06 September 2015

गोली हानी २० लाख लुट्ने खतरनाक अपराधी पक्राउ


एक वर्षअघि रौतहटको चन्द्रनिगाहापुरस्थित एसबीआई बैंकबाट २० लाख रुपैयाँ लुटेर फरार मकवानपुरको हाँडीखोला गाविस–४ का कौशल भन्ने सन्तकुमार थिङ पक्राउ परेका छन् । २०७१ मंसिर २ गते चन्द्रनिगाहपुरस्थित एसबीआई बैंकबाट २० लाख रुपैयाँ निकालेर आईडी बैंकले लैजान लागेको अवस्थामा हतियारधारी समूहले लुटेको थियो । चन्द्रनिगाहापुरस्थित एसबीआई बैंकबाट ईन्फास्ट्रक्चर डेभलपमेन्ट बैंक लिमिटेडका वरिष्ठ सहायक उज्ज्वल रिजालले २० लाख रुपैयाँ नगद झिकेर लैजाने क्रममा थिङले गोली प्रहार गरी लुटेका थिए । रिजालले आईडी बैंकका सुरक्षा गार्ड तेजबहादुर कार्कीलाई झोलामा नगद बोकाएर बैंकबाट निस्कन लागेको अवस्थामा उनीहरुमाथि गोली प्रहार भएको थियो । थिङलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार बसामाडीबाट पक्राउ गरेको मकवानपुरका प्रहरी प्रबक्ता डीएस्पी शिशु शर्माले जानकारी दिएका छन् । मकवानपुर प्रहरीले आवश्यक अनुसन्धानका लागि थिङलाई आइतबार ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर पठाइएको प्रवक्ता शर्माले बताए । 

No comments :

Post a Comment