27 May 2015

हलिउड प्रवेश गर्दै नेपाली युवा

aditiya
संसारकै सवैभन्दा ठूलो फिल्म उद्योग हलिउडमा प्रवेश गर्ने सवैको सपना हुन्छ । तर, यस्तो कठिन सपना पुरा गर्न त्यति सजिलो भने छैन् । त्यसमाथि नेपालजस्तो मुलुकबाट हलिउडमा काम पाउनु चानचुने बिषय पक्कै हैन् ।

तर, एक जना नेपाली युवा भने यतिबेला हलिउडमा आफ्नो करियर चम्काउने तयारीमा छन् । केही साना र छोटा फिल्ममा अभिनय गरिसकेका उनी यतिबेला फिचर फिल्ममा समेत अभिनय गर्दैछन् ।
विराटनगरमा जन्मिएका आदित्य लोहियाले एक दशकअघि निधो गरे अभिनयको क्षेत्रमा उत्कृष्ट काम गरेर देखाउने । र, अहिले उनको अभिनय यात्राले उनलाई हलिउड सम्म पूराएको छ र उनले अहिले हलिउडमा स्थापित हुने आफ्नो सपना पूरा गर्नका लागि अन्तिम तथा सबैभन्दा ठूलो चुनौतिको सामना गरिरहेका छन् ।
फिलिपिन्समा केही छोटा फिल्महरुमा काम गर्ने अवसर पाएपछि अभिनयप्रतिको उनको चाहना उत्कट बनेको थियो । फिल्म रिलिज भएसँगै उनले आफ्नो अभिनयको सबै तर्फबाट तारिफ भएको पाए । त्यसपछि उनले अभिनयलाई नै आफ्नो करिअर बनाउने निधो गरे ।

ब्यापारिक घरानाका लोहियालाई बाबु बाजेले गरेको बिजनेसमै जाने वा नयाँ करियर थाल्ने भन्ने छनौट थियो । तर, उनले नितान्त नयाँ अभियन क्षेत्रलाई आफ्नो करियर बनाउने निधो गरे ।
अहिले उनी हलिउड सहरमा बस्छन् र हलिउड फिल्म उद्योगमा प्रवेश गरिसकेका छन् । उनले अनवरत रुपमा स-साना फिल्म खेलिरहेका छन् र आफ्नो अभिनयबाट राम्रो तारिफ पनि बटुलिरहेका छन् ।
सन् २०१६ बाट सुटिङ सुरु हुने एक नयाँ फिचर फिल्ममा मुख्य भूमिकामा अभिनय गर्ने विषयमा उनको कुरा चलिरहेको छ । यदि त्यसमा सफल भएमा मूलधारको हलिउड फिल्ममा मुख्य भूमिकामा नेपाली युवाको प्रवेश हुनेछ । भ्याम्पायरको विषयमा बन्ने उक्त फिल्मको नाम भने जुरिसकेको छैन ।
त्यसका साथै उनले टेलिभिजन धारावाहिकमा पनि मुख्य पात्रको रुपमा अभिनय गर्ने तयारीमा छन् । उनले अभिनय गरेको फिल्म गि्रडको सुटिङ सकिसकेको छ भने एउटा छोटो आवाजवीहिन फिल्म यहीँ महिनामा रिलिज हुने तयारीमा रहेको छ ।
आदित्यले न्युयोर्कमा रहेको विश्वप्रसिद्ध फिल्म प्रशिक्षण संस्था स्टेला एड्लर स्टुडियोमा ५ वर्षसम्म तालिम लिएका छन् । उक्त स्टुडियोले मार्लोन ब्राण्डो, रोबर्ट डी निरो जस्ता चर्चित नायकहरु उत्पादन गरिसकेको छ ।
हलिउडमा प्रवेश पाउन तथा स्थापित हुने निकै मेहेनतको आवश्यकता पर्ने भन्दै आदित्यले एउटा सानो भूमिकामा अभिनय गर्नका लागि अडिसन दिन सयौँ तथा हजारौँ आकांक्षीहरु आउने बताए ।
आफु आगामी फिल्मको मुख्य भूमिकामा अभिनय गर्नका लागि अडिसन मार्फत छनोट भैसकेको उनले जानकारी गराएका छन् ।
एकजना नेपाली युवा हलिउड फिल्म उद्योगमा स्थापित हुँदै जानु नेपालका लागि पनि खुसीको कुरा हो । उनको सफलतासँग नेपालको प्रतिष्ठा जोडिने र उनले हलिउडमा सिंगो नेपाललाई प्रतिनिधित्व गर्नेछन् ।

No comments :

Post a Comment