31 May 2015

महतको पत्रकार सम्मेलनमा कुटपिट

Ramsaran-mahat१७ जेठ २०७२, काठमाण्डौ- विद्यालयलाई दिनुपर्ने जस्तापाता बजारमा बिक्री गर्न खोजेको आरोप लागेका रमेश महतले त्यस घटनाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा कुटपिट भएको छ ।
नुवाकोटका विभिन्न गाविसका विद्यालयमा तीन सय बन्डल जस्तापाता वितरणका लागि गएका महतले ती जस्तापाता सम्बन्धित विद्यालयलाई वितरण नगरी बिक्री गर्न लागेको आरोपसहित विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषण भएपछि पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । महत अर्थमन्त्री डा रामशरण महतका स्वकीय सचिव हुन् ।

उनले स्पष्टीकरणपछि पत्रकारलाई प्रश्न सोध्न दिइएको समयमा सरोकारवाला कृष्ण बोहराले जस्तापाता वितरणमा अनियमितता भएको आफूसँग प्रमाण रहेको बताउने बित्तिकै महतका कार्यकर्ताले उनलाई अरु पार्टीका कार्यकर्ता भएको र षडयन्त्रपूर्वक आएको भन्दै कुटपिट गरेका थिए । कुटपिटका क्रममा बोहरा भागेपछि उनलाई लखेट्दै पुनः कुटपिट गरिएको थियो । अर्का प्रश्न सोध्ने कारोबार दैनिकका शिव बोहरासमेत कुटपिटमा परेका थिए ।
झडप भएको केही समयपछि नै सुरक्षाकर्मी आएर स्थितिलाई नियन्त्रणमा लिएका थिए । यस विषयमा विस्तृत अध्ययन गरेर आएका बोहराले जस्तापाता बिक्रीका लागि प्रयोग गरिएको टिपरका चालकको भनाइलाई आधार बनाएर प्रश्न गरेका थिए ।
जस्तापाता वितरणका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले सहयोग गरेको थियो । जस्तापाता वितरणका लागि कुनै पनि स्थानीय निकायलाई जानकारी नै नगराई आफूखुसी विद्यालयमा पठाउन लागिएको पत्रकार बोहराले बताए ।
बैंकले १४ गते नै जस्तापाता जिल्लामा पुर्‍याइसकेको र १५ गतेदेखि विद्यालयमा वितरण गर्ने कार्यक्रम रहेको थियो । कार्यक्रमअनुसार दुई विद्यालयमा जस्तापाता वितरण गरिसकेको थियो । त्यसपछि जस्तापाता बिक्री गर्न लागिएको भन्दै स्थानीय जनताले तीन दिनसम्म टिपर कब्जामा लिएका थिए ।
महत आज वितरण गर्न बाँकी जस्तापातासहित काठमाडौँ आएका थिए । 

No comments :

Post a Comment