18 May 2015

एउटै स्कुलमा कांग्रेस, एमाले र एमाओवादी पुगे के हुन्छ

3 party४ जेठ, काठमाडौं । ढीलै भए पनि नेपाली कांग्रेस, एमाले र एमाओवादीले भूकम्प पीडित वस्तीमा पसेर श्रमदान गर्ने सकारात्मक निर्णय गरेका छन् ।
दलहरुको निर्णयअनुसार नेता कार्यकर्ताहरु गाउँ पसे भने पीडितको उद्धारमा सहयोग पुग्नेछ । तर, यी प्रमुख तीन दलवीच आपसमा समन्वय गर्ने साझा संयन्त्रको खाँचो देखिएको छ ।

नेकपा एमाले प्राविधिक टोलीसहित जेठ १० देखि असार १० सम्म गाउँ पस्ने निर्णय गरेको छ । नेपाली कांग्रेसले पनि एक साता गाउँमा श्रमदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै प्रतिपक्षी एमाओवादीले पनि जेठ ८ देखि १५ गतेसम्म कोदालो र गैंची बोकेर गाउँ पस्न कार्यकर्तालाई निर्देशन दिएको छ । तीनवटै दलको कार्ययोजनामा गाउृँमा गएर विद्यालय भवन बनाइदिने, व्यक्तिको अस्थायी आश्रय बनाउने, खानेपानी, कुलो आदि संरचनाहरु निर्माणका लागि श्रमदान गर्ने भन्ने छ ।
तीनवटै दलले एकै प्रकृतिको निर्णय गरेका छन् । तर, तीन दलको यो निर्णयमा आपसी समन्वय भएन भए गाउँमा दलको कार्यक्रम ‘ओभर ल्याप’ हुने खतरा छ । एउटै स्कुल बनाउन कांग्रेस एमाले र एमाओवादी खटिए भने के होला ? त्यहाँ जस लिने नाममा दलीय हानाथाप र झगडा सम्भावना छ ।
यसो गर्दा ठीक होला कि ?
गाउँमा स्कुल लगायतका भौतिक संरचना बनाउन खटिने निर्णय गरेका प्रमुख दलहरुले आ-आफ्ना जिल्ला समितिमार्फत जिल्ला प्रशासन कार्यालयसँग समन्यव गर्नु उपयुक्त हुने देखिन्छ ।
एउटा गाउँमा रहेको स्कुलमा एउटा दलका कार्यकर्ता खटिए पनि अर्को दलका कार्यकर्ता अर्को गाउँमा खटिएको अवस्थामा पुनःनिर्माण सहज हुन्छ । एउटै विद्यालय निर्माणमा तीन वा दुई दलका कार्यकर्ताहरु खटिए पनि हुन्छ, तर त्यसमा आपसी समन्वयन आवश्यक पर्छ । एमाले सचिव योगेश भट्टराई भन्छन्- ‘गाउँमा सकारात्मक प्रतिस्पर्धा भए पनि होस् । हामीले २ सय घर बनायौं भने एमाओवादीले ३ सय घर बनाइदिए हुन्छ ।’
सरकारले संयोजन गरेर सर्वदलीय स्वयंसेवक टोली बनाउन एमालेले प्रस्ताव राखेको भए पनि सरकारले चासो नदिएपछि दलले आफैं स्वयंसेवक खटाउनुपरेको भट्टराईले बताए ।
केन्द्रमा सर्वदलीय सहमति नभए पनि गाउँमा झगडा गरिरहनुपर्ने कुनै जरुरी नरहेको भन्दै एमाले सचिव भट्टराईले अनलाइनखबरसँग भने- ‘माथि सर्वदलीय सहमति नभए पनि तल फिल्डमा मिलेर काम गर्न सकिन्छ ।’
काम लागेन सर्वदलीय समिति
त्यसो त प्रमुख तीन दलले यसअघिको बैठकमा केन्द्रदेखि जिल्लासम्म सर्वदलीय समिति बनाउने निर्णय गरिसकेका छन् । यो निर्णय अहिलेसम्म कार्यान्वयन भएको छैन ।
अब गाउँमा श्रमदान गर्न जाने हो भने तीन दलले यही निर्णयलाई कार्यान्वयन गर्ने गरी तत्कालै जिल्ला र गाउँमा सर्वदलीय समिति बनाए भने पुननिर्माणको कामसँगै राजनीतिक एकताको सन्देश जान सक्थ्यो ।

No comments :

Post a Comment