15 May 2015

काठमाण्डौको कुन-कुन ठाँउमा बस्दै बस्न हुन्न, थाहा पाइराख्नुहोस

काठमाडौं । हालै मुलुकमा गइरहेका भूकम्पले धेरै जनधनको क्षतिसँगै मान्छेहरुमा त्रास छाइरहेका बेला विज्ञहरुले राजधानीका केही ठाउँ मानवबस्तीका लागि जोखिमपूर्ण रहेको बताएका छन् । बिभिन्न अध्ययन र हालै गइरहेका भूकम्पले पुर्याएको क्षतिपछि उनीहरुले काठमाडौं, ललितपुर र भक्तपुरका माटो पुरेर बसाइएको बस्ती लगायतका स्थानलाई जोखिमपूर्ण क्षेत्रका रुपमा औल्याएका हुन् ।
विपत व्यवस्थापन सम्बन्धी सभासद्हरुको अनौपचारिक फोरमले बिहीबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा भूगर्भविद तथा भूकम्प इन्जिनियरिङका अध्ययताहरुले यस्तो औंल्याएका हुन् । उनीहरुका अनुसार काठमाडौं उपत्यका पहिले ताल भएकाले यहाँको माटो निकै कमजोर रहेको हुँदा जोखिमबेसी छ ।
‘केही हजार वर्षअघि काठमाडौं ताल रहेको र ताल कटाएर बनाएको शहर भएकाले यहाँको माटो कमलो र कतिपय ठाउँमा बाक्लो छ,’ भूगर्भविद डा.रन्जन दाहालले भने, ‘त्यसैले ठाउँ अनुसार काठमाडौं उपत्यकामा क्षति कम र बढि हुन्छ ।’
माटोकै कारण काठमाडौंको नैकाप, रामकोट लगायतका क्षेत्रमा बढि क्षति भएको भन्दै उनले जग्गा प्लटिङका नाममा काटेर पुरिएको घडेरीमा बनाइएका घर झनै उच्च जोखिममा हुने दावी गरे ।
दाहालको भनाइमा सहमत हुँदै भूकम्प इन्जिनियरिङक विज्ञ प्राध्यापक डा. प्रेमनाथ मास्केले काठमाडौंको धापासी, गोंगबु, रामकोट, सितापाइला, ललितपूरका इमाडोल, धापाखेल तथा भक्तपूरका कौशलटार, सिपाडोलजस्ता ठाउँमा भूकम्पको बढि जोखिम रहने अध्ययनले पनि देखाएको जानकारी गराए । माटोको कारण नै असन जोगिएको बताएका उनीहरुले धेरै माटो भएका ठाउँमा अग्ला घरहरु धैरै भत्किएको र साना घर जोगिएका कारण असनमा केही नभएको दावी गरे ।
भूकम्प जानुभन्दा एक साता अघि मात्रै गठन भएको फोरमको विपत व्यवस्थापनमै विद्यावारिधी गरिरहेका एमाले सभासद गंगालाल तुलाधरको संयोजकत्वमा सबै दलका सभासदहरु सदस्य छन् ।

No comments :

Post a Comment