06 September 2015

डा.केसीको अनसन त तोडियो, उनको सपना नतोडियोस

६ सेप्टेम्बर २०१५, काठमाण्डौ- डा. गोविन्द केसीले अनसन तोडेका छन् । सरकारसँग ११ बुँदे सम्झौता भएपछि डा. केसीले १४ औं दिनको दिन आज अनसन तोडेका हुन् । उनलाई माथिल्लो डोल्पाबासी फुर्वा डोल्फु र १८ महिनाकी बालिका सुवानी उप्रेतीले जुस खुवाएका हुन् ।
शिक्षण अस्पताल परिसरमा दुई जनाले डा. केसीलाई जुस खुवाएका हुन् । हिजो सरकारसँग सहमति भए पनि केसीले एक दिन राष्ट्रको लागि उपबास बस्ने भन्दै आज अनसन तोडेका हुन् ।

चिकित्सा शिक्षा र सेवासँग सम्बन्धित उस्तैखाले माग राख्दै डा.केसी यसअघि ५ पटकसम्म आमरण अनशन बसिसकेका छन् ।
सरकार र डा. केसीबीच माथेमा प्रतिवेदनको सुझावअनुसार मन्त्रिपरिषद्को पहिलो बैठकबाट चिकित्सा शिक्षा आयोग गठन गर्ने सहमति भएको छ । चिकित्सा शिक्षा नीतिसम्बन्धी गरिएका निर्णयको सहजीकरण र अनुगमन पनि यही आयोगले गर्नेछ।
चिकित्सा शिक्षासम्बन्धी नीति तयार पारी मस्यौदा बनाएर तीन महिनाभित्र संसद्मा पेस गर्ने सहमतिपत्रमा उल्लेख छ। सहमतिअनुसार उपत्यकाभित्र मेडिकल, डेन्टल र नर्सिङका लागि मनशायपत्र नवीकरण गरिने छैन। एमबीबीएसमा अधिकतम वार्षिक सिट निर्धारण गरिनेछ ।
यसअन्तर्गत पहिलो वर्ष एक सय ३५, दोस्रो वर्ष एक सय १५ र तेस्रो वर्ष सय सिट संख्या तय गरिएको छ।एमबीबीएसको शुल्क पनि अधिकतम ३५ लाख रुपैयाँ तोक्ने सहमति छ। विश्वविद्यालय र चिकित्सासम्बन्धी विभिन्न निकायमा गरिने नियुक्तिका सम्बन्धमा प्रचलित अन्तर्राष्ट्रिय मापदण्डबमोजिम शिक्षा र स्वास्थ्य मन्त्रालयले कानुनी व्यवस्था गर्ने र सरकारी शिक्षण संस्थामा स्नातकोत्तर (एमडी) नि:शुल्क गर्ने कार्य अन्तिम चरणमा पुगेकाले तत्काल नि:शुल्क गर्दै समयमै शैक्षिक सत्र सुरु गर्न संस्थानहरूलाई पत्राचार गर्ने सहमति छ। यसैगरी, जानकी मेडिकल कलेजका विद्यार्थीलाई तत्काल सम्बन्धित निकायले व्यवस्थापन गर्ने र सञ्चालकलाई कानुनबमोजिम कारबाही गरिनेछ।
स्नातक तह (एमबीबीएस) मा न्यूनतम ५० प्रतिशत सिट नि:शुल्क वा पूर्ण छात्रवृत्तिमा हुने र संख्या क्रमश: ७५ प्रतिशत पुर्‍याउने सम्झौतापत्रमा उल्लेख छ।
डा. केसीसंग संझौता हुनासाथ नीजी मेडिकल कलेजका संचालकहरुले आन्दोलनको घोषणा गरेका छन । यससगै कतै सरकारले नीजि मेडिकल कलेजका संचालकसँग घुडा टेकेर यस सम्झौताको बिपरीत अर्को सम्झौता गर्ने त्रास बढेको छ ।

No comments :

Post a Comment