16 May 2015

प्रिन्स ह्यारीले नेपाली बालिकाको जुत्ता लगाइदिए

अष्ट्रेलिया, जेष्ठ २ - न्युजिल्याण्डमा आयोजना गरिएको एक कार्यक्रममा पुगेका बेलायती राजकुमार ह्यारीले नेपाली बालिकालाई फुस्किएको जुत्ता लगाइदिए । उक्त घटनालाई बालबालिकाको मनपर्ने कथा राजकुमारी सिन्डरेला र प्रिन्स चार्मिङ्गसँग तुलना गरेर सोसल मिडियामा भाइरल बन्यो ।
न्युजिल्याण्डको गभर्नर जनरलको कार्यालयले आयोजना गरेको कार्यक्रममा आफ्नी आमासँग सहभागी बनेकी ४ वर्षीय ग्रेस प्रधानले नेपाली परम्परागत लुगा लगाएकी थिइन् । उनको लुगा, कपालका बारेमा राजकुमार ह्यारीले उत्सुकतापूर्वक जिज्ञासा राखे । राजकुमारसँगको कुराकानीका क्रममा ग्रेसको खुट्टाबाट लगाएको जुत्ता खुस्कियो । तत्कालै सँगै रहेका राजकुमार प्रिन्सले उनलाई जुत्ता लगाइदिने प्रस्ताव गरे । अप्ठ्यारो मान्दै ग्रेसले पनि ह्यारीको सहयोगलाई नकारिनन् र उनको हातबाट जुत्ता लगाइन् । वास्तविक जीवनको राजकुमारले कथाकी सिन्डरेलाजस्तै देखिएकी ग्रेसलाई जुत्ता लगाइदिएको फोटो भाइरल हुन केही बेर नै लागेन् ।
‘वास्तवमा मैले मेरी छोरीलाई आफ्नो साथीको रुपमा कार्यक्रममा लगेकी थिएँ,' ग्रेसकी आमा अर्पणा थापाले न्युजिल्याण्डबाट कान्तिपुरसँग फोनमा भनिन्, 'राजकुमार ह्यारीको विशाल हृदय र बालबालिकाप्रतिको मोह देखेर हामी छक्क पर्‍यौं ।’ अर्पणाका अनुसार सानी ग्रेसलाई ह्यारी वास्तविक राजकुमार हो भन्ने पत्यार नै लागेन् । ‘उसले पढेको कथामा राजकुमार श्रीपेच लगाएर बायुपंखी घोडामा आउँछन्, त्यसैले उसलाई विश्वास लागेन् ।’
उक्त कार्यक्रमको फोटो न्युजिल्याण्डका गर्भनर जनरलले आफ्नो फेसबुकमा पोष्ट गरेका थिए, जुन फोटो करिब ४ हजार पटक सेयर गरिएको थियो । यसैगरि पिपुल म्यागेजिनले समेत राजकुमार ह्यारीको उक्त सामान्य तर प्रिय व्यवहारलाई प्राथमिकताका दिएर प्रकाशन गरेको छ ।

No comments :

Post a Comment