18 January 2016

लाखौ ठगेर एफएमका संचालक नै फरार भएपछी

Image result for running away१८ जनावरी २०१६, सुरुङ्गा (झापा)—झापा, इलाम र पाँचथरका २०औँ युवाबाट लाखौँ रुपैयाँ ठगी गरेर झापाका एक सञ्चार उद्यमी फरार भएका छन्।झापा शनिअर्जुन– ४ निवासी चन्द्रप्रसाद ढुङ्गेल गत २०७२ जेठदेखि फरार छन्। उनले शुभलारी मिडिया प्रालिको नाममा दुवागढी–४ चारआलीमा ग्लोवल एफएम ९५.४ मेगाहर्ज सञ्चालन गरी रोजगारी दिने बहानामा २०औँ युवालाई ठगेको पीडितले बताएका छन्।


जागिर दिने सर्तनामा गराएर रु २० हजारदेखि रु एक लाखसम्म सात जनाबाट ठगी गरेको पीडित मनिषा बुढाथोकीले बताए। ढुङ्गेलले एफएम सञ्चालन गर्न सुरु गरेदेखि नै विभिन्न व्यक्तिबाट रकम उठाउन सुरु गरेको र लाखौँ रुपैयाँ झापासहित इलाम, पाँचथरका झन्डै ५० जनालाई ठगी गरेको बुढाथोकीले बताए। उनले इलाम र पाँचथरबाट एफएममा काम गर्न आएकाहरुलाई जनही रु एक लाख धरौटी राख्न लगाएर उक्त रकम नदिई फरार भएको बताइएको छ।

आफ्नो रेडियोको नाम भजाएर उनले दमक क्षेत्रबाट मात्रै रु तीन चार लाख ठगी गरेको दमकका एक सञ्चारकर्मीले बताए। मेची नगरका प्रतीक न्यौपाने र युवराज आचार्यसँग जनही रु एक-एक लाख ठगेको पीडितले बताएका छन्।

त्यसैगरी लीला खरेल,कल्पना खेवा,सन्ध्या श्रेष्ठ, सावित्रा सुवेदीसँग जनही रु २०÷२० हजार ठगेको पीडित लीलाले बताए। यसअघि नै पीडितले कारबाहीका लागि प्रहरीमा उजुर गरे पनि उनी फेला परेका छैनन्। कहिले काठमाडौं कहिले इटहरी, कहिले दमक, कहिले शनिअर्जुन क्षेत्रमा लुकीछिपी बस्दै गरेका उनी अहिले कहाँ छन् पत्तो नभएको पीडित खेवाले उल्लेख गरे।

एफएम सञ्चालन गरेको घरको भाडा नतिरेपछि अहिले एफएम कार्यालयमा घरमूलीले तालाबन्दी गरिदिएका छन्।

उक्त घरको भाडाबापतको मोटो रकमसमेत उनले भुक्तानी नगरेको बुझिएको छ। बहाना बनाउन र मान्छेलाई बसमा पारेर ठगी गर्न ढुङ्गेल खप्पिस रहेको पीडितको भनाइ छ। जिल्ला प्रशासनमा उजुरी गरेपछि उनी पक्राउ पर्ने र आफ्नो ठगिएको रकम असुली हुने विश्वास आफूहरुले लिएको एक पीडितले बताए।

यसैबीच श्रम कार्यालय मेचीका प्रमुख दयानन्द नेपालले किटानीसहितको निवेदन दर्ता भएपछि ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गर्ने र कानुनी प्रक्रिया सुरु हुने बताए। किटानीसहितको रकम ठगी गर्ने व्यक्तिबाट असुलउपर गरिने व्यवस्था भएको उनले जनाए। रासस

No comments :

Post a Comment