28 May 2015

ओलीलार्इ प्रधानमन्त्री बनाउन प्रचण्डको प्रस्ताव

प्रमुख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एक महिनाभित्र फास्ट ट्र्याकबाट संविधान जारी गर्ने सर्तमा प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारलाई राष्ट्रिय स्वरूप दिने र संविधान घोषणा भएको एक महिनापछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने विक ल्प प्रस्तुत गरेका छन्। कोइराला नेतृत्वमा संविधान जारी गर्ने र ओली नेतृत्वको राष्ट्रिय सरकारले राष्ट्रिय विपद् व्यवस्थापन योजना कार्यान्वयन गराउने प्रस्ताव दाहालले अघि सारेका हुन्।
 
आफ्नै नेतृत्वको सरकारलाई राष्ट्रिय स्वरूप दिलाउने कोइरालाको चाहना र आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न चाहने ओलीको दाबी बुझेपछि दाहालले यस्तो विक ल्प अघि सारेका हुन्। 
 
कांग्रेस र एमालेका शीर्ष नेतासमक्ष प्रस्तुत यो विकल्पमा सहमति भए आफूहरू पनि कोइराला नेतृत्वकै सरकारमा सहभागी हुन तयार रहेको जनाउ पनि दाहालले दिएका छन्। 
 
'एक महिनाभित्र संविधान जारी गर्ने र त्यसको एक महिनापछि सुशील कोइरालाले राजीनामा दिएर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने एउटा विक ल्पमा छलफल भइरहेको छ', स्रोतले अन्नपूर्णसँग भन्यो।
 
 त्यो विकल्पमा कांग्रेस र कोइराला तयार नभएको अवस्थामा ओलीको नेतृत्वमा अहिले नै राष्ट्रिय सरकार गठन गर्ने अर्को विक ल्प पनि त्यत्तिकै बलियो गरी अगाडि बढेको स्रोतको दाबी छ।
 
दाहालको प्रस्तावअनुसार दुई दिनभित्र राष्ट्रिय सरकारको स्वरूपको तस्विर आउन सक्छ। यसबारे दाहालले मंगलबार बालुवाटारमा कोइराला र ओलीसँग छुट्टाछुट्टै छलफल गरेका थिए। 
 
एमाओवादी महासचिव कृष्णबहादुर महराले अन्नपूर्णसँग भने, 'संयुक्त राष्ट्रिय सरकार बनाउने सैद्धान्तिक छलफल चलिरहेको छ, कसको नेतृत्वमा भन्ने अझै टुंगिएको छैन।'
 
सहमतिमा संविधान जारी गर्न र भूकम्पले निम्त्याएको राष्ट्रिय विपत्ति सामना गर्न प्रमुख राजनीतिक दल सम्मिलित राष्ट्रिय सहमतिको शक्तिशाली सरकार गठन गर्ने गृहकार्यमा नेताहरू जुटिरहेका छन्।
 
सत्तासीन कांग्रेस-एमाले र प्रतिपक्षी दल एमाओवादीसहित मधेसवादी र राप्रपा नेपालसहितका दलले संविधान र विपत्तिको सामनाका लागि राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नुपर्ने आवश्यकताबोध गरेका छन्।
एकमहिनाभित्र कोइरालाकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाएर संविधान जारी 
संविधान जारी गरेको एक महिनाभित्र कोइरालाले राजीनामा दिने र ओलीको नेतृत्वमा राष्ट्रिय सरकार 
यो प्रस्तावमा कांग्रेस र कोइराला तयार नभए अहिले नै ओलीको नेतृत्वमा राष्ट्रिय सरकार 
एमाओवादी एक नेताका अनुसार कांग्रेस-एमालेको ध्यान सरकार फेर्नमा छ तर संविधान निर्माण र राष्ट्रिय विपद्को सामना गर्नमा छैन। विपद् सामना गर्न राष्ट्रिय एकता आवश्यक हुने र त्यसका लागि राष्ट्रिय सरकार आवश्यक हुने तर्क दाहालले शीर्ष नेताहरूको बैठकमा राख्दै आएका छन्।
 
भूकम्पले निम्त्याएको राष्ट्रिय विपत्ति र मनसुन सुरुसँगै आउन सक्ने थप विपत्ति सामना गर्न र ओझेलमा परेको संविधान निर्माण प्रक्रिया निष्कर्षमा पु:याउन दलहरूले राष्ट्रिय सरकार गठनको मुद्दालाई प्राथमिक मुद्दा बनाउँदै आएका छन्। 
 
राष्ट्रिय सरकारको नेतृत्वका लागि कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले पनि दाबेदारका रूपमा प्रस्तुत गर्दै आएका छन्। देउवा र एमाले वरिष्ठ नेता माधव नेपालबीच पनि मंगलबार राष्ट्रिय सरकार गठनबारे छलफल भएको थियो। ओलीले राप्रपा नेपाल अध्यक्ष कमल थापासँग पनि यसबारे छलफल गरेका छन्।
 
एमाले उपमहासचिव विष्णु पौडेलका अनुसार कोइरालाले आफ्नै नेतृत्वको सरकारमा विपक्षीहरूलाई सहभागी गराएर राष्ट्रिय स्वरूप प्रदान गर्न नसकेको अवस्थामा राजीनामा दिएर अर्को पक्षलाई राष्ट्रिय सरकार गठन गर्ने बाटो खोलिदिनुपर्छ। 
 
'यो सरकारले अहिलेको चुनौती सामना गर्न सकिरहेको छैन। तर पनि एक दिन, दुई दिन, तीन दिन, चार दिनभित्र यही सरकारलाई राष्ट्रिय स्वरूप दिन सकिन्छ भने त्यो अवसर हामीले प्रधानमन्त्रीलाई दिनुपर्छ', पौडेलले भने, 'तर यही सरकारमा विपक्षी दलहरू सहभागी हुने लक्षण देखिँदैन। प्रधानमन्त्रीले पनि राष्ट्रिय सहमतिको सरकार चाहेको भए उहाँले मार्गप्रशस्त गरिदिनुपर्छ।'
 
कांग्रेस नेता शेखर कोइरालाका अनुसार संविधान निर्माण, आगामी मंसिरमा स्थानीय निकायको निर्वाचन र राष्ट्रिय विपद् सामना गर्नका लागि राष्ट्रिय सरकार गठन गर्नु उपयुक्त हुन्छ। 
 
'तर त्यतातिर कसैको पनि ध्यान पुगेको देखिँदैन', उनले अन्नपूर्णसँग भने, 'इच्छाशक्ति हुने हो भने सुशील नेतृत्वकै सरकारले पनि राष्ट्रिय विपद्को सामना गर्न सक्छ।'
 
उनका अनुसार एउटा पक्ष सुशील नेतृत्वको सरकार हटाउन चाहन्छ भने सुशील आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिन चाहन्छन्।

No comments :

Post a Comment