शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मुलुकको परिस्थितिअनुरुप शैक्षिक पद्धति बदल्नुपर्ने र अब एफएम रेडियो, टिभी तथा मोबाइलबाट कक्षा दिइने बताएका छन्।
सामान्य अवस्थामा २२० दिन विद्यालय खुल्नैपर्ने र १९० दिन पढाउनैपर्ने नियम रहे पनि अहिलेको अवस्था असामान्य भएकाले परिस्थितिअनुसार परिवर्तन गर्नुपरेको मन्त्री पोखरेलले स्पष्ट पारे।
‘नेपाली शिक्षा अन्तर्राष्ट्रिय शिक्षाको समकक्षी नहुनु, सार्वजनिक शिक्षाको स्तर खस्कनुजस्ता समस्या रहेको छ’ उनले भने,“शिक्षामा नयाँ नीतिको आवश्यकता छ, मैले पद बहालीलगत्तै प्रस्तुत गरेको अवधारणापत्रलाई ४५ दिनभित्र कार्ययोजनामा लैजाने छु ।”
मन्त्रालयका सहसचिव डा लवदेव अवस्थीले पाँच वर्षभित्र भूकम्पले क्षति पुगेका विद्यालयको पुनःनिर्माण गर्न दातासँग सम्झौता भएको जानकारी दिए ।
शिक्षाकर्मी धनञ्जय अधिकारीले बालविकास केन्द्र (इसिडी) लाई विद्यालय संरचनाभित्र ल्याउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा एक्सन एडका देशीय निर्देशक विमलकुमार फुयाँल, दिदीबहिनी संस्थाका अध्यक्ष सलोनी सिंह र एनसिइका अध्यक्ष राजकुमार गन्धर्वले सार्वजनिक शिक्षाको विकास नभएका मुलुकले प्रगति गर्न नसकेको उदाहरण दिए।
सम्मेलनमा सार्वजनिक शिक्षाका विषयमा विभिन्न विज्ञले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि टिप्पणी गरी सोमबार घोषणापत्र जारी गर्ने कार्यक्रम छ । रासस
No comments :
Post a Comment