13 May 2015

सिन्धुपाल्चोकमा नेपाल-चीन नाकाको बिसाल पहाड खस्न लागेपछी स्थानीयले सो ठाउ छाडे

China-प्रतिमा बास्कोटा 
लिपिङ (सिन्धुपाल्चोक), वैशाख ३० - भूकम्पका कारण विभिन्न स्थानमा पहिरो जाँदा तिब्बतसँग सीमावर्ती लिपिङ बजार सुनसान भएको छ। पहिरोको जोखिमले स्थानीयवासीलगायत सबैजसो मानिस राजधानी पसेका छन्।
वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि आएको पहिरोले तातोपानी गाविसका ४० जनाको ज्यान गएको छ। सोमबार लिपिङ बजारका दुई पसल मात्र खुला थिए। ‘हामी पनि यो सामान काठमाडौं लैजान मात्र बसेको हो,’ पसल खोलेर बसेकी हीरादेवी श्रेष्ठले भनिन्, ‘यहाँ बस्न नसक्ने भएपछि सबै सामान साहुलाई जिम्मा लगाउन लागेका छौं।’
झन्डै डेढ किलोमिटर क्षेत्रफलको बजारमा हीरादेवी र उनका भान्जा लक्ष्मीमान श्रेष्ठको पसल मात्र खुला थियो। बजार ठूला–ठूला पहाडले घेरिएको भोटेकोसी नदीकिनारमा छ।
सर्वसाधारण वस्तुभाउहरू गोठमै छाडेर हिँडेका छन्। घरबाहिर बाँधेर राखिएका चौपाया खान नपाएर मर्न लागेको लक्ष्मीमानले बताए। ‘सबथोक माया मारेर सबै गइसके,’ उनले भने, ‘बाँचियो भने खानुपर्छ भनेर हामीचाहिँ सामान फिर्ता लैजान लागेका छांै।’
बाह्रबिसे, कोदारी, तातोपानीदेखि लिपिङसम्मै गएको पहिरो ७ दिनपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सडक विभाग र चिनियाँ टोलीले खुलाएका थिए। सडक मार्ग खुलेलगत्तै सर्वसाधारण सुरक्षित स्थलतर्फ सर्न थालेका हुन्।
स्थानीयले पालेका दुई कुकुर लगिदिन लक्ष्मीमानले प्रहरीलाई अनुरोध गरे। ‘सबैले यिनीहरूलाई छाडेर गए, हामी पनि जान्छौं, भोकले या पहिरोमा परेर मर्छन्,’ उनले भने, ‘प्रहरीले लगिदिए मर्दैन थिए।’ पहिरोले घर भत्काएका केही व्यक्ति तातोपानीभन्दा ४ किलोमिटर तल चौकीडाँडामा पाल टाँगेर बसेका छन्। भिरको बीचमा भए पनि यो स्थान लिपिङभन्दा केही सुरक्षित छ। तर, उनीहरूले केही राहत पाएका छैनन्।
निरीक्षणका लागि पुगेका नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग उनीहरूले राहत मागेका थिए। ‘पहिरोले घरसँगै अन्नपात, वस्तुभाउ सबै पुर्‍यो,’ स्थानीय पासाङ छिरिङ शेर्पाले भने, ‘बालबच्चाहरू पाल्नै गाह्रो भयो।’ पहिरो र भूकम्पको चेपमा परेको घरबाट खाद्यान्न झिक्ने अवस्था नरहेको उनले बताए। माथिबाट अहिले पनि निरन्तर पहिरो झरिरहेका कारण त्यहाँ जान कठिनाई भएको उनले बताए।
त्यहाँ सरकारी कार्यालय पनि बन्द छन्। चिनियाँ पर्यटक भित्रिने मुख्य मार्गमा पर्ने अध्यागमन कार्यालय, भन्सार कार्यालयलगायतमा कार्यरत सरकारी कर्मचारी कार्यालय बन्द गरेर हिँडेका छन्। त्यहाँ दुई–चार स्थानीयबाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका कर्मचारी मात्र छन्। चारवटा बैंकले समेत पहिरोको जोखिमका कारण नगद र अन्य सामानहरू अन्यत्र सारिसके। बैंक अफ काठमाण्डूका केही सामान कुर्न बसेका सुरक्षागार्ड कृष्णराम भण्डारीसमेत मंगलबार राजधानी फर्किने सुरसार गर्दै थिए। ‘भूकम्पपछि यो बजार त मसानघाट जस्तै भएको छ,’ उनले भने, ‘सबै डराएर बसाइ सरेझैं हिँडिसके।’ उनीसँगै ग्लोबल आईएमई र बंगलादेश बैंकका सुरक्षाकर्मीसमेत थिए। उनीहरू पनि बैंकले नगद लगिसकेकाले बाँकी सामान अन्त सार्नेबित्तिकै हिँड्ने योजनामा छन्। ‘अहिले पनि माथिबाट ढुंगा झरिरहेको छ,’ बंगलादेश
बैंकका सुरक्षागार्ड भक्तपुरका गोकुल खत्रीले भने, ‘सबैलाई ज्यानको माया उत्तिकै छ।’
नेपाल र चीनको सीमा छुट्याउने मितेरी पुलमाथिको भिर ७२ दिनभित्र खस्ने चिनियाँ अधिकारीहरूको सर्वेले देखाएको छ। सोमबार बिहान सर्वे गर्न आएको चिनियाँ विशेषज्ञको टोलीले भिरका धेरै स्थान चिरा परेको भन्दै पहिरो जानसक्ने बताए। भिर झरेको खण्डमा लिपिङ र पुलपारिको खासा बजारमा असर पर्नेछ। आन्तरिक र बाह्य पर्यटक लक्षित गरेर खोलिएका करिब एक दर्जन होटेल बन्द छन्। शनिबारका दिन त्यो स्थानमा अन्य समयमा भन्दा बढी पर्यटकको भीडभाड हुने गर्थ्यो। सडककिनारमा रोकेर राखिएका ५० भन्दा बढी सवारीसाधन कच्याककुचुक भएका छन्।
सीमा सुरक्षा कार्यालय कोदारीका प्रहरी नायब निरीक्षक सुरेन्द्र अधिकारीले कोदारीदेखि ७ किलोमिटर टाढा मितेरी पुलसम्मका दर्जनभन्दा बढी स्थानमा पहिरो गएको बताए। ‘सानो–ठूलो गरेर त्यो दिनदेखि पहिरो गएको हो,’ उनले भने, ‘वर्षायामा अझ बढी खतरा हुन्छ।’ प्रहरीचौकी पनि भूकम्पको सिकार बन्यो। चौकीप्रमुख प्रहरी निरीक्षक केशवबहादुर शाही घर भत्किएर घाइते भए। चार दिनपछि नेपाली सेनाको हेलिकप्टरले उनलाई उद्धार गरेको थियो। प्रहरी हवल्दार शमशेर नेपालीको ज्यान गयो। चौकी भत्किएपछि प्रहरीहरू नयाँ बनिरहेको बन्दगाहको भवनमा दुईवटा कोठा लिएर बसेका छन्। ‘चारैतिरका
भिरहरू एकतमासले हल्लिँदा सबै अत्तालियौं,’ अधिकारीले सुनाए, ‘ज्यान कसरी जोगाउने भन्ने भएको थियो।’
लिपिङ नाका पुरानै अवस्थामा फर्किन समय लाग्ने प्रहरीको भनाइ छ। ‘पानी पर्ने मौसम सु भएका कारण ६/७ महिना नखुल्ने निश्चितै छ,’ अधिकारीले भने, ‘त्यसपछि के हुन्छ कसैलाई थाहा छैन।’

No comments :

Post a Comment