25 January 2015

भारतीय राजदूतको प्रस्ताव ओलीले मानेनन्

Kp-oli-with-ranjit-reyकाठमाडौ, ११ माघ । संविधान लेखनमा देखिएको अल्झन बढिरहँदा एकाएक सक्रिय भएका भारतीय राजदूत रञ्जित रेको प्रस्तावलाई नेकपा एमालेका अध्यक्ष केपी ओलीले अस्वीकार गरेका छन् ।
शनिबार राति बालकोटस्थित आफ्नै निवासमा आइपुगेका भारतीय राजदूत रेलाई एमाले अध्यक्ष ओलीले कसैको दबाव नमान्ने भन्दै फिर्ता पठाइदिएका हुन् । सहमतिका लागि केही दिन संविधानसभाको बैठक रोकेर प्रयास गर्न भारतीय राजदूतले ओलीलाई सुझाव दिएका थिए । तर, आफूहरु संविधानसभाको प्रक्रिया अघि
बढाउने पक्षमा रहेको जवाफ दिएर राजदूतलाई फिर्ता पठाइएको ओली निकट स्रोतले बताएको छ ।
भारतीय राजदूतले संविधानसभाको प्रक्रिया अवरुद्ध हुञ्जेल विपक्षीसँग वार्ता नै नगर्ने सत्तापक्षको निर्णय र विपक्षीको रणनीतिबारे ओलीसँग छलफल गरेका थिए । एमाओवादीले गरेको राम्रो नभए पनि एमाले र काँग्रेसले मुलुकमा द्धन्द बढाउनु उपयूक्त नहुने तर्क गर्दै राजदूत रेले एकदुई साता बैठक रोकेर भए पनि सहमतिमा जान सुझाव दिएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि यही चाहना रहेको राजदूत रेको भनाइ थियो । तर, एमाले अध्यक्ष ओलीले यसअघि देखि नै नेपाली जनता बाहेक कसैको आदेश नमान्ने बताउँदै आएका छन् ।
यसअघि सार्क सम्मेलनमा नेपाल आएका बेला पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहमतिका आधारमा संविधान बनाउन सत्तापक्षलाई दबाव दिएका थिए । काँग्रेस र एमाले लगायतका दलहरु मोदीको सो भनाइबाट चिढिएका छन् ।
भारतीय राजदूत रेले प्रधानमन्त्री सुशील कोइरालालाई समेत टेलिफोन गरी सहमतिमा संविधान निर्माणलाई अघि बढाउन सुझाव दिएको स्रोतले बतायो ।
भौतिक योजना मन्त्री विमलेन्द्र निधिका अनुसार, भारतीय राजदुतले केही समयका लागि संविधानसभा बैठक स्थगित गरेर भए पनि सहमतिमै अघि बढ्न सुझाव दिएको स्वीकारेका छन् ।
प्रक्रिया वा सहमतिमा संविधान जारी गर्ने भन्नेमा दलहरुबीच बिवाद कायमै रहेको बेला भारतीय राजदुत रञ्जित रेले आफ्नो सक्रियता बढाएका छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशन अनुसार नै राजदूत रे सक्रिय भएको स्रोतले बतायो ।

No comments :

Post a Comment