06 September 2015

'ढाडे बिरालो' रोक्न उजुरी

jyoti magarदेवी देवकोटा र प्रकाश कटुवालले गाएको अनि गायिका ज्योति मगरको अभिनय रहेको यो गीतले चर्चाभन्दा बढी आलोचना खेपेको छ । आरोप छ – “नकारात्मक सन्देश र अश्लीलता फैलाएको छ ।” गीतको भिडियो परिवारसँगै बसेर हेर्न नमिल्ने धेरैको टिप्पणी छ । तीजको मौका छोपी आएको यो गीत युट्यूबमा एघार लाख ६५ हजारले हेरिसके । नेपाली मौलिक संस्कृतिको पर्व तीजमा गाइने गीतको बेग्लै विशेषता छ । तर आधुनिक समयमा यो गीत–सङ्गीतको संस्कृति विस्तारै विकृत भन्दै गएको भन्दै यसका पारखीले विकृति रोक्नुपर्ने सुझाव दिएका छन् । दर खाने र गीत गाउने संस्कृति गाउँभन्दा बढी सहरमा ह्वात्तै बढेको छ ।
‘भिनाजु पल्केर’, ‘घुमर जुलफी’, ‘कन्याइदेउ न बाई’ ‘ढाडे बिरालो’, ‘कोइका ब्वाइफ्रेन्ड कोइका पोइ’, जस्ता बजारमा आएका गीतले आलोचना पछ्याउने गरेका छन् । स्थापित हुने धोको बोकेका नयाँ गायक समयको माग भन्दै यस्ता गीत बजारमा ल्याउन ताउरमाउर गर्छन् । खासमा नारीले हर्ष र विस्मात गीतको माध्यमबाट अभिव्यक्त गर्ने तीज नेपालीको मौलिक संस्कृति हो । व्यावसायिकता र अत्याधुनिक सूचना प्रविधिको सहज प्रयोग गरेर गीत–सङ्गीतको मनोरञ्जन लिने दिने क्रमसँगै मौलिक परम्परालाई बङ्ग्याउने प्रवृत्ति मौलाएको छ र तीजका नाउँमा आउने अचेलका गीतलाई प्रीतिकर मान्नेहरु भन्दा प्रश्न उठाउने बढी देखिएका छन् । कन्यादान चलचित्रको ‘तीजको रहर आयो बरिलै’ गीत तीजको मौसममा ‘ब्रान्ड’ बनेको छ । यसको बजार र प्रचार सर्वाधिक छ । तीजका गीत सासू–बुहारी, नन्द–आमाजू, श्रीमान्–श्रीमतीको सम्बन्ध, रोचक घटना, वीरताजस्ता अनेकौँ विषयलाई केन्द्रमा राखेर गीत सिर्जना गरिन्थ्यो । सुखका श्वास र दुःखका उच्छवास गीतमा गुन्जन्थे । नारीको पर्वमा पुरुष गायकको प्रवेशसँगै रत्यौली भित्रिएको र अश्लीलताको खेती बढेको आरोपलाई अस्वीकार गर्न नसकिने भनाइ यस क्षेत्रमा क्रियाशील व्यक्तिहरुको छ । तीजका ३३ वटा गीति सङ्ग्रह प्रकाशन गरेकी वरिष्ठ लोक गायिका हरिदेवी कोइराला तीजमा आएका पछिल्ला गीत नाम मात्रका भएको बताउछिन । उनका भनाइमा ती न त गीत हुन् न त तीजि गीतका मर्म र संस्कृति नै छन् । पुरुषले तीज गीत गाएकामा असहमति जनाउँदै गायिका कोइराला गीतको भिडियो परिवारमा बसेर हेर्नै नसकिने खालका भएको बताउछिन । ‘गीतमा घटनाप्रधान र महिला सशक्तीकरणका आवाज छैनन्, यसले परम्परा जोगाउने हो कि मार्ने सोच्नुपर्छ, विकृतिजन्य गीत रोक्न सञ्चारमाध्यम र युट्यूबमा रोक लगाउनुपर्छ ।’ अचेल प्रेम–पिरतीका विषयमा मात्र हैन मोबाइल संस्कृति, वैदेशिक रोजगारी, राजनीतिक अस्थिरता, सामाजिक विकृति र शिवजीको नाममा छाडा गीत आएका छन् । पुरुषले गाएका सन्देशमूलक तीज गीतलाई भने उनी जायज मान्छिन । उनले ‘सानु हो’, ‘भैँचालो’, ‘गैह्री धरर’ र ‘देउरानी जेठानी’ नामक गीति सङ्ग्रह प्रकाशन गरेकी छिन । वरिष्ठ लोक गायक पुरुषोत्तम न्यौपाने तीजका गीतमा नयाँ प्रयोग भइरहेको स्वीकार गर्दै नयाँ प्रयोग गर्दा संस्कृति बिग्रन्छ कि बिग्रँदैन भन्ने ख्याल गर्न आग्रह गर्छन । महादेव पति पाउँ भनी तीज सुरु भएकाले त्यही संस्कृतिको मौलिकपनालाई नखलबल्याई अघि बढ्ने तर संस्कृति विकृत भए सरकारी निकायले नै रोक लगाउनुपर्ने उनको विचार छ । गायक पशुपति शर्माले गाएका धेरैजसो गीत राम्रा छन् तर सोह्रै आना भने ठीक नभएको गायक न्यौपानेको टिप्पणी छ । यसैबीच, मन्त्रिपरिषद् कार्यालयको हेलो सरकारमा ढाडे बिरालोबारे धेरै गुनासो आएको छ । त्यसमा सेन्सर गराउन म्युजिक नेपालको निवेदन परेको छ । श्रव्य दृश्य चक्का बिक्न छाडेपछि नाम र दाम कमाउने लालसाले नयाँ पुराना गायक गायिकामा समाजले नपचाउने शब्द राखेर गीत निकाल्ने प्रवृत्ति मौलाएको बताउँछन रङ्गपत्रकार एवम् शब्द सङ्कलक सूर्यकुमार क्षेत्री । चलचित्र, विज्ञापन र वृत्तचित्र सेन्सर हुन्छ । तर गीत–सङ्गीतको सेन्सर हुँदैन । केन्द्रीय चलचित्र जाँच समितिले अन्य विषयको सूक्ष्म अध्ययन गर्ने भए पनि ‘गीत’ विषयमा कुनै पनि प्रष्ट व्यवस्था गरेको छैन । समितिले म्युजिक भिडियो निर्देशक तथा निर्मातालाई बोलाएर सेन्सर गराउने प्रक्रिया अगाडि बढाउन सक्छ भन्ने कुरा बेलाबखत उठाइए पनि कार्यान्वयनमा आउन सकेको छैन । रासस

No comments :

Post a Comment