18 November 2014

रथयात्राका लागि कमल थापाले पठाए पाँचै क्षेत्रमा टोली

२ मंसिर २०७१, काठमाण्डौ-  आगामी पुस ९ गतेदेखि राप्रपा नेपालले सुरू गर्न लागेको मेची–महाकाली–पशुपतिनाथ हिन्दुराष्ट्र संकल्प रथयात्राको प्रारम्भिक विवरण संकलन तथा व्यापक जनपरिचालन गर्नका लागि सो पार्टीका अध्यक्ष कमल थापाले पाँच वटै विकास क्षेत्रमा उच्च स्तरीय प्रतिनिधिमण्डल खटाएका छन्।
 
हाल मध्य र सुदूरपश्चिम भ्रमणका क्रममा नेपालगञ्ज आईपुगेका अध्यक्ष थापाले टेलिफोनबाटै टोली खटाएका हुन्। यसरी खटाईएकोमा तराई मधेश क्षेत्रमा उपाध्यक्ष राजीव पराजुली, केन्द्रीय सदस्य राजेन्द्र लिङ्गदेन पूर्वाञ्चल, उपाध्यक्ष निरञ्जन थापा पश्चिमाञ्चल, उपत्यकामा उपाध्यक्ष टंक ढकाल, मध्यपश्चिममा उपाध्यक्ष डा.धवलशम्शेर राणा र सुदुरपश्चिममा केन्द्रीय सदस्य चन्द्रबहादुर गुरुङ्ग रमेश रहेका छन्। 
 
अध्यक्षको निर्देशनात्मक टेलिफोन सम्बाद पछि वीरगंजमा रहेका उपाध्यक्ष राजीव पराजुली बारा, पर्सा, रौतहट, सर्लाही, जनकपुर र विराटनगर भ्रमणमा निस्किसकेका छन्। राप्रपा नेपालले यसपटक व्यापक जनपरिचालन गर्ने निर्णय पनि गरेको छ। यद्यपी रथयात्रा राजमार्गमा मात्र चल्ने भएपनि सम्बन्धित जिल्ला र आसपासका क्षेत्रमा व्यापक प्रचार प्रसार, अन्तरक्रिया र जनपरिचालन गर्ने निर्णय पनि राप्रपा नेपालले गरेको छ।
 
यसैवीच नेपाललाई सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र कायम गर्ने संकल्प रथयात्रा गर्ने निर्णय गरेको राप्रपा नेपालको केन्द्रीय पदाधिकारी, कार्य सम्पादन समिति, संसदीय दल र रथायात्राको तयारीका लागि गठन भएको विभिन्न उपसमितिहरुको संयुक्त बैठक भोली मंसीर ३ गते ३ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ। तयारीका लागि समय अपुग हुने र छिट्टै बैठक बस्नु पर्ने अध्यक्ष थापाको निर्देशन पछि बैठक आब्हान गरिएको हो। बाहिरी जिल्लाको भ्रमणमा रहेका अध्यक्ष थापा भोली नै काठमाण्डौ आईपुग्ने र सिधै बैठकका लागि सिंहदरबार पुग्ने कार्यक्रम तय भएको छ। 

No comments :

Post a Comment