30 November 2014

‘बनझाँक्रीले लगेपछि’ नाङ्गो भयो जिन्दगी

१४ मंसिर २०७१, काठमाण्डै‍ा- समय र युगले कहाँबाट कहाँ चमत्कारिक छलाङ मारिसक्यो । चेतनाको विकास सँगसँगै आज एक्काइसौँ शताब्दीमा दौडिरहेको विज्ञान प्रविधिको युगले दुनियाँलाई एकै ठाउँबाट नियाल्ने अनि बुझ्ने बनाइदिएको छ । तैपनि सबै मान्छेको लागि यो कुरा कहाँ लागु हुन्छ र ? देख्दा र सुन्दा पनि अचम्म लाग्नसक्छ । आज पनि मान्छे त्यही युगमा बाँचिरहेका छन्, ढुङ्गे युगभन्दा पनि पहिले कुन युग थियो कुन्नी त्यतिबेला ? नाङ्गै जिन्दगी जिउने । ढुङ्गे युगमा त बरु शरीर नढाकेतापनि कमसेकम रुखका बोक्रा वा वनस्पतिले लाज भनेपनि छोप्थे । तर, नुवाकोटको
शिखरवेशी–७ निंगालेका उनै नाङ्गा मान्छे अर्थात् क्याल्दो लामा कहिल्यै लुगा लगाउँदैनन् । आजसम्म पनि निवस्त्रै छन्, नुहाउँदैनन् र बोल्दैनन् पनि ।
६ वर्षको उमेरदेखि नै नाङ्गै रहेका उनको शरीरमा धुलो र मयलको निकै बाक्लो लेप लागेको छ । पीँढीको धूलो हातैले सोरेर फाल्ने, दाउरा, बाख्रा र पानीसँग खेल्ने उनको दिनचर्या हो । सबैभन्दा धेरै समय पानीमा खेलेर नै विताउने उनले कहिल्यै नुहाएका भने छैनन् । उनी घर छोडेर टाढा पनि जाँदैनन् । बोल्न सक्दैनन् र केही काम पनि गर्दैनन् ।
वि सं. २०२० सालमा दुर्गम गाउँको निम्न वर्गीय परिवारमा जन्मिएका क्याल्दोलाई हुर्काउन उनका बुबा सीर र आमा मरमेन्दो लामालाई निकै गारो परेको थियो । कलिलै उमेरमा जन्माएको जेठो सन्तान भएकाले पनि उनीहरुलाई छोरो हुर्काउन निकै गारो परेको हो । लेकका खर्क र पहाडका बारी चहार्दा पिठ्यूँमा छोरो सुताएको कोक्रोे बोकेर तीन÷चार दिनको बाटो हिँड्नुपर्ने समस्याले उनीहरुलाई निकै समस्या परेको थियो । बल्लतल्ल हुर्काएको छोरोले लुगा लाउनै नमान्ने भएपछि उनीहरुले जानेसुनेका जति सबै धामी झँक्रि लगाएर उपचार गराए । आफ्नो कुलले मानेका सबै देवदेवी, तिर्थ ब्रत केही बाँकी राखेनन् । तर निको भएन ।

धेरै जना झाँक्रीले वनझाँक्री लागेको भने । तर निको पार्न कसैको बुता चलेन । उनीहरुले अहिलेसम्म उपचारका लागि अस्पताल भने पु¥याएका छैनन् । त्यसो त उनीहरुसँग लामो समय अस्पतालमा राखेर उपचार गर्न खर्च जुटाउने हैसियत पनि छैन । उनको हालत यस्तो भएपछि परिवारले उनको नागरिकताको प्रमाणपत्र समेत बनाइदिन सकेका छैनन् । यही कारण जन्मजात अपाङ्ग उनी अपाङ्ग भत्ता पाउनबाट समेत बञ्चित हुनु परेको छ ।




क्याल्देकी आमा मरमेन्दो भन्छिन्,‘भोक पनि लाग्छ की लाग्दैन थाहै हुँदैन । अलिकति दिए पनि त्यती नै खाएर उठ्छ, तीनजनाले खाने भाग सबै दिए पनि खाइसक्छ ।’ सानो उमेरमा रोपाइँ हेर्न गएको बेला खेतालाले लाटो भनेर जिस्काउँदै हिलो छ्यापेपछि उनले लगाएको लुगा फुकालेर फालेका थिए । त्यसपछि जति लुगा लगाइदिएपनि च्यात्ने, फुकालेर फाल्ने गरेको उनका बुबा सीरले बताए । स्थानीय शिक्षक कर्म तामाङ भन्छन्,‘उनलाई मानसिक रोग लागेको हुन सक्छ ।’ मानसिक अस्पताल लैजान क्याल्दोको परिवारलाई सुझाब दिएको उनले बताए । तर क्याल्दोलाई अस्पताल लगेर ठूलो खर्च गर्न उनको परिवारले आँट गर्न सकेको छैन । ‘उमेर छउञ्जेल उपचार गर्न सकिएन, अब खर्च गरेर के काम ?’ बुबा सीरले भने ।
त्रिवि शिक्षण अस्पताल, मानसिक रोग विभागका सह–प्राध्यापक डा.सरोज ओझा भन्नुहुन्छ–‘उनलाई कडा खालको मानसिक रोग लागेको हुनसक्छ, एक महिना जति नियमित उपचार गर्ने हो भने रोगीको अवस्थामा परिवर्तन हुन सक्छ ।’ लामो समयसम्म नाङ्गै बस्ने रोग अन्यत्र नदेखिएको भएपनि मानसिक रोगीहरुमा जस्तो सुकै लक्षण देखिन सक्ने भएकाले नौलो मान्न आवस्यक नभएको उनले बताए । डा. ओझाले आर्थिक अवस्था कमजोर भएको कारण मानसिक अस्पताल पाटन लगेर सहुलियतमा उपचार गर्न सकिने सुझाब दिए ।

No comments :

Post a Comment