12 May 2015

पार्क भ्यु होराइजनले राहत देओस् : पीडित

भूकम्पले चिरा परेको धापासी-८ स्थित पार्क भ्यु होराइजन अपार्टमेन्ट। तस्बिर: मदन चौधरी
१२ मे २०१५, काठमाडौं-धापासीस्थित १७ तले पार्क भ्यु होराइजन अपार्टमेन्टमा बसोबास गरिरहेकाले यसको सञ्चालक वरुण डेभलपर्स प्रालिले आफूहरूका लागि उचित व्यवस्थापन गरिदिनुपर्ने माग गरेका छन्। विनाशकारी भूकम्पपछि अपार्टमेन्ट सञ्चालक वरुण डेभलपर्सका अधिकारीहरूले बेवास्ता गरेको भन्दै पीडितले प्रधानमन्त्रीदेखि सम्बद्ध सबै निकाय गुहारेका छन्।
पार्क भ्यु होराइजन मुलुककै महँगा अपार्टमेन्टमध्ये एक हो। यसमा सबैभन्दा सस्तो अपार्टमेन्ट १ करोड ३५ लाख तथा महँगोमा ३ करोड रुपैयाँसम्मका छन्। यसमा १ सयभन्दा बढी परिवार बसोबास गरिरहेका थिए। १७ तलाका पाँचवटा भवन रहेका यसमा २ सय १३ अपार्टमेन्ट छन्। तीमध्ये ७० वटा बिक्री हुन बाँकी छ। यसका
सञ्चालक भारतीय नागरिक रवि जयपुरिया हुन्। जयपुरियाले सबै अपार्टमेन्टको व्यवस्थापन जिम्मेवारी पूर्वप्रहरी महानिरीक्षक रमेशचन्द्र ठकुरीलाई दिएका थिए।
त्यहाँ बसोबास गर्नेहरूको समूहका अध्यक्ष दानबहादुर बुढाथोकीले २०६४ सालमा वरुण डेभलपर्सले ११ तलाको अनुमति लिएर १ सय ६८ अपार्टमेन्ट बनाएको र त्यसपछि पुनः ६ तला थपेर १७ पुर्याबएको जानकारी दिए। ‘एघार तलाको जगमा सत्र तला कसरी बनाउन मिल्छ?,' उनले सोमबार नागरिकसँग भने, ‘अनुमति दिनेले कसरी दिए? सत्यतथ्य छानबिन होस् र हामीले उचित क्षतिपूर्ति पाउनुपर्छ। अहिले ठकुुरी पनि जिम्मेवारीबाट पन्छिएका छन्।'

सबै भवनको बिमा गर्ने जिम्मेवारी वरुणकै भए पनि बिक्री हुन बाँकी ७० अपार्टमेन्टको बिमा गरिएको र बसोबार गरिरहेको कुनै पनि अपार्टमेन्टको बिमा नगरिएको जानकारी पाइएको उनले बताए। ‘सबैभन्दा महँगो अपार्टमेन्ट भए पनि सबैभन्दा बढी क्षति यसैमा भएको छ,' उनले भने, ‘भूकम्प प्रतिरोधात्मक तरिकाले भवन निर्माण नगरेको स्पष्ट भएको छ।'
वरुणले अपार्टमेन्टभित्रबाट आफूहरूको सामान झिक्ने व्यवस्था गर्नुपर्ने, बाहिर निस्केकालाई दैनिक खानपान र बसोबासको व्यवस्था गर्नुपर्ने, मृतक र घाइेतलाई उचित क्षतिपूर्ति दिनुपर्ने बुढाथोकीले बताए। 

पार्क भ्यु होराइजनको १४ तलाको अपार्टमेन्टका धनी शशी शर्माले सबैको भित्ता झुन्डिएको र कुनै पनि सद्धे नरहेको बताए। अपार्टमेन्टमा गम्भीर क्षति पुगेपछि वरुण डेभलपर्सका अधिकारीलाई वार्तामा बोलाए पनि उनीहरू भागेर हिँडिरेहेको उनले गुनासो गरे। 
यही अपार्टमेन्ट छेउका स्थानीयबासिन्दाले पनि धरापमा रहेको १७ तले पार्क भ्यु होराइजनका कारण आफूहरू बसाइ असुरक्षित भएको र समस्या समाधान गराइदिन भन्दै सम्बद्ध निकायमा निवेदन दिएका छन्।
- See more at: http://nagariknews.com/economy/main-story/story/37906.html#sthash.078wqP05.dpuf

No comments :

Post a Comment