13 September 2015

आखिर किन प्रक्रिया रोक्न दबाब दिदैछन बाबुराम र सिटौला ?

Image result for baburam and krishna sitaula १३ सेप्टेम्बर २०१५, काठमाडौं– असन्तुष्ट पक्षसँग वार्ता गर्न भन्दै दुई दिनका लागि संविधानसभाको प्रक्रिया स्थगित गरेका प्रमुख तीन दलबीच संविधानसभाको प्रक्रिया सुरु गर्ने वा थप सयम दिने भन्नेमा विवाद भएको छ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ताको लागि संविधानसभाको प्रक्रिया स्थगित गर्नुपर्ने मुख्य शर्त अगाडि सारेको छ। तर दलहरुबीच प्रक्रिया सुरु गर्ने वा लम्ब्याउने भन्ने विषयमा विवाद सुरु भएको छ। निर्धारित समय अनुसार आज साढे ११ बजे संविधानसभाको बैठक सुरु हुनुपर्ने थियो । दलहरुबीचको विवादका कारण अहिलेसम्म संविधानसभाको बैठक बस्न सकेको छैन्। अहिले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको कार्यकक्षमा नेम्वाङसहित प्रमुख तीन दलको अनौपचारिक छलफल भइरहेको छ। स्रोतका अनुसार नेपाली कांग्रेस र एमाओवादीका नेताले वार्ताको वातावरण बन्दै गएको भन्दै केही दिन थप प्रक्रिया रोक्नुपर्ने पक्षमा उभिएका छन्।

कांग्रेस महामन्त्री कृष्ण सिटौलासहितको केही नेताले अहिले वार्ताको वातावरण बन्दै भएको भन्दै जारी प्रक्रियालाई थप केही दिन रोक्नुपर्ने अडान राखेको स्रोतले बतायो। यसैगरी एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले पनि असन्तुष्ट पक्ष मधेसी मोर्चा, थारुवान÷थरुहट संघर्ष समितिलगायतसँग वार्ता गर्न पनि केही दिन प्रक्रिया रोक्नुपर्ने पक्षमा देखिएका छन्। तर कांग्रेसकै शेरवहादुर देउवा, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता जसरी पनि प्रक्रिया अगाडि बढाउनुपर्ने पक्षमा देखिएको स्रोतले बतायो।

आइतबार बसेको नेपाली कांग्रेसको पदाधिकारीको बैठकले पनि जारी प्रक्रियालाई अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेको थियो।  एमाले भने कुनै पनि हालतमा प्रक्रिया रोक्न नहुने पक्षमा उभिएको छ। आइतबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले संविधानसभाको प्रक्रिया नरोकिने भन्दै आफ्ना सभासदलाई संविधानसभा नछोड्न निर्देशन नै दिएका थिए। आइतबार प्रधानमन्त्री सुशील कोइरालाले बोलाएको तीन दलको बैठकमा समेत प्रक्रिया स्थगितको प्रस्ताव आउन सक्ने भन्दै एमाले र एमाओवादी अनुपस्थित भएका थिए।

शुक्रबार भारतीय राजदुत रन्जित रेले शुक्रबार प्रमुख तीन दलका शीर्ष नेतालाई भेटगरी जारी प्रक्रिया केही दिन रोकेर सहमतिको पहल गर्न सुझाव दिएका थिए भने शनिबार राष्ट्रपति रामबरण यादवले प्रधानमन्त्री सुशील कोइरालासँग टेलिफोन सम्वाद गरी केही दिन प्रक्रिया रोकेर भएपनि सबैलाई साथमा लिएर संविधान जारी गर्न सुझाव दिएका थिए।

No comments :

Post a Comment