भूकम्पीय जोखिमका हिसाबले काठमाडौं शहर विश्वमा अगाडि छ । यहाँका भौतिक संरचनाहरु भूकम्प प्रतिरोधात्मक छैनन् । हाम्रो सौभाग्य, वैशाख १२ मा ७.८ रेक्टर स्केलको भूकम्प जाँदा जति क्षतिको आँकलन गरिएको थियो, त्यति भएन ।
यद्यपि वैशाख १२ र २९ गतेको भूकम्पले काठमाडौंमा मात्रै १२ सय बढीको मृत्यु भएको छ । झण्डै ३७ घर हजार ध्वस्त भए भने ५० हजार बढी घरमा क्षति भएको छ । भक्तपुर र ललितपुरलाई जोड्दा झण्डै १७ सय बढीको मृत्यु भएको छ भने ७२ हजार घर ध्वस्त भएका छन् । झण्डै ६५ हजार घरमा आंशिक क्षति पुगेको सरकारी तथ्यांक छ । यो पनि कम क्षति होइन ।
तर, धेरै जोखिमयुक्त भनिएको असन, इन्द्रचोकका घरहरु सुरक्षित देखिएका छन् । उसोभए के यो भूकम्प सानो थियो त ? वा विज्ञहरुले गरेको आंकलन गलत थियो ?
विज्ञ भन्छन्- सोचेको भन्दा सानो आयो
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) उप कार्यकारी निर्देशक रमेश गुरागाईं पनि यो भूकम्प विज्ञहरुले अनुमान गरेभन्दा सानो भएको बताए ।
गुरागाईंले भने- ‘जत्रो भइँचालोलाई लक्षित गरेर हामीले प्लानिङमा, डिजाइनिङमा प्रयोग गरेका छौं, त्योभन्दा यो भूइँचालोको गति धेरै सानो थियो, त्यसको एक तिहाइ मात्रै थियो अहिलेको भुइँचालोको सिक्वेन्स ।’
गुरागार्इं अनुसार बैशाख १२ को भूकम्पको ‘एक्सलरेसन प्वाइन्ट’ १८ अथवा २ देखिन्छ । एनसेटको कोर्डले हेरेको भने प्वाइन्ट १८ जी, प्वाइन्ट ४२ जी वा त्यस्तैखालको थियो । उनी भन्छन्- ‘१९९० को भन्दा यो भूकम्प धेरै सानो हो । अहिले धेरैजसो एरियामा ७ र ८ इन्टेनसिटी मापन गरिएको छ । १९९० मा ९ र १० छ ।’
मानिसहरुले ७.८ रेक्टर स्केल भन्नासाथ ठूलो भूकम्प भन्ने गरेका छन् । तर, म्याग्नेच्युड अथवा रेक्टर स्केल र इन्टेनसिटीमा फरक छ ।
विज्ञका अनुसार बत्तीको १०० वाट भनेको म्याग्नेच्युड भनेजस्तै हो भने उज्यालो इन्टेनसिटी हो । उज्यालोपना फरक फरक ठाउँमा फरक फरक हुन्छ । ‘सबैभन्दा मुख्य कुरा त्यसको दुरीमा भरपर्छ । योसँगै यसको जिओटेक्निकल अवस्थामा पनि भरपर्छ’ गुरागाईंले भने ।
विज्ञहरुले अहिलेसम्म गरेको अध्ययन र अनुमान ९ वा १० लाई नै मानेर गरेका थिए । कामाडौंमा सबैतिर कम्तिमा ९ मानेर गरेको हो । तर, अहिले ७ मात्र भएकाले साह्रै कमजोर घरहरु नै भत्किएका हुन् विज्ञको तर्क छ ।
‘अहिले जति घरहरु भत्किए ती साह्रै कमजोर वा बनाउँदा धेरै कमजोरी भएका घरहरु नै भत्किएका छन्’ उनले भने-‘यत्रो भुईँचालोमा पनि यति क्षति हुन्छ भने ठूलोमा के होला भनेर हेर्नुपर्ने हुन्छ ।’
भूकम्प थेग्ने घर सुरक्षित रहेनन्
इन्जिनियर विन्दु श्रेष्ठका अनुसार असनजस्तो क्षेत्रमा जति क्षति होला भन्ने अनुमान गरिएको थियो, त्यस्तो भएन । असन क्षेत्रमा भत्किएका घरहरु निर्माण अवधिका हिसाबले हेर्दा ९० सालको भूकम्पमा पनि नभत्किएका घरहरु अहिले भत्किएका छन् ।
तर, श्रेष्ठका अनुसार असनले यो भूकम्प थेग्यो र अब ती घरहरु सुरक्षित छन् भन्ने होइन । ‘७.८ रेक्टर स्केल थेगेका छन् तर, पराकम्पनका कारण घरका भुँडी निस्किएका छन्, जसलाई टेका लगाएर राखिएको छ’ उनले भनिन् ।
धरापजस्तै भएर बसेका घरहरु केही मर्मत गरेर बस्न सकिने छन् भने केही भत्काउनैपर्ने अवस्थाका छन् । अब वर्षाको समयमा वा जुनसुकै समयमा पनि भत्किन सक्छ । उनले भनिन्-यदि यसलाई तत्काल व्यवस्थापन नगर्ने हो भने भूकम्पबाट त बचियो, त्यसका कारण कति मानिसले ज्यान गुमाउनु पर्ने हुनसक्छ ।’
श्रेष्ठका अनुसार बाटो सुरक्षित नभएका कारणले आफ्नो घर सुरिक्षत हुँदाहुँदै पनि मानिसहरु बाहिरै बस्नुपरेको छ ।
प्राविधिकहरुका अनुसार आरसीसी स्ट्रक्चरको ५० वर्ष भएपछि भत्काउने वा पुनर्निर्माण गर्नुपर्ने हुन्छ । अन्तराष्ट्रिय अभ्यास पनि छ । तर, हामी कहाँ छैन ।
प्राविधिकहरुका अनुसार आरसीसी स्ट्रक्चरको ५० वर्ष भएपछि भत्काउने वा पुनर्निर्माण गर्नुपर्ने हुन्छ । अन्तराष्ट्रिय अभ्यास पनि छ । तर, हामी कहाँ छैन ।
भूकम्प आउँछ कि आउँदै भन्ने प्रश्नै छैन
उनले भने- ‘योभन्दा ठूलो नै चाहिँदैन, काठमाडौं नजिक भूकम्प गएर त्यसको प्रत्यक्ष असर कुन हिसाबले हुन्छ भन्ने आधारमा धक्का ठूलो-सानो हुन सक्छ ।’
भूकम्प भनेको प्रकृति भएको भन्दै उनले कृत्रिम चिजहरुलाई नियन्त्रण गर्नुपर्ने बताए । उनले भने-‘प्रकृतिलाई विज्ञानले त जितेकै छैन, प्रकृतिले के गर्छ भन्नेलाई छाडेर कृत्रिम चिजलाई नियन्त्रण गर्नुपर्छ । कृत्रिम चिज भनेको भवन, पुल, रोडहरु हुन् ।’
भूकम्प जहिले पनि आउन सक्ने भन्दै उनले कसरी सुरक्षित रहने भन्नेमा ध्यान दिनुपर्ने बताए । उनले अघि भने-‘यहाँ अर्को भूकम्प आउँछ कि आउँदै भन्ने प्रश्नै छैन । कहिले आउने भन्ने मात्र हो, त्यो आएको खण्डमा कसरी सुरक्षित रहने भनेर तयारी गर्ने हो ।’
No comments :
Post a Comment