29 November 2014

अख्तियारले प्रमाणपत्र मागेपछि प्युठानका १२ शिक्षकले दिए सामूहिक राजीनामा

१३ मंसिर २०७१, प्युठान–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लामा कार्यरत शिक्षकहरुको प्रमाणपत्र मागेपछि प्युठानका १२ जना शिक्षकले एकैपटक राजीनामा दिएका छन्। अख्तियारले असोजमा पत्र लेखी सबै शिक्षकको शैक्षिक प्रमाणपत्र, सुरुको नियुक्ति, हालको नियुक्ति, अध्ययन अनुमतिपत्र, तालिमको प्रमाणपत्र, बढुवा प्रमाणपत्रलगायतका कागजपत्रको प्रतिलिपि यथाशीघ्र उपलब्ध गराउन निर्देशन दिएको थियो। अख्तियारको निर्देशनपछि प्राविका ११ र माविका १ जना शिक्षकले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालयका विद्यालय प्रशासकीय प्रमुख वासु खनालले जनाए। 'अख्तियारको निर्देशनपछि १२ जनाको राजीनामा आयो।’ प्रशासकीय प्रमुख खनालले भने, 'सबै राजीनामा दिनेहरुमाथि सूक्ष्म अध्ययन तथा छानबिन सुरु भएको छ।' 
विभिन्न विद्यालयमा अध्यापन गराउने शिक्षकको प्रमाणपत्र नक्कली भएको आशङ्कामा अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेतले शिक्षा कार्यालयलाई प्रमाणपत्र रुजु गर्न र छानबिन गर्न भन्दै निर्देशन दिएको थियो। जिल्ला शिक्षा कार्यालयले स्रोत केन्द्रहरुमा रुजु कार्य गरी रहेको भन्दै यथाशीघ्र प्रमाणपत्रहरु अख्तियारमा पठाउने जानकारी दिएको छ। रासस

No comments :

Post a Comment