12 October 2015

पाउनेभए निजी सवारीले तेल, ब्लु बुक अनिबार्य

Petrol line (3)१२ अक्टोबर २०१५, काठमाडौं- आफ्नो सवारीमा तेल नभएर दशैंमा कसरी घर जाने भन्न्ने पीरमा हुनुहन्छ ? पीर नलिनुस्, बरु भोली तेल भर्न जाने योजना बनाउनुस् । दशैंलाई लक्षित गर्दै नेपाल आयल निगमले काठमाडौं उपत्यकामा भोलि मंगलबार निजी सवारीलाई पनि एक दिनका लागि डिजेल र पेट्रोल वितरण गर्दैछ ।
दिउँसो १ बजेदेखि वितरण
भारतको नाकाबन्दीका कारण इन्धन अभाव भएपछि केही दिनदेखि निगमले कोटा प्रणाली अनुसार सार्वजनिक, सरकारी र अत्यावश्यक सेवाका सवारीलाई केही पम्पहरुबाट मात्रै तेल दिँदै आएको थियो । दशैंमा घर जाने यात्रुहरुलाई लक्षित गरी आयल
निगमले निजी सवारीलाई पनि तेल दिने निर्णय यसअघि नै गरेको थियो । तर अब निगमले मंगलबार काठमाडौं उपत्यकाका सबै पेट्रोल पम्पहरुबाट तेल वितरण गर्दैछ । दिउँसो १ बजेदेखि सबै पम्पमा पेट्रोल-डिजेल वितरण सुरु गर्ने तयारी गरिएको छ । एक स्थानमा तेल भरेकाले अर्को स्थानमा गएर भर्न पाउने छैनन् ।
उपत्यकामा रहेका झण्डै १ सय २५ पेट्रोलपम्पहरुले निजी सवारीलार्इ इन्धन वितरण गर्नेछन् । ‘मंगलबार मूलरुपमा निजी सवारी धनीलाई लक्षित गरी पेट्रोल वितरण गरिने छ,’ नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले भने । निगमले सहजरुपमा तेल लिने वातावरण बनाउन सबै पम्पहरुलाई तेल दिन लागेको उनले जानकारी दिए ।
सार्वजनिक सवारीलाई भने बसपार्क क्षेत्रका केही पम्पहरूमा मात्र तेल दिइने नेपाल आयल निगमका प्रवक्ता बरालले बताए ।
कसले कति पाउँछन् ?
आयल निगमले निजी मोटरसाइकललाई ५ लिटर मात्रै पेट्रोल दिने जनाएको छ । यस्तै चारपांग्रे कार, जिप-भ्यानलगायतलाई १५ लिटरका दरले इन्धन उपलब्ध गराउन लागिएको उनले जानकारी दिए ।
निगमले सार्वजनिक यतायात अन्तरगत जोरबिजोर नम्बरका आधारमा माइक्रोबसलाई १५, मिनीबसलाई २० र ठूला बसलाई ३० लिटर पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको छ ।
यस्तै अत्यावश्यक बस्तु ढुवानीमा संलग्न साना गाडीहरुले जोरबिजोरका आधारमा १० लिटर तेल पाउँदै आएका छन् । अतिआवश्यक सेवाका दमकल, एम्बुलेन्स लगायतलाई दैनिक १० लिटर तेल उपलब्ध गराउने क्रम चलिरहेको छ । ट्याक्सीले सातामा १० लिटर पेट्रोल पाउँदै आएका छन् ।
ब्लुबुक अनिवार्य
निगमले तेल भर्न आउँदा सवारीको ब्लुबुक बोकेर आउन आग्रह गरेको छ । तोकिएको परिमाणअनुसार इन्धन भरेर ब्लु बुकमा आयल निगमको लोगो अंकित छाप लगाउने व्यवस्था गरिएको बरालले बताए ।
‘सवारीसाधनमा इन्धन भरेपछि मिति उल्लेख गरी ब्लु बुकमा आयल निगमको छाप लगाउँछौं,’ बरालले भने, ‘त्यसैका आधारमा एक ठाउँमा तेल भरेको सवारीले अन्यत्र तेल भर्न पाउँदैन ।’
६ लाख लिटर पेट्रोल वितरण हुने
दसैँमा सवारीसाधन चलाउन सजिलो गराउन र उपत्यकाबाट बाहिरिनेलाई पनि ध्यानमा राखेर निगमले आफ्नो क्षमता अनुरुप अधिकतम तेल वितरण गरिने स्पष्ट गरेको छ । उपत्यकामा मंगलबार ६ लाख लिटर पेट्रोल वितरण गर्ने योजना छ । डिजेल भने लामो दुरीमा चल्ने सवारीलाई लक्षित गरी वितरण गर्ने भनिएपनि परिमाण तय भएको छैन ।
निगमले सोमबार ८६ वटा पम्पबाट ४ लाख ७० हजार लिटर डिजेल वितरण गरेको छ भने ८ वटा पम्पबाट ५८ हजार लिटर पेट्रोल बाँडिदैछ ।
भारतबाट तेल आउन कम भएपछि निगमले कोटा निजी सवारीलाई तेल दिन बन्द गरेको छ । तर, भोली मंगलबार एक दिन मात्र निजी सवारीलाई तेल दिन लागिएकाले पेट्रोल पम्पहरुमा भिड लागेको छ ।
- See more at: http://www.onlinekhabar.com/2015/10/338492/#sthash.XVCvJtqQ.wmdx1DVz.dpuf

No comments :

Post a Comment