29 November 2014

एउटा गाउँ, जहाँ १० वर्षदेखि एउटा पनि बालमृत्यु छैन

10749986_312915455584048_4046770816296563800_o१३ मंसिर २०७१, बैतडी– बैतडीको दुर्गास्थान गाविसमा बालबालिकाका दुईवटा मसानघाट छन् । जन्मेदेखि ११ दिनभन्दा पहिले मरेका बालबालिकाको दाहसंस्कार गर्ने एउटा र ११ दिनभन्दा माथिदेखि ब्रतबन्ध भइनसकेको बालबालिकाको दाहसंस्कार गरिने अर्को मसानघाट । तर, दुवै मसानघाटमा १० वर्ष यता कुनै पनि गतिविधि देखिएका छैनन्  । अर्थात्, १० वर्षयता यस गाउँमा कुनै पनि बालबालिकाको मृत्यु भएको छैन ।

स्वास्थ्यमा आएको सकारात्मक परिवर्तनले यो परिवर्तन देखिएको हो ।
१० वर्षअघि भने दुर्गास्थान क्षेत्रका ३ वटा गाउँमा दैनिक एक वा दुई बालबालिकाले
ज्यान गुमाउने गर्थे । त्यसमा मुख्य कारण हुन्थ्यो, झाडापखाला र असुरक्षित प्रसूति । धेरै बालबालिकाले अकालमै ज्यान गुमाउने हुन थालेपछि धेरै आमाबाबु सन्तानविहीन भए भने  बालबालिका मर्ने डरले १० भन्दापनि धेरै सन्तान जन्माउने पनि भए । केही अभिभावक सन्न्यासी जीवन बिताउँन जंगलतिर हिँडे ।

तर बिस्तारै स्वास्थ्य खुल्ने क्रम बढेसंगै यस क्षेत्रमा पनि स्वास्थ्यसंबन्धी सकारात्मक चेतना फैलियो र मृत्युदर घट्यो । गाउँलेको त्यो दुखद क्षणमा मलम लगाउन आएका देबबहादुर चन्द (अवकासप्राप्त) र मातृ शिशु कार्यकर्ता सावित्री बडुलाई अहिले पनि स्थानीयले सम्झिइरहन्छन् ।
‘पहिले जनचेतनाको कमी थियो’, स्थानीय गणेश बडु सम्झन्छन्, ‘झाडापखाला लाग्दा बिरामीले पानी–पानी भनेर कराउँथे, तर, पानी दिईदैनथ्यो, पानी खुवाउनपर्छ भनेर पनि चन्दले नै सिकाए’
देबबहादुर अहिले अवकाश प्राप्त जीवन बिताइरहेका छन् । तर पनि बालबालीकालाई जिवन दिने त्यतिबेलाका दुर्गास्थान उपस्वास्थ्य चौकीका प्रमुख एवम् ग्रमीण स्वास्थ्य कार्यकर्ता उनलाई स्थानीयले विर्सिएका छैनन् ।

रुढीबादि परम्पराले ग्रसीत त्यो समाजमा त्यतिवेला महिला भएर पनि दिनरात स्थानियको स्वास्थ्य सेवामा लागिरहने उपस्वास्थ्य चाकिका सावित्रि बडुको पनि उल्लेखनिय भुमिका रहेको स्थानिय भानबहादुर बोहराको भनाई छ ।
एकमात्र छोरा १५ वर्षकै उमेरमा गुमाइन् हरु बडुले । आँसु झार्दै उनले भनिन्, ‘पहिले नै स्वास्थ्य संस्था बनेको भए त सायद म पनि सहाराविहीन हुने थिईनँ, मेरो छोरापनि अहिले मेरै सामु हुन्थ्यो’
२०३६ सालमा नेपाल सरकारबाट ग्रामिण स्वास्थ्य कार्यकर्ताको नियुक्ति पाएर दुर्गास्थान पुगेका देबबहादुरका अनुसार पहिले बालबालिकाको स्याहारसुहार, असुरक्षित प्रसूतिका कारण व्यथा लाग्ने र झाडापखालालगायतका कारणले दैनिकजसो एक बालबालिकाको मृत्यु हुने गथ्र्यो ।
यसै महिनाबाट अनिवार्य अवकास पाएपनि आफूले उपस्वास्थ्य चौकी दुर्गास्थानमा काम गर्दा स्थानीय जनताको सेवा गर्न पाएकाले खुसी रहेको चन्दले बताए । ‘पहिले खोप लगाउँदा पनि धेरै सम्झाईबुझाई गर्नुपथ्र्यो, बालबालिका मान्दैनथे अरुभन्दा पनि खोपसम्बन्धि जनचेतना फैलाउन बडो मुस्कील भयो’ उनले विगत सम्झदैं भने । आफूले अवकास पाएपनि दुर्गास्थान स्वास्थ्य चौकी र समग्र नेपालको स्वास्थ क्षेत्रमा प्रगति भएको हेर्ने इच्छा छ उनको ।
जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थी पहिले सामान्य झाडापखाला, टाईफाईड,  आउँ, हैजाजस्ता रोगका कारण पनि मानिसको मृत्यु हुने गरेकोमा अहिले धेरैजसो रोगविरुद्ध खोप, औषधिको सुलभता, स्वास्थ्य सन्देशको चेतना र सुरक्षित प्रसूतिजस्ता कारणले मातृ तथा बाल मृत्युदर घटेको बताउछन् ।
अहिले दुर्गास्थान स्वास्थ्य चौकीमा १ सय ३ बालबालिकाले खोप लगाईरहेका  र प्रसूति गराउनपनि सबै गर्भवति महिला स्वास्थ्य चौकीमा आउने गरेको स्वास्थ्य चौकीका प्रमुख राजबहादुर चन्दले बताए ।

No comments :

Post a Comment