27 February 2015

एसिड आक्रमणको शिकार भएकी हेमु श्रेष्ठको बयान

 १५ फागुन २०७१, काठमाडौं  –एक साता अघि राजधानीको बसन्तपुरमा रेहेको ‘ए प्लस’ ट्युसन सेन्टरमा भएको एसिड आक्रमणमा घाईते भएका तिन किशोरी मध्येकी एक हेमु श्रेष्ठ उपचार पछि घर फर्किसकेकी छिन् । एसिड आक्रमणबाट गम्भिर घाईते भएकी संगीता पुलामी र सीमा बस्नेतमाथि एसिड आक्रमण हुँदा सँगै रहेकी हेमुको मुहारमा पनि एसिडको छिटा परेको थियो । एसिड आक्रमण भएको पाँच दिनपछि हेमुले यसरी सम्झिइन् त्यस दिनको घटना:

आजभन्दा पाँच दिनअघि अर्थात फागुन १० गते यस धर्तीमा उज्यालो खस्न नपाउँदै हामी ‘ए प्लस’ ट्युशन सेन्टर पुगेका थियौं । करिब ६ बजेतिर म पुग्दा संगीता पुलामी भन्ने साथी आईसकेकी थिइन् । म पुगेको केही बेरमा सीमा आइपुगिन् ।
हामीमाथि एसिड प्रहार भएको घट्ना आइतबारको हो । म करिब दुई साता देखि त्यस ट्युसन सेन्टरमा पढ्न थालेको थिएँ । अर्की साथी संगीता भने एक बर्ष देखि त्यहिँ पढ्दै आएकी थिइन् । म शुक्रवार पढ्न गएको थिइन्,शनिवार बिदा थियो, आइतवार जाँदा त्यस्तो घटना भोग्नु प¥यो ।
हाम्रो ग्रुपमा विज्ञानको ट्युसन पढ्ने छ जना साथी थिए तर हामी तीन जना भने गणित पनि पढ्थ्यौं । त्यस दिन विज्ञान पढ्ने साथीहरु कोही आएका थिएनन्, हामी गणित पढ्ने तीन जना मात्रै जम्मा भयौं । हामीलाई गणित पढाउने नविन सरले सीमासँग नआउने कुरा गर्नु भएको रहेछ,तर म अघिल्लो दिन नगएकाले थाहै भएन् । ‘मलाई यो थाहा छैन कि अरु ६ जना साथी किन आएनन्,शायद विज्ञान पढाउने सरले पनि नआउने कुरा गर्नुभएको थियो कि, थाहा छैन । शुक्रवार नआएकोले नवीन सरले मलाई नआउनु भनेर खवर गर्नुभएको थिएन् अरु साथीले पनि भनेनन् । कताबाट कसरी भन्नु सम्भवै भएन ।
ट्युसन सेन्टरमा हामी तीनमध्ये सबैभन्दा नयाँ सीमा थिइन्, किनकी उनी त्यहाँ पढ्न थालेको करिब एक साता मात्र भएको थियो । हामी तीन जनाको भेट संयोग मात्र थियो ‘मिल्ने साथी वा ब्वाईफ्रेन्ड बनाएका सहपाठीको कारण त्यसदिन हाम्रो भेट भएको पटक्कै हैन ।’
ट्युशन सेन्टरमा म पुग्नासाथ संगीताले मलाई भनिन् ‘अकाउन्टको जर्नल भौचर मिलाउनै सकिँन,तिमीलाई आउँछ भने सिकाइदेउ न ।’ अनि हामी दुई बैनी मिलेर जर्नल भौचर ट्राई गर्दै थियौं,त्यतिकैमा सीमा आइपुगिन् । त्यसपछि हामी तिनैजना मिलेर जर्नल भौचरको हिसाब गरिरहेको थियौं । हामी हिसाब गरिरहँदा उनीहरु ढोका नजिकै सेकेण्ड बेन्चमा थिए, अनि म चाँहि ब्ल्याक बोर्ड नजिकै थिएँ ।
त्यतिकैमा एक्कासी आएर एउटा मान्छेले ढोका खोलेर सिसिको बोतल फ्याँक्यो । त्यो सिसिको बोतल फ्याँक्नासाथ संगीताको र सीमाको मुखभरि पर्यो, मलाई छिर्काले भेट्यो केही दिनको उपचारपछि निको भयो तर दाग अझै मेटिएको छैन । सिसीको तरल पदार्थ हाम्रो मुखमा पर्नासाथ पोल्न थाल्यो । अनि हामीलाई थाहा भयो कि यो त एसिड पो रहेछ । हामीले एसिडको बारे विज्ञानमा पढेका थियौं ।
एसिड मुखमा पर्नासाथ उनीहरु दुवै जना चिच्याएर मुख छोप्दै भागें, अनि म पनि उनीहरुसँगै भागें । ट्युशन सेन्टरको अलिपर एउटा टेलर्समा गयौं, संगीता र सीमा दुवै जना चिच्याइरहेका थिए । उनीहरु आफैंले पानी हाल्दिनु, पानी चाहियो, हस्पिटल लानु भन्दै चिच्याइरहेका थिए । केहीवेरमा सीमालाई उनका आफन्त आएर लिएर गए । म र संगीता उनको घरमा गयौं । घर पुगेपछि संगीतालाई उपचारका लागि वीर अस्पताल लैजाने कुरा भयो, अनि म पनि संगीता सँगै वीर अस्पताल गएँ । हामीमाीथ एसिड हान्ने दुष्ट आजसम्म पक्राउ परेको छैन,त्यो अपराधीलाई छिटो भन्दा छिटो समातेर कडा कारवाहीका लागी सरकारलाई अनुरोध गर्दछु ।
(सुजन पन्तसँगको कुराकानीमा आधारित) source:ratopati

No comments :

Post a Comment