27 November 2015

रिङ्गरोड भरियो मान्छेहरुले

२७ नोभेम्बर २०१५, काठमाण्डौ- भारतीय नाकाबन्दीको विरोधमा विद्यार्थीहरुले काठमाडौंमा विशाल प्रदर्शन गरेका छन्। निजी तथा आवासीय विद्यालयहरुको संगठन प्याब्सन र एन प्याब्सन, उच्च माध्यमिक विद्यालय संघ (हिसान) लगायतका शैक्षिक संगठनहरुको आव्हानमा विद्यार्थीहरुले शुक्रबार काठमाडौंमा विशाल प्रदर्शन गरेका हुन्।
हजारौं विद्यार्थीले काठमाडौको चक्रपथको २७ किलोमिटर सडकमा साङ्लो बनाएर प्रदर्शन गरेका छन्। शैक्षिक संगठनहरुले नाकाबन्दीका कारण पठनपाठन संचालन गर्न गाह्रो भएकाले नाकाबन्दीको विरोधमा अर्न्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन विद्यार्थीहरुलाई साङ्लोमा सहभागी गराएको बताएका छन्।

चक्रपथको २७ किलोमिटर सडकमा साङ्लो निर्माण गरिएको यो दोस्रो पटक हो। यसअघि २०६६ सालमा एकीकृत नेकपा माओवादीले राष्ट्रिय स्वाधिनताको नाममा चक्रपथको सडक मानव साङ्लोले घेरेको थियो।
भारतले नेपालमाथि दुई महिनाभन्दा लामो समयदेखि लगाएको नाकाबन्दीले इन्धनको चरम अभाव हुँदा आफूहरुले विद्यालय पुग्न र विद्यालयमा खाजा खान ठूलो सास्ती झेल्नुपरिरहेका कारण प्रदर्शनमा सहभागी भएको विद्यार्थीहरुले बताएका छन्।  साङ्लो बनाएर चक्रपथमा प्रदर्शन गरेका विद्यार्थीहरुले बाँच्न र पढ्न पाउने अधिकारमाथि खेलवाड नगर्न भारत सरकारसँग आग्रह गरेका छन्।
नाकाबन्दीको विरोधमा विद्यार्थीहरु स्वतस्फूर्त रुपमा भने सडकमा ओर्लिएका होइनन्। प्याब्सन, एन प्याब्सन, हिसान लगायतका शैक्षिक संगठनहरुले उर्दी जारी गरेर विद्यार्थीहरुलाई प्रदर्शनमा सहभागी गराएका हुन्। निजी विद्यालयहरुले सरकारको निर्देशन उल्लंघन गरी साना कक्षाका विद्यार्थीहरुलाई समेत साङ्लोमा सहभागी गराएका छन्। महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले स्कुले विद्यार्थीहरुलाई प्रदर्शनमा सहभागी गराउँदा उनीहरुमा नकारात्मक असर पर्ने र बाल अधिकार महासन्धीको समेत उल्लंघन गरेको ठहर्ने भन्दै स्कुले विद्यार्थीलाई साङ्लोमा सहभागी नगराउन प्याब्सन, एन प्याब्सन लगायतलाई निर्देशन दिएको थियो। ८ कक्षा भन्दा मुनीका विद्यार्थीलाई साङ्लोमा सहभागी नगराउने भनिएपनि निजी विद्यालयहरुले २/३ कक्षाका विद्यार्थीहरुलाई समेत प्ले कार्ड बोकाएर एक घण्टासम्म सडकमा उभ्याएका छन्।
राजनीतिक दल र विद्यार्थी संगठनहरुले विद्यार्थीलाई जुलुस, प्रदर्शन र राजनीतिक कार्यक्रममा सहभागी गराउँदा प्याब्सन र एन प्याब्सनले चर्को विरोध गर्ने गरेका थिए। उनीहरुले राजनीतिक दलहरुमाथि विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको आरोप लगाउने गरेका थिए। तर शुक्रबार तिनै प्याब्सन र एन प्याब्सनले अबोध बालबालिकालाई समेत जर्बजस्ती साङ्लोमा सहभागी गराए। निजी विद्यालयहरुले विद्यार्थीहरुलाई ठूलो संख्यामा सडकमा उतारेका कारण चक्रपथ भित्रका सडक पनि विद्यार्थीले भरिएका थिए। विद्यार्थीको भीडका कारण थोरै संख्यामा चलेको यातायात सेवा प्रभावित बन्न पुगेको थियो ।

No comments :

Post a Comment