01 December 2014

कण्डम छाडेर औषधी खाँदा एड्सको संक्रमण बढ्यो

१५ मंसिर, गोरखा
कन्डम प्रयोग गर्न छाडेर गर्भनिरोधक औषधि खाने क्रम बढेपछि जिल्लामा एचआईभी संक्रमणको जोखिम बढेको छ। औषधिले गर्भ बस्न रोके पनि एचआईभी र यौनजन्य रोग सर्नबाट रोक्दैन। स्वास्थ्यका लागि खतरा र आर्थिक रूपमा खर्चिलो हुने गर्भनिरोधक औषधि सेवन निरुत्साहित गर्नुपर्ने स्वास्थ्यकर्मी बताउँछन्।


अहिले गोरखामा एक सय ५३ एचआईभी संक्रमित छन्। औषधि सेवन गरेर गर्भ बस्न नदिने र कन्डमबिना यौनसम्पर्क राख्दा यो संख्या बढ्ने देखिन्छ। औषधि व्यवसायीका अनुसार अविवाहित किशोरकिशोरीले गर्भनिरोधक औषधि बढी किन्ने गरेका छन् । इकोन, आइपिल, अनवान्टेड, ई ७२, म्याक्स ७२, एमटीपी, प्रिग्नो, एमटिपिल्सलगायत गर्भनिरोधक औषधि किन्नेको संख्या ५० प्रतिशत बढेको औषधि व्यवसायीको भनाइ रहेको अन्नपूर्ण पोस्टमा खबर छ।

हरमटारीका औषधि व्यवसायी श्रवण जोशी भन्छन्, ‘कन्डम छाडेर औषधि किन्नेको संख्या ५० प्रतिशत बढेको छ। कहिले त इकोन किन्न एकाबिहानै ढोका ढक्ढक्याउन आउँछन्। विशेषगरी अविवाहित यस्तो औषधि किन्न आउँछन्।’

आफूले गर्भनिरोधक औषधिको सट्टा यौनसम्पर्क राख्दा कन्डम प्रयोग गर्न सम्झाउने गरेको उनले बताए। कन्डमभन्दा औषधि किन्न र प्रयोग गर्न तथा फ्याँक्न सजिलो हुने भएकाले यसतर्फ आकर्षण बढेको उनी बताउँछन।

गोरखाबजारमा रहेका १० वटा औषधि पसलको तथ्यांकअनुसार दैनिक ८० जनाभन्दा बढीले गर्भनिरोधक औषधि किन्छन्। होटेल, पार्क, आर्मी ब्यारेकनजिकका औषधिपसलबाट यस्तो औषधि बढी बिक्री हुन्छ।

प्रवेशिका परीक्षा तथा क्याम्पसमा परीक्षा चलेका बेला सदरमुकाममा यस्ता औषधिको व्यापार बढ्ने गरेको औषधि व्यवसायीको अनुभव छ। गर्भनिरोधक भनेर सेवन गरिने औषधि व्यवस्था विभागमा दर्ता नभएका कतिपय औषधि पनि छन्।

खाने औषधि प्रयोग जोखिमपूर्ण हुनसक्ने गोरखा अस्पतालका स्वास्थ्यकर्मी कृष्ण ढकाल बताउँछन्। उनी भन्छन्, ‘औषधि सेवनले एचआईभी तथा अन्य यौनरोग सर्नबाट रोक्न सक्दैन, बाँझोपनको समस्या पनि आउन सक्छ।’ औषधि कन्डमभन्दा महँगो हुन्छ।


No comments :

Post a Comment