19 May 2015

९९.७% अब तत्कालै ठुलो भुकम्प जादैन- USGS रिपोर्ट

अहिले नेपालमा केही मानिसहरु बिभिन्न संस्थाहरुले दिएका सुचना भन्दै अनेक अफबाहहरु फैलाईरहेका छन, यस्तो कार्यमा प्रश्रय दिने या शेयर गरेर झनै आतंक फैलाउने कार्य पनि भइरहेको छ। हिजोको भुकम्प पश्चात यस्तालाई झनै बल पुगेको पनि देखिन्छ। आज पनि केही अनलाईन हरुमा USGS को हवाला दिंदै फेरी ठुलो भुकम्प आउनसक्ने भनेर शिर्षक राख्दै समाचार बनाएको देखियो।



भुकम्प कहिले कत्रो र कहाँ आउछ भनेर कसैले पनि किटान गर्न सक्दैन, ठुलो जाने संभाब्यता कति छ भन्ने सम्म अनुमानहरु पुराना तथ्यांकका आधारमा गरिने हुन। USGS ले अहिले नेपालको भुकम्पको पराकम्पनहरुका बारे फेरी पनि संभाब्यता सहितको रिपोर्ट राखेको छ। जसमा लेखिएको छः

१ हप्ता भित्र 
  • ५-६ रेक्टरको जाने संभावना ८०%
  • ६-७ रेक्टरको जाने संभावना १५%
  • पहिलेको भन्दा ठुलो जाने संभावना ०.३%

भुकम्पको पुर्बानुमानमा अहिले धेरै बैज्ञानीकहरुका फरक फरक कुराहरु आईरहेका छन यस्तो कुराहरु आउनु बैज्ञानिक समुदायका लागी ठुलो कुरा होईन, उनिहरुले आफ्ना अबधारणा, मान्यताहरु राख्ने हुन तर कुनै पनि बिधि सर्बमान्य रुपमा स्थापित नहुदासम्म फरक फरक बैज्ञानिकका फरक फरक कुराहरु आउनु सामान्य हो। भुकम्पको बिषयमा हुने सबै पुर्बानुमानहरु त्यसै प्रकृयाका नतिजा हुन। बैज्ञानिक ठोस आधार सहित कुनै पनि अबधारणाको पुष्टी नहुदा सम्म सबै अनुमानहरु उस्तै हुन।
हामीले बुझ्नुपर्ने कुरा के हो भने नेपालमा ठुला भुकम्पजाने संभावना सधै नै रहेको थियो र छ नै यस पटक ठुला भुकम्प गइसकेको हुनाले चट्टानहरु अझै पनि सामान्य अबस्थामा नफर्किएकाले मात्र केहि बढि संभावना रहेको हो। हामीहरु सजग र सुरक्षित रहिरहनुपर्छ तर मानसिकरुपमा सकेसम्म आफुलाई बलियो राख्नै पर्छ। पराकम्पनहरुको क्रम केही महिना, बर्ष नै पनि चल्छन तर यसको आउने क्रम पातलो हुन्छ।
बैशाख १२ गतेको मुख्य भुकम्प पश्चात क्षति भएका संरचनाहरुको अध्ययनपछि रातो, पहेंलो र हरियो स्टिकर टाँस्नेकाम बिभिन्न ईन्जिनियरिङ संस्थाहरुको अगुवाईमा भएको थियो। सायद हिजोको भुकम्पबाट पुरै ढल्ने संरचनाहरु रातो बर्गका परेका हुनुपर्छ र कुनै पहेंलो बर्गका पनि परे होला तर हरियो बर्ग भनेर टाँसिएका संरचनाहरु पुर्ण रुपमा नढलेको हुनुपर्छ। आज सम्मका कुनै पनि भुकम्पले क्षति नगरेका घरहरुमा बस्न त्यति धेरै डराउनुपर्दैन तर पनि सजग रहनुपर्छ। पहेंलो बर्गका संरचना भित्र अहिले नबसौं, रातो बर्गबाट चाहीं टाढौं रहौं।

अहिले हाम्रो समाजमा कुनै पनि कुरालाई सनसनि बनाउने हिसाबले नकारात्मक पाटोलाई बढी उजागर गर्न खोजिदैछ तर हामीले सकारात्मक पाटोलाई समात्नुपर्छ। भुकम्प आउने संभावना टरेको होईन त्यसैले सजग र सुरक्षित रहिरहौं तर नकारात्मक प्रभाव पर्ने हौवाहरु नफैलाऊँ।

No comments :

Post a Comment