स्थानीय युवाहरुबीच विवाद हुँदा ती युवाहरुले चिरञ्जीविको अपहरण गरि हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट देखिएको थियो । 

बालक अपहरण र हत्याका घटना बढेपछि सीमावर्ती गाउँका बासिन्दाहरु त्रसित भएका छन् । 

No comments :

Post a Comment