01 December 2015

भारतीय प्रहरीले खेदायो मधेसीलाई

१ डिसेम्बर २०१५, नेपालगन्ज: नेपालगन्जको रुपैडियास्थित जमुनाहा नाका अवरोध गर्न टेन्ट गाडेर बसेका मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले हटाएपछि भारततर्फबाट प्रहरीमाथि ढुंगा र पेट्रोल बम प्रहार भएको छ।
 
मोर्चाको आक्रमणमा परी एकजना प्रहरी घाइते भएका छन् भने प्रहरीको प्रतिकारमा केही आन्दोलनकारी घाइते भएका छन्। भारतीय भूमि प्रयोग गरी नेपालतर्फ निरन्तर ढुंगा प्रहार गरेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले माइकिङ गर्दै मोर्चाका कार्यकर्तालाई ठाउँ छोड्न भनेको थियो। त्यसपछि जमुनाहा नाका खुला भएको छ।
 
मोर्चाका कार्यकर्ताले भारतीय भूमिमा गएर ढुंगा हानेको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी निरीक्षक विष्णु गिरीले बताए। राति अबेरसम्म प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएको थियो।नेपालगन्ज-रुपैडिया नाकामा मधेसी मोर्चाले अवरोध कडा बनाउने भन्दै सोमबार दसगजामा टेन्ट टाँगेर धर्ना दिएको थियो। 
 
संयुक्त मधेसी मोर्चा नेपालगन्जले नाका र राजमार्ग केन्द्रित आन्दोलन सशक्त बनाउने निर्णय गरेको छ। संघीय समाजवादी फोरम नेपालका नेता कमरुदिन राईले मोर्चाका माग तत्काल सम्बोधन नभए नाका र राजमार्ग ठप्प पार्ने चेतावनी दिए।धर्नाका कारण २३ वटा इन्धनका ट्यांकसहित दुई सयभन्दा बढी मालवाहक गाडी सीमापारि रोकिएका छन्।
 
इन्धन भर्न गएका ३० वटा ट्यांकरसहित ६० भन्दा बढी गाडी नेपालतिर रोकिएको जमुनाहाका प्रहरी सहायक निरीक्षक हरिबहादुर थापाले बताए।

No comments :

Post a Comment