13 December 2015

नेपालमा नाकाबन्दी गरेर भारतले बनायो दशगजामा बाँध

१३ डिसेम्बर २०१५, पुनर्बास (कञ्चनपुर) : भारतीय वन विभागले दक्षिण भेगको परासनस्थित बीचफाँटामा दशगजा मिचेर बाँध बनाएको पुष्टि भएको छ । 
 
शनिबार अबेर बाँध निर्माणस्थल पुगेको प्रजिअ मनोहरप्रसाद अर्यालसहितको सरकारी टोलीले दशगजा मिचेर भारतीय पक्षले मनोमानी रुपमा बाँध निर्माण थालेको जनाएको छ । 
 
नेपाली प्रशासनसँग सहमति नलिई भारतीय दुधवा निकुञ्जको सुरक्षार्थ खटिएको लखिकपुर जिल्लास्थित क्यामा वन चौकीका कर्मचारीले दुई मि दशगजा मिचेर बाँध बनाएका हुन् ।  
पुनर्बास नगरपालिका-१ बीचफाँटामा पर्ने नेपाल–भारत सीमास्तम्भ १९१ देखि १९४ सम्मको तीन किमी लम्बाइमा भारतीय वन विभागले मनोमानी रुपले दशगजा मिचेको हो । भारतीय पक्षले दशगजा मिचेर करिब १.६७ मि उचाइको तीन किमी लामो बाँध बनाएको प्रजिअ अर्यालले बताए । 
 
नेपाली पक्षसँग सहमति र जानकारी नदिई भारतीय वनकर्मीले बनाएको बाँधका विषयमा आफूले मन्त्रालयमा जानकारी गराउने र भारतीय अधिकारीसँग हुने बैठकमा कुरा गरी सच्याउन पहल थाल्ने उनले जानकारी दिए ।  
भारतीय पक्षले सो क्षेत्रमा यस अघिदेखि नै बेला बेलामा दशगजा मिच्ने काम गरिरहेको स्थानीय बासिन्दाले अनुगमन टोलीसमक्ष बताएका छन् । भारतले यस क्षेत्रमा सीमा मिचिरहे पनि नेपाली पक्षले चासो नदिएपछि सीमा अतिक्रमण बढिरहेको सीमा बचाऊ समितिका दीनबन्धु अर्यालले बताए । 
 
टोलीमा जिल्ला वन कार्यालयका अधिकृत शिवप्रसाद शर्मा, प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पनेरु सहभागी हुनुहुन्थ्यो । रासस 

No comments :

Post a Comment