17 October 2015

उप-प्रधान तथा परराष्ट्रमन्त्री नाकाबन्दीबारे कुरा गर्न भारत जादै

kamal_thapa१७ अक्टोबर २०१५, काठमाण्डौ- उपप्रधानमन्त्री कमल थापाले नेपालमा अत्यावश्यक वस्तुको आपूर्तिमा भएको अवरोधलाई सम्बोधन गर्न आफूले अधिकतम् प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भारतका विदेश मन्त्री सुष्मा स्वराजको निमन्त्रणमा तीनदिने भारत भ्रमणमा जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै परराष्ट्र मन्त्री समेत रहेका थापाले नेपाल–भारत सीमा नाकामा उत्पन्न असहज परिस्थितिमा केन्द्रित भई भारतीय समकक्षीसँग वार्ता गर्ने बताए ।
नयाँदिल्लीमा रहँदा भारतीय विदेश मन्त्रीसँग द्विपक्षीय वार्ता हुने तथा अन्य उच्च राजनीतिक व्यक्तित्वसँगसमेत भेटवार्ता हुने थापाले बताए ।
उनले भने, “तीन करोड नेपालीको सद्भाव, स्नेह र शुभेच्छा लिएर भ्रमणका लागेको हुँदा भ्रमण उपलब्धिपूर्ण हुनेमा विश्वस्त छु ।”
प्रधानमन्त्री केपी शर्मा ओली, उच्चस्तरीय राजनीतिक समन्वय समितिका अध्यक्ष पुष्पकमल दाहालसहित समितिका अन्य नेतासँग भारत भ्रमणको तयारीका बारे आफूले छलफल गरेको उनले बताए ।

त्यसैगरी उपप्रधानमन्त्री थापाले अघिल्लो सरकारका परराष्ट्र र वाणिज्य तथा आपूर्ति मन्त्रीसँग पनि भ्रमणलाई उपलब्धिमूलक बनाउन बेग्लाबेग्लै विचारविमर्श गरेको जानकारी दिए ।
एक प्रश्नको जिज्ञासामा उनले प्रधानमन्त्री केपी ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट गरिएको भारत भ्रमणको निमन्त्रणाको विषयमा पनि छलफल हुने बताएका थिए ।
परराष्ट्र मन्त्री थापाको नेतृत्वमा रहेको नौ सदस्यीय प्रतिनिधिमण्डलमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव
ङइन्द्रप्रसाद उपाध्याय, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, अर्थ मन्त्रालयका सहसचिव लक्ष्मण अर्याललगायत छन् । 

No comments :

Post a Comment