14 May 2015

सरकारले तयार पारेको भुकम्प प्रतिरोधात्मक घरको डिजाइन यस्तो छ

house
३१ बैसाख २०७२, काठमाण्डौ - सरकारले भूकम्पबाट घर गुमाएकाहरूका लागि सस्तो र भूकम्प प्रतिरोधी गरेको डिजाइन तयार परेको छ । राष्ट्रिय योजना आयोग र सहरी विकास मन्त्रालयले तयार पारेको उक्त डिजाइन आइतबारसम्ममा मन्त्रिपरिषद्मा बुझाउनेछ ।

आयोगका उपाध्यक्ष गोविन्द पोखरेलका अनुसार डिजाइनका विषयलाई दुई संस्थाले भने पारित गरिसकेका छन् । ‘बुधबार बसेको आयोग तथा मन्त्रालयको बैठकले डिजाइनलाई स्वीकृत गरिसकेको छ,’ उनले भने, ‘यी डिजाइन भविष्यमा अन्य घर बनाउनका लागि पनि प्रयोग गर्न सकिने खालका छन् ।’
यसरी तयार पारिएको डिजाइनअनुसार प्रभावित स्वयंले घर बनाउनुपर्नेछ । त्यसमा घर गुमाएकालाई सरकारले दिने
रकमको उपयोग गर्न सकिने पोखरेलले बताए । धेरैलाई सरकारले घरै बनाइदिने भन्ने भ्रम परेकाले त्यसमा नझुक्किन पोखरलले आग्रह गरेका छन् । ‘सरकारले घर बनाएर दिने होइन,’ उनले भने, ‘केही सहयोग सरकारले गर्छ । अरू केही मेहनत आफैं गर्नुपर्छ ।’
सस्तो र भूकम्प प्रतिरोधात्मक घरका लागि कुनै नयाँ खालका सामग्री प्रयोग गर्न जरुरी छैन । छानाका लागि टेन्ट या जस्ताको प्रयोग गर्ने र बिम तथा अन्य भागमा काठ, बाँस र पाइपको प्रयोग गर्न सकिने छ । ‘अल्पकालीन योजनाअन्तर्गत बनाइने घर धेरै अग्ला हुने छैनन्,’ पोखरेलले भने । अहिले डिजाइन गरिएका घरहरू छोटो समयका लागि हुनेछ । पोखरेलका अनुसार वर्षामा समस्या नहोस् भनेर तत्कालका लागि यो विकल्पमा काम गरिएको हो । ‘दीर्घकालीन योजनाअन्तर्गतका घरका डिजाइन दुई महिनाभित्र सरकारलाई बुझाउने लक्ष्य छ,’ उनले भने । इन्जिनियरका अनुसार काठको सिलिङ र धेरै भागमा काठको प्रयोग गरिएका घरहरू नभत्कने खालका हुन्छन् ।
पोखरेलका अनुसार अनुभवी इन्जिनियरहरूको सहयोगबाट डिजाइन बनाइएकाले यस्ता घरमा बस्नेहरू सुरक्षित रहनेछन् । वैशाख १२ यता बारम्बार आएको भूकम्पका झट्काका कारण मुलुकभर पूर्ण र आंशिक रूपमा गरी झन्डै पाँच लाख घर ध्वस्त भएका छन् । यसमध्ये २ लाख ८८ हजार घर पूर्ण क्षतिग्रस्त छन् ।
सरकारले घर बनाउन २ लाख रुपैयाँ राहतको घोषणा गरेको छ । गृह मन्त्रालयका अनुसार भूकम्पका कारण क्षतिग्रस्त भएका घरमध्ये पूर्ण रूपमा नभत्केको तर बस्नयोग्य नभएको घर भत्काएर भूकम्प प्रतिरोधात्मक घर बनाउन चाहनेलाई पनि राहत पाउने सूचना सार्वजनिक गरिसकेको छ ।
‘हामीले तयार पारेको डिजाइन अनुसारको घर बनाउन सानो परिवारका लागि सरकारले दिने राहत पर्याप्त हुन्छ,’ उनले भने, ‘ठूलो परिवारका लागि रकम नपुगे सस्तो ब्याजदरको ऋण पनि पाउनेछन् ।’
नेपाल राष्ट्र बैंकले भूकम्प पीडितका लागि आवश्यक व्यवस्थापन गर्न २ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने निर्णय गरिसकेको छ । राष्ट्र बैंकका प्रवक्ता मीनबहादुर श्रेष्ठका अनुसार यसको कार्यविधि बनिरहेको छ ।
दीर्घकालीन योजनाअन्तर्गत भने आयोग र सहरी विकास मन्त्रालय भूकम्प प्रतिरोधात्मक घरको क्याटलग तयार गर्ने जानकारी उनले दिए । घरको बाहिरी आवरण कस्तो देखाउने त्यसको निर्णय घरधनी आफैंले गर्न सक्नेछन् ।
नेपाल भूकम्पीय जोखिममा रहेको बारम्बार सार्वजनिक भइरहे पनि घरधनी, इन्जिनियर र सरकारी अधिकारी स्वयंले चासो देखाएका थिएनन् । त्यसैले यसपालिको भूकम्पमा धेरै विनाश भएको छ । अब भने सरकारले भूकम्प प्रतिरोधात्मक संरचनामा कडाइ गर्नुपर्ने माग भइरहेको छ ।

No comments :

Post a Comment