27 November 2015

इटहरी छिर्ने आँट गरेनन मदेशी नेताले, लिम्बुवानले कर्यक्रम गर्दै

itahari1
विरोध गर्नेहरुलाई प्रहरीले कार्यक्रमस्थलतर्फ जान दिएको छैन ।
२७ नोभेम्बर २०१५, इटहरी- सुनसरीको इटहरीमा स्थानीयको विरोध प्रदर्शनले गर्दा मधेश केन्द्रित दलका नेताहरु पूर्वनिर्धारित कार्यक्रम अनुसार त्यहाँ पुग्न सकेका छैनन् ।

आज ११ मंसीरमा मधेशी मोर्चा, संघीय लिम्बुवान पार्टी लगायतका दलहरुको संघीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा स्थानीयले चर्काे विरोध गर्दा मधेश केन्द्रित दलका नेताहरु त्यहाँ पुग्न सकेका छैनन् ।
नेताहरु नआएपछि लिम्बुवानका कार्यकर्ताको सानो समूहले प्रहरीको सुरक्षा घेराभित्र कार्यक्रम शुरु गरेको छ ।

नेकपा एमाले, एमाओवादी, राप्रपा नेपाल लगायतका विद्यार्थी संगठनले देशमाथि नाकाबन्दी गर्ने र सुनसरीकै ४ जनालाई एसएसबीले गोली हान्दा समेत भारतकै समर्थन गर्ने नेताहरुलाई सम्बोधन गर्न नदिने भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले संघीय गठबन्धनले तयार पारेको मञ्च विहानै जलाईदिएका थिए भने अहिले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । सभामा सहभागी हुन अन्य ठाउँबाट बसमा आउँदै गरेका संघीय समाजवादी फोरमका कार्यकर्ताहरुलाई स्थानीयले बाटोमै रोकेका छन् भने बसमा झुण्ड्याइएको ब्यानर र झण्डा खोसेर जलाएका छन् ।
itahari
कार्यक्रम स्थल
अहिले इटहरीमा ठूलो संख्यामा खटिएका सुरक्षाकर्मीले विरोध गरिरहेकाहरुलाई मञ्च भएको स्थानमा जान दिएका छैनन् । मधेश केन्द्रित दलका नेताहरु कार्यक्रमस्थलमा जान नसकेपछि सानो संख्यामा उपस्थित लिम्बुवानका कार्यकर्ताहरुले प्रहरीको सुरक्षा घेराभित्र कार्यक्रम शुरु गरेका छन् ।
आज इटहरीमा उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरुले आमसभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादव विराटनगरमा र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सप्तरीमै छन् । महतोले इटहरी आउने कार्यक्रम स्थगित गरेको बुझिएको छ ।

No comments :

Post a Comment