19 April 2015

आफ्ना कारण ३२ जनाको ज्यान गएपछि

विराटनगर, वैशाख ६ - ३२ जनाको ज्यान जाने गरी भएको बस दुर्घटना भुल्न ओखलढुंगा प्राप्चा ४ का ५० वर्षीय तेजबहादुर कार्की 'शान्तिको खोजीमा' निस्केको १० वर्ष पूरा भयो । दुर्घटनामा उनले दुवै खुट्टा गुमाएका छन् ।
Wheelchair-Yatri-Biratnagarहालसम्म ७१ जिल्ला र ७ देशको यात्रा गरिसकेका छन् । भारतबाट विराटनगर आइपुगेका उनी मनाङ, मुस्ताङ, म्याग्दी र प्युठान पुगेर मलेसियातिर लाग्ने योजनामा छन् । १४ वर्षभित्र २ सय ९७ वटा देश घुमेर गिनिज बुकमा नाम लेखाउने उनको लक्ष्य छ । आफ्नो यात्रालाई 'विश्व शान्ति ह्वीलचियर पदयात्रा' नाम दिएका छन् ।
उनी काँकडभिट्टाबाट काठमाडौंको रात्रि बस चलाउँथे । ०५७ माघ २३ मा धादिङको जोगीमारा पुग्दा तीव्र गतिमा रहेको बसलाई घुम्तीमा मोडने क्रममा स्टेरिङ जाम भयो । बस २ सय मिटर तल नदीमा खस्यो । त्यसपछि के भयो थाहा छैन, होस खुल्दा उनी अस्पतालमा थिए । 'सातापछि पत्रिकामा आफ्नो
बसमा ३२ जनाको मृत्यु भएको खबर पढें,' उनले अतीत सम्झे, 'त्यसपछि मेरो चैन हरायो, ४ वर्षसम्म उपचार गराएँ । २० वर्षदेखिको चालक पेसा मेरा लागि असम्भव बन्यो । दुवै खुट्टा काट्नुपर्‍यो ।'
विश्व साइकलयात्री पुष्कर शाहको टेलिभिजन अन्तर्वार्ता हेरेपछि उनलाई पनि शान्तिको खोजीमा भौंतारिन मन लाग्यो । 'त्यसपछि आँट गरें र ओछ्यानमा मात्र कति पल्टिनु भनेर यात्रामा निस्कें ।' पत्रकार महासंघको केन्द्रीय कार्यालयबाट २०६१ जेठ ४ मा उनले यात्रा सुरु गरेका हुन् । बंगलादेश, मालदिभ्स, पाकिस्तान, अफगानिस्तान, भुटान, श्रीलंका र भारत भ्रमण गरिसकेका छन् । लक्ष्य पूरा गरेरै छाड्ने उनको अठोट छ । यात्रा क्रममा राष्ट्र प्रमुखलाई भेट्ने गरेका छन् । अपांग आयोग गठन र अपांग मैत्री संविधानमा उनले जोड दिएका छन् ।
कार्कीका परिवार काठमाडौंमा बस्छन् । परिवार नजिक भए मायाले बाँध्ने र यात्रामा बाधा आउने उनको बुझाइ छ । त्यसैले घर जाँदैनन् । 'लक्ष्य पूरा भएपछि मात्र परिवारसँग बसौंला,' उनले भने । उदयपुरको कटारीमा २० हजार लुटिएको घटना उनको यात्राको सबैभन्दा दुःखद भएको उनको भनाइ छ । उनका अनुसार विदेशमा अपांगलाई यात्रा गर्दा सार्वजनिक यातायातमा भाडा लाग्दैन । सरकारले घर बासको व्यवस्था गरेको छ । भत्ता दिन्छ, काम गर्नेलाई अवसर । नेपालमा भने घृणा र तिरष्कार सहनुपरेको उनले गुनासो गरे । एसएलसी उत्तीर्ण कार्कीको यात्रालाई ओखलढुंगाकै मिलन थापा, जिना कार्की, शिव थापा र लालबहादुर घिसिङले साथ दिएका छन् ।

No comments :

Post a Comment