07 November 2015

भारतसामु नझुक्ने प्रचण्डको दृढटा, भट्टराई दुष्ट हुन्

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको हेपाहा प्रवृत्तिका अगाडि अन्तिम समयसम्म पनि नझुक्ने बताएका छन्। नेपालले भारतसँग दुश्मनी गर्न नभई सधै मित्रता बढाउन चाहेको भन्दै उनले भारतले नेपाललाई जबरजस्ती झुकाउन खोजे अन्तिम समयसम्म पनि लड्न तयार रहेको बताए।
क्रान्तिकारी पत्रकार संघद्धारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले तत्कालको लागि केहि दुःख र कठिनाई भएपनि राष्ट्र र आगामी पुस्ताको लागि सबै एक ढिक्का भएर राष्ट्रियता र स्वाभिमान रक्षाको लागि लड्नुपर्ने बताए।

संविधान निर्माण कार्यमा नेपाली जनताले धैयर्ताका साथ राजनीतिक दल र सरकारलाई साथ दिएको अनुभूती आफूले गरेको उल्लेख गर्दै यसपटक पनि राजनीतिक दल र सरकारलाई साथ दिएर भारतीय हस्तक्षेपका विरुद्ध एक ढिक्का हुन आग्रह गरे।
उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो संविधान आफैंले बनाएर नेपालीले कुनै गल्ती नगरेको र संविधानले कसैलाई विभेद पनि नगरेको स्पष्ट पारे।
उनले भने, ‘नेपालमा संविधान बनाएर हामीले कुनै गल्ती गरेका छैनौं र यसले कसैलाई विभेद पनि गरेको छैन। मधेशलाई विभेद गर्‍यो भन्ने जुन भ्रम पार्न खोजिएको छ त्यो सत्य होईन । बरु पहिचानको आधारमा भन्ने हो भने मधेशलाई अन्य समुदायलाई भन्दा धेरै पहिचान प्राप्त भएको छ।’
संविधान बनाए वापत नेपालीले दुःख पाउनुपर्ने कुनै कारण नभएको भन्दै उनले ठूलो र छिमेकी मुलुक भएको नाताले भारतले छिटो भन्दा छिटो यो समस्याको समाधान खोज्नुपर्ने बताए ।
‘यो पटक जसरी आत्मनिर्णयको अधिकार उपयोग गरेर संविधान र सरकार निर्माण गरी अगाडि बढेका छौं यसले विश्वसामु नेपालीले आफ्नो अधिकारको फैसला आफैंले गर्न सक्छन् भन्ने प्रमाणित भएको छ,’ प्रचण्डले भने।
मधेशमा जारी आन्दोलन र मधेशी समुदायले उठाएका विषयहरुको समाधानको लागि संबिधान संशोधन सँगै वार्ता र छलफलको माध्यमबाट समस्या समाधानको पहल भईरहेको भन्दै आन्दोलनरत पक्षलाई जिम्मेवार भएर समस्या समाधानको बाटोमा आउन आग्रह गरे ।
नाकाबन्दीको सम्बन्ध मधेश आन्दोलन र छिमेकी मुलुक भारतसँग पनि जोडिएको उल्लेख गर्दै प्रचण्डले समाधानको लागि आन्दोलनरत पक्षसँग वार्ता र छलफलसँगै भारतीय अधिकारीहरुसँग कुटनीतिक पहल पनि भईरहेको बताए।
भारतको अघोषित नाकाबन्दीका कारण ईन्धन सँगै सबैक्षेत्रमा असर पर्नुको साथै खर्बौको आर्थिक क्षती भएको बताए।  उनले सरकारले यसको वैकल्पिक व्यवस्थाको खोजी पनि गरिरहेको बताए। ईन्धनको समस्या समाधानको लागि अन्य मुलुकबाट ईन्धन ल्याउने विषयमा पनि छलफल र प्रयासहरु भईरहेको बताए ।
संविधानसभा मार्फत जारी भएको नेपालको संविधान दक्षिण एशियामा मात्र होईन विश्वका सबै मुलुकको संविधानभन्दा प्रगतिशिल भएको उनले दावी गरे। जनताको प्रतिनिधि मार्फत नेपाली जनताको आत्मनिर्णयको अधिकार प्रयोग गरेर स्वतन्त्रतापूर्वक जारी गरेको संविधान लोकतान्त्रिक र वैधानिक विधीको दृष्टिले पनि सबैभन्दा उत्कृष्ट रहेको उनले दावी गरे ।
एक अर्को प्रसंगमा प्रचण्डले बाबुराम भट्टराईले पार्टी त्यागेर आत्मघाती निर्णय गरेको बताए। ‘हामी सबैले उहाँलाई पूनर्विचार गर्नुस्, पार्टीमा फर्किनुहोस् भनेर धेरै पटक आग्रह गर्‍यौ मान्नु भएन। अन्तत उहाँको यो निर्णयले उहाँलाई नै घाटा पुर्‍याउने छ,’ उनले भने।
भट्टराईले दिएको दुःख अहिले सबै नेपालीहरुले झेल्नुपरेको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले आफूले भने भट्टराईले दिएको दुःख २५ वर्षदेखि झेल्दै आएको दोहोर्‍याए। 

No comments :

Post a Comment