13 September 2015

प्रधानमन्त्रीले तराई-मधेशका सभासद्लाई के भने?

प्रधानमन्त्री सुशील कोइरालाले  एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का तराई –मधेशका निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने संविधानसभाका सभासद्हरुसँग  आइतबार बिहान छलफल गरेका छन्।
 
प्रधानमन्त्री निवासमा बालुवाटारमा भएको भेटमा कोइरालाले तराई–मधेशमा हाल देखिएका समस्याको हल गर्न सरकार गम्भीर रहेको बताए । उनले संविधान निर्माण सहित राजनीतिक समस्याको समाधानको लागि मधेशवादी पार्टी र सहित थरुहट ÷थारुवान संयुक्त संघर्ष
समितिलाई वार्ताको निमित्त आह्वान गरिएको  र वार्ताको निमित्त संविधान सभाको प्रकृया केही सुस्त गरिएको बताए।
त्यस्तै तराईका जिल्लाहरुमा विगत केही समयदेखि सञ्चालन गरिएको आन्दोलनले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले सर्वसाधरण नागरिकको दैनिक जीवनलाई कष्टकर बन्न नदिन पनि नेपाल सरकार कार्यरत रहेको बताए।
संविधान सभामा निमार्णको अन्तिम चरणमा पुगेको संविधानको मस्यौदाले नेपाली जनताले झण्डै एक शताब्दी लामो समयदेखि लोकतान्त्रिक शासन पद्धतिको स्थापना र विकासका लागि गरेको आन्दोलनले हासिल गरेका उपलब्धिहरुलाई संस्थागत गर्ने भएकोले यसलाई परिणाममा पुर्‍याउन सबैको सहयोग अपेक्षित रहेको उल्लेख  गरे।
 
उनले संविधान निर्माणमा सबै राजनीतिक पार्टीहरुले परिवर्तनका उपलब्धिहरुलाई संस्थागत गर्ने कार्यलाई प्राथमिकता दिएकोले नै संविधान निर्माणमा प्रगति हुन सकेको पनि उल्लेख गर्नुभयो । उहाँले अहिले छुटेका सानातिना कुरालाई संविधान संशोधनमा समेट समेट्न सकिने पनि बताए ।

एमाओवादी सभासद्हरुले तराईका जनजीवन सामान्य बनाउन सरकारले अधिकतम लचक हुनु पर्ने  र सामान्य नागरिक भयभीत हुने अवस्था सिर्जना नहुने अवस्था कायम गर्नुपर्ने माग गरेका थिए।
 
सो अवसरमा प्रधानमन्त्री कोइरालाले तराईको जनजीवन सामान्य बनाउन सरकारले अधिकतम् प्राथमिकता दिएको बताए । उनले  कमी कमजोरी भएको भए सच्याएर लगिने पनि बताए। 

No comments :

Post a Comment