23 January 2015

डिभिजन-१ को छिनोफानो आज

letterकाठमाडौ, माघ ९ - नेपाल प्रथम श्रेणीको मान्यता पाएको अन्तरमहादेशीय चार दिवसीय खेलभन्दा एकले मात्र पछाडि छ । विश्व क्रिकेट लिग डिभिजन-२ को केन्यासँगको अन्तिम खेलले यसको निक्र्यौल गर्नेछ । आफूअनुकूल नतिजा निकाले नेपालले दशकपछि प्रथम श्रेणीको मान्यता पाएको खेलमा खेल्नेछ ।
जितले नेपाललाई सीधै डिभिजन-१ मा पुर्‍याउनेछ । योसँगै नेपाल अन्तरमहादेशीय कप र विश्व क्रिकेट च्याम्पियनसिपमा जोडिनेछ । त्यसको विपरीत नेपालसँगको हारले केन्यालाई रेलिगेसनमा पनि पुर्‍याउन सक्छ । त्यसैले नेपालको ढुक्क हुने स्थिति छैन । घरेलु टिम नेपाल र नामिबियाले ४ खेलमा समान ३ जित हात पारी पहिलो दुई स्थानमा छन् ।
 क्यानडा र नेदरल्यान्ड्स २-२ खेल जितेर तेस्रो र चौथो स्थानमा छन् । केन्या र युगान्डा १-१ खेलमात्र जितेर पुछारमा छन्
। शीर्ष २ टोली फाइनल पुग्दै डिभिजन-१ मा उक्लनेछन् । ठूलो पराजयबाट बच्न सके पनि नेपाललाई डिभिजन-१ मा उकाल्न सक्छ । नेदरल्यान्ड्सको कमजोर मानिएको युगान्डासँग अन्तिम खेल बाँकी रहेकाले नेपाल ढुक्क हुने अवस्था छैन ।
'हामी ढुक्क हुने स्थितिमा छैनौं,' दसानायकेले विन्डहोकबाट कान्तिपुरसँग भने, 'केन्या अनुभवी टिम हो । उनीहरूसँग केही यस्ता खेलाडी छन् जसले आफ्नो खेलमा कुनै पनि विपक्षीलाई स्तब्ध बनाउन सक्छन् । हामीले आफ्नो आधारभूत पक्षमा केन्दि्रत भई पछिल्ला तीन खेलमा जस्तो प्रदर्शन दोहोर्‍याउन सक्नुपर्छ ।'
नेपाल ढुक्क हुन नसकेको एउटा कारण ओपनिङ ब्याटिङका कारण पनि हो । सुवास खकुरेलले युगान्डाविरुद्ध बनाएको ३२ रन नेपाली ओपनिङ ब्याट्सम्यानको उच्च स्कोर हो । सुवास आफंैले ४ खेलमा ५१ रनमात्र बनाउन सकेका छन् । पहिलो तीन खेलमा नरेश बुढाऐर उनका ओपनिङ जोडी थिए । ३ खेलमा १७ रनमात्र बनाउन सकेका नरेशलाई नामिबियासँगको अघिल्लो खेलमा 'ड्रप' गरिएको थियो ।
उनको स्थानमा सागर पुनलाई सुवासको जोडी बनाइएको थियो । विगतमा सुवासको ओपनिङ जोडी रहेका सागर नामिबियासँग ७ रनमै आउट भएका थिए । सागर मध्यपंक्तिमा पनि चल्न नसकेको र बलिङमा पनि प्रभावकारी हुन नसक्दा प्रशिक्षक दसानायकेको चिन्ता बढेको छ । केन्यासँगको निणर्ायक खेलमा कसलाई उतार्ने भनेर उनी निश्चित हुन सकेका छैनन् ।
तीव्र बलरको प्रदर्शनबाट भने उत्साहित छन् । नेपालले प्रतियोगितामा लिएको ४० विकेटमध्ये २२ तीव्र तथा मध्यम गतिका बलरले लिएका छन् । त्यसमा ओपनिङ बलर सोमपाल कामी र करण केसीको नाममा ८-८ विकेट छ । 'स्तरीय तीव्र बलर र आकर्षक स्पिनरका कारण हाम्रो बलिङ उत्कृष्ट लयमा छ । ब्याट्सम्यानले गरेको गल्ती हाम्रा बलरको प्रदर्शनले पूर्ति हुने गरेको छ,' दसानायकेले भने, 'तर केन्यासँग हामीले ओपनिङ जोडीको समस्या किनारा लगाउनु छ ।'
नेपाल विश्व क्रिकेटमा माथि उठिरहँदा केन्याको क्रिकेट निरन्तर ओरालो लाग्दो छ । केन्याले सन् १९९६ देखि २०११ सम्म लगातार ५ विश्वकप खेलेको थियो । २००३ मा टिम सेमिफाइनलसम्म पुगेको थियो । कप्तान पारस खड्का केन्यालाई कमजोर मान्न नहुने बताउँछन् । पछिल्लो दुई खेलमा अर्धशतक बनाउँदै 'म्यान अफ द म्याच' चुनिएका पारसले भने, 'अझै एक खेल खेल्न बाँकी छ, हामीले त्यसमा राम्रो खेल्नुपर्नेछ । हामीले नै खेल अगाडि बढाउनुपर्ने हुन्छ । हामीलाई केही सजिलो हुन्न,' पारसले भने, 'हाम्रो लक्ष्य डिभिजन-१ मा पुग्नु हो र हामीले त्यो लक्ष्य पूरा गर्नुपर्छ ।'
केन्यासँग ५० ओभरमा नेपालको पहिलो आधिकारिक खेल हुनेछ । गत वर्ष न्युजिल्यान्डको विश्वकप छनोटको अभ्यास खेलमा केन्याले नेपालमाथि १ विकेटको जित हात पारेको थियो । घाइते खेलाडीद्वय सुवास खकुरेल र कप्तान पारस खड्काबिना उत्रेको नेपालले ओपनर अनिल मण्डलको ६२ रन सहयोगमा ८ विकेट गुमाई २ सय ६५ रन बनाएको थियो । सोमपाल कामीले ९ ओभर ५ बलमा ८६ रन खर्चेको खेलमा केन्याले १ बल अगाडि २ सय ६९ रन बनाएको थियो ।
ट्वान्टी-ट्वान्टी विश्वकप छनोटमा भने नेपालले केन्यालाई पराजित गर्दै आएको छ । सन् २०१३ मा शरदले अन्तिम ओभरमा २० रन प्रहार गर्दै नेपाललाई ६ विकेटको जित दिलाएका थिए । यही जितले नेपाललाई विश्वकपमा पुर्‍याउन ठूलो भूमिका खेल्यो । उक्त खेलमा नेपालले १ सय ८६ रनको लक्ष्य पूरा गरेको थियो ।
सन् २०१२ को ट्वान्टी-ट्वान्टी विश्वकप छनोटमा पनि नेपालले केन्यामाथि सातौं स्थानको प्लेअफमा ५ विकेटको जित हात पारेको थियो । नेपाल जस्तो टिमसँग पनि हार्न लागेकाले केन्याको पतन सुरु भएको एक स्थानीय अखबारले आलोचनासहित लेखेको थियो । शुक्रबार नेपालसँग हारे केन्या क्रिकेट पतनको पुष्टि हुनेछ ।

No comments :

Post a Comment