12 September 2015

दुई झडपमा ६ को मृत्यु , एम्बुलेन्सबाट थुतेर असईको हत्या

दुई झडपमा ६ को मृत्यु , एम्बुलेन्सबाट थुतेर असईको हत्या१२ सेप्टेम्बर २०१५, काठमाडौं- आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार महोत्तरीमा एक सशस्त्र प्रहरीको कुटी–कुटी, क्रूरतापूर्वक हत्या गरेका छन्। बाँसका भाटा, बियर र फ्यान्टाका बोतल प्रहारबाट सख्त असई थमनबहादुर विश्वकर्मालाई आन्दोलनकारीले एम्बुलेन्सबाट समेत थुतेर लखेटी–लखेटी मारेका हुन्।

शुक्रबारै जनकपुर र जलेश्वरमा भएका झडपमा प्रहरीको गोलीले ६ जनाको ज्यान गएको छ भने दर्जनौं घाइते छन्।

महोत्तरीस्थित सशस्त्र सीमा सुरक्षाबल, जलसागरमा कार्यरत विश्वकर्मा सशस्त्र प्रहरी, पथलैया बाहिनीबाट शुक्रबार बिहान युनएन मिसनका लागि परीक्षा दिएर फर्कने क्रममा प्रदर्शनकारीको निसाना बनेका थिए।

नागरिककर्मी महेशकुमार दासका अनुसार पथलैयाबाट गाडीमा बर्दिवास आएका असई विश्वकर्मा मधेसी मोर्चाको अवरोधपछि ग्रामीण बाटो हुँदै बनौटो बेसक्याम्प पुगे। त्यहाँबाट एक जनाको मोटरसाइकलमा 'लिफ्ट' मागेर उनी जलेश्वर नगरपालिका चोक आइपुगेका थिए।

स्थानीय प्रशासनले बिहान कर्फ्यु केही खुकुलो पारेका बेला चोकमा जम्मा भएका प्रदर्शनकारीले 'पुलिस हो' भन्दै हल्ला गरेपछि असई विश्वकर्मा मोटरसाइकलबाट झरेर नजिकैको पोखरीमा हामफालेका थिए। त्यत्तिकैमा अनियन्त्रित भिडले उनलाई पोखरीबाट निकालेर मरणासन्न हुनेगरी कुटपिट गर्योह। प्रहरीको थप बल आएपछि प्रदर्शनकारी तितरबितर भए।

सख्त घाइते उनलाई प्रहरीले उपचारका लागि जिल्ला अस्पताल, जलेश्वर पुर्यापयो। टाउकामा १६ टाँका लगाएर अस्पतालले थप उपचारका लागि जनकपुर रेफर गर्योल। युनएनले जिल्ला अस्पताललाई उपलब्ध गराएको निलो प्लेटको ६६–१–१२३५ नम्बरको एम्बुलेन्समा उनलाई तत्कालै जनकपुर पठाइयो।

आन्दोलनकारीले जलेश्वर–जनकपुरको मुख्य सडकका ठाउँ–ठाउँमा अवरोध गरेका कारण चालक सुशील मिश्रले महोत्तरी गाविसको सनुखडा हुँदै एम्बुलेन्स अघि बढाएका थिए। घाइते प्रहरीलाई जनकपुर लैजाँदै गरेको सुइँको पहिल्यै पाइसकेका आन्दोलनकारीले सनुखडाको वनक्षेत्रस्थित कल्भर्टमा एम्बुलेन्स रोकेर घाइते विश्वकर्मासहित भित्र रहेका पाँचै जनामाथि आक्रमण गरे।

सयौंको संख्यामा रहेका प्रदर्शनकारीले पाँचै जनालाई बाहिर निकालेर एम्बुलेन्समा आगो सल्काइदिए। त्यति बेलै अरु जसोतसो भाग्न थाले तर विश्वकर्मा अलमलिए। एम्बुलेन्स जलेको भन्दा ५ सय मिटर परसम्म भागे तर अत्यधिक रक्तस्रावले सिथिल भइसकेको उनको ज्यान अघि बढ्न सकेन। सडकमुनि पानी जमेको खेतमा लुटपुटिए।

भाग्न नसकेर लडेका उनीमाथि प्रदर्शनकारीले बाँसको भाटा तथा बियर र फ्यान्टको बोतलले प्रहार गर्न थाले। यसै त बिहानको आक्रमणले थिल्थिलो भएको ज्यानले थप आक्रमण सहन सकेन। कुटाइ सहँदासहँदै उनको मृत्यु भयो।

मधेसी मोर्चाका कार्यकर्ताको दुई पटकको नृशंस आक्रमणमा विश्वकर्माको ज्यान गएको सशस्त्र प्रहरीका एसपी धीरेन्द्र पाण्डेले बताए। आन्दोलनकारीले बाँसको भाटा, बियर र फ्यान्टाको बोतल प्रहार गरेर बीभत्स हत्या गरेको उनले जानकारी दिए। उनका अनुसार नेपालगन्ज घर भएका असई विश्वकर्माका साथमा रहेको मोबाइल, पर्स र केही नगद कहाँ छुट्यो अथवा लुटियो भन्ने पत्तो छैन।

विश्वकर्माको हेरचाहका लागि गएका सशस्त्र प्रहरी जवान राजकुमार झा र अस्पताल कर्मचारी सियाराम पासवान सम्पर्कमा आइसकेको उनले जानकारी दिए। उनका अनुसार एम्बुलेन्सचालक सुशील मिश्र र अस्पतालका अर्का कर्मचारी पप्पु साह सम्पर्कविहीन छन्। घटनास्थलबाट प्रहरीले बाँसको भाटा, बियर र फ्यान्टाका थुप्रै बोतल बरामद गरेको छ।

कर्फ्यु तोडेर प्रदर्शन, जनकपुरमा सेना परिचालन

कर्फ्यु उल्लंघन गरी प्रदर्शन गर्ने क्रममा शुक्रबार जनकपुर र जलेश्वरमा पाँच जनाको मृत्यु भएको छ। जलेश्वरमै गत बुधबार प्रहरीको गोलीले घाइते एक जनाको काठमाडौंको नर्भिक अस्पतालमा उपचार क्रममा शुक्रबार मृत्यु भएको छ।

प्रदर्शनकारीलाई जनकपुर नगरभित्र प्रवेश गर्न नदिन धनुषा प्रहरीले चलाएको गोली लागेर तीन जना र महोत्तरीको जलेश्वरस्थित शंकरचोक र नगरपालिकाचोकमा भएका झडपमा दुई आन्दोलनकारीको मृत्यु भएको हो। दुवै घटनामा गरी चार दर्जनभन्दा बढी घाइते भएका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

जनकपुरस्थित नागरिक संवाददाता सुरेश यादवका अनुसार धनुषा जिल्ला प्रहरी प्रमुख एसपी गणेश थापा र सशस्त्र प्रहरीका एसपी रवीन्द्र ठाकुरको संयुक्त कमान्डमा रहेको टोलीले जनकपुर चुरोट कारखानानजिक चलाएको गोली लागेर सद्भावना पार्टीका क्षीरेश्वरनाथ नगर अध्यक्ष ३० वर्षीय सञ्जय चौधरी र धनुषा जमुनियाका श्रीनारायण यादवका छोरा १६ वर्षीय नितु यादवको मृत्यु भएको हो।

त्यसको दुई घन्टापछि पिराडीचोकमा प्रहरीको गोली लागेर सिनुरजोडाका दिलीप यादवको घटनास्थलमै मृत्यु भएको थियो। नितु र दिलीपको टाउकोमा, सञ्जयको छातीमा गोली लागेको जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सञ्जय ठाकुरले जनाए। दिलीप जनकपुरबाट साइकलमा घरतर्फ जाँदै थिए।

प्रहरीको गोली लागेर घाइते भएका जनकपुर–९ का बालमुकुन्द साह, जनकपुर–१२ का किसुन मण्डल, जनकपुर–६ का मुकेश साह, कनकपट्टीका अमितकुमार यादव, सिकन्दर पासवान, रन्जितप्रसाद साह, कपिलेश्वरका सन्तोष महतो, कुर्थाका परमेश्वर साह, सिकेन्द्रकुमार ठाकुर र अमोद महासेठ घाइते छन्।

यसैगरी, जितेन्द्र पण्डित, रुपैठाका बिटु झा, कामेश्वर पण्डित, रामपुरका सुनिल दास, लोहनाका अजय साह, महेन्द्रनगरका अस्मिना खातुन, सिनुरजोडाका गणेशकुमार यादव, जनकपुरका विकासकुमार यादव, घोरघासका राधेश्याम पण्डित, जमुनियाका दिलीपकुमार यादव, महोत्तरी रतौलीका रन्देशकुमार यादव, श्रीप्रसाद साह, बेंगापिपराढीका महादेव यादव, सिरहा पचहर्वाका धर्मेन्द्रकुमार साह, गंगुलीका चन्द्रशेखर झा, बगराका रन्जितकुमार यादवलगायत ५३ जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

गम्भीर अवस्थामा रहेका कामेश्वर पण्डित, बिटु झा, सुनिल दास र विकास यादवलाई थप उपचारका लागि काठमाडौं पठाइएको अञ्चल अस्पतालले जनाएको छ।

घाइतेमध्ये अधिकांशको टाउको, घाँटी, छाती र पाखुरामा गोली लागेको मेडिकल सुपरिटेन्डेन्ट ठाकुरले जनाएका छन्।

आन्दोलनकारीले शुक्रबार साँझसम्म जनकपुरको कपिलेश्वर सडक खण्ड, पुलचोक, पिराडी चोक, बजरंग चोक, जिरोमाइल, मुरली चोक र हनुमाननगर क्षेत्रमा प्रदर्शनकारीले कफर््युको अवज्ञा गरी प्रदर्शन गरिरहेका थिए।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबार 'चलु जनकपुर, भरु जनकपुर' नारासाथ गाउँ–गाउँबाट आन्दोलनकारी बोलाउने सूचना प्रवाह गरेपछि जिल्ला सुरक्षा समिति धनुषाले बिहान ६ बजेदेखि नै नगर क्षेत्रमा कर्फ्यु लगाएको थियो। तर, आन्दोलनकारीले कर्फ्यु अवज्ञा गर्दै शान्तिपूर्ण प्रदर्शन गर्न दिन स्थानीय प्रशासनलाई आग्रह गरेका थिए।

प्रशासनले अनुमति नदिएपछि गोली खाएरै भए पनि नगरमा प्रदर्शन गर्ने भन्दै उनीहरु विभिन्न क्षेत्रबाट जनकपुर प्रवेश गर्न खोजेपछि प्रहरीले गोली चलाएको थियो।

प्रत्येक नाकामा नेपाल प्रहरी र सशस्त्रको संयुक्त टोली परिचालन गरिएको थियो। आन्दोलनकारी जबर्जस्ती नगर क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले एकैसाथ मिल्स एरिया, पुलचोक, कदम चोक, पिराडी चोक, रामानन्द चोक, हनुमाननगर, बजरंग चोकलगायत क्षेत्रमा फायरिङ सुरु गरेको थियो। जिल्ला प्रहरी कार्यालयका एक अधिकारीका अनुसार शुक्रबार जनकपुरमा करिब हजारभन्दा बढी राउन्ड फायरिङ भएको थियो।

यसैबीच, जिल्ला सुरक्षा समिति, धनुषाले शुक्रबार साँझ ५ बजेबाट लागू हुने गरी जनकपुरलाई दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गरेको छ। यसअघि दिउँसो जनकपुर एयरपोर्टमा हेलिकप्टर चढेर आएका नेपाली सेनाका पृतनापति देवबहादुर सुवेदीको रोहवरमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, जिल्ला प्रहरी प्रमुख एसपी गणेश थापा, सशस्त्र प्रहरीका एसपी रवीन्द्र ठाकुर, राष्ट्रि्रय अनुसन्धान प्रमुख एसपी सञ्जय यादवलगायत जिल्ला सुरक्षा समितिका पदाधिकारी जनकपुर एयरपोर्टमै बसेर आकस्मिक बैठक गरेका थिए।

महोत्तरी संवाददाता महेशकुमार दासका अनुसार स्थानीय प्रश्ाासनले लगाएको कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन गर्ने क्रममा शुक्रबार प्रहरीसँग झडप हुँदा जलेश्वरमा दुई प्रदर्शनकारीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

बन्दकर्ता र प्रहरीबीच शुक्रबार दिउँसो जलेश्वरको शंकरचोक र नगरपालिकाचोकमा भएका झडपमा प्रहरीको गोलीबाट हात्तिलेटकी ३५ वर्षीया रामशिला ठाकुर र जलेश्वर– ७, बजराहीका ६० वर्षीय गणेश चौधरीको मृत्यु भएको हो। टाउकोमा गोली लागेर घटनास्थलमै मृत्यु भएकी ठाकुर राप्रपा नेपालकी जिल्ला नेतृ हुन्। दुवैको घटनास्थलमै मृत्यु भएको थियो।

नेपाल रेडक्रस सोसाइटी जलेश्वर शाखाका आजीवन सदस्य चौधरी बुधबार झडपक्रममा मारिएका बजराही– ७ का रोहन चौधरीका बाजे हुन्।

जलेश्वर–२ की शैलदेवी चौधरीको तिघ्रामा गोली लागेको छ। उनको जलेश्वर अस्पतालमा उपचार भइरहेको छ। घाइते बजराही–७ का नागेन्द्र साह, महेश्वर ठाकुर र १२ वर्षीय अजित मिश्रलाई जलेश्वर अस्पतालले थप उपचारका लागि जनकपुर रेफर गरेको छ।

यसैबीच, बुधबार झडप क्रममा टाउकोमा गोली लागेर गम्भीर अवस्थामा काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत जलेश्वरका वीरेन्द्र बिच्छाको शुक्रबार मृत्यु भएको छ। यसका साथै महोत्तरीमा प्रहरी–प्रदर्शनकारी झडपमा मृत्यु हुनेको संख्या ६ पुगेको छ।


No comments :

Post a Comment