16 March 2015

पाकिस्तानको चर्चमा तालिवान आक्रमणमा चौधको मृत्यु, दङ्गा फैलियो

पाकिस्तानको चर्चमा तालिवान आक्रमणमा चौधको मृत्यु, दङ्गा फैलियोलाहोर-पाकिस्तानका दुई चर्चमा आइतबार दुई तालिवान आत्मघाती बम आक्रमणकारीले गरेको आक्रमणमा चौध व्यक्तिको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन् । यसपछि फैलिएको हिंसामा लडाकू आशङ्का गरिएका अन्य दुई व्यक्तिको मृत्युभएको छ ।
लाहोर नगरको युहनावाद जिल्लामा एक किलोमिटरको दुरीमा रहेका दुई चर्चमा प्रार्थनाको समयमा उक्त बम आक्रमण भएको थियो । यस जिल्लामा करिब एक लाख क्रिस्चियन बसोबास गर्ने गरेको जानकारी अधिकारीहरूले दिएका छन् । नजिकैको जनरल हस्पिटलका चिकित्सा सुपरिन्टेन्डेन्ट डा. मोहमद सयिद सोहबिनले आफूहरूले १८ शव प्राप्त गरेको र ७० व्यक्ति घाइते भएको जानकारी दिए । उनले यसमा लडाकू आशङ्का गरिएका व्यक्तिको शव समावेश नभएको बताए ।
 
लाहोरका उच्च स्वास्थ्य अधिकारी जाहिद पर्वेजले ती व्यक्तिको मृत्यु भएको पुष्टि गरे र दुबै घटनामा ७८ व्यक्ति घाइते भएको जानकारी दिए ।विस्फोटस्थलवरपर झ्यालका फुटेका ऐना, रगत तथा जुत्ता छरिएको देखिएको छ ।यसअघि प्रहरी प्रवक्ता नबिला गजनफरले यस आक्रमणमा काममा रहेका दुई प्रहरीको पनि मृत्युभएको जानकारी दिए । उनले विस्फोटपछि सडकमा प्रदर्शनकारीले दुई व्यक्तिलाई कुटेर मारेको बताए ।
काममा रहेका प्रहरीले दुबै ढोकामा आक्रमणकारीलाई रोक्न प्रयास गरेको तर उनीहरूले आफूलाई विस्फोट गराएको प्रवक्ताले बताए।यसपछि क्रुद्ध भीडले आक्रमणकारीको साथी ठानेका दुई व्यक्तिलाई कुटेर मारेको उनले बताए ।एएफपीका फोटोग्राफरले लडाकू ठानिएका दुई व्यक्तिलाई कुटिएपछि उनीहरूलाई आगो लगाएको आफूले देखेको बताए । उक्त समयमा ती व्यक्ति अझै जीउँदै थिए कि थिएनन् भन्ने स्पष्ट  भएको छैन ।
 
पाकिस्तानको तालिवान जमात–उल–अहरर समूहले आमसञ्चारलाई इमेलबाट पठाएको सन्देशमा उक्त विस्फोट आत्मघाती आक्रमण भएको बताउँदै पाकिस्तानमा इस्लामी कानुन लागु गर्न यस्तो अभियान निरन्तर रहने दृढता व्यक्त गरेको छ ।पाकिस्तानको १८ करोड जनसङ्ख्यामा क्रिस्चियनको सङ्ख्या दुई प्रतिशत रहेको छ । हालका वर्षमा उनीहरूमाथि आक्रमण हुने गरेको छ । प्रायः गरी क्रिस्चियनले कुरान वा धर्मगुरु मोहम्मदप्रति अनास्था फैलाएको आरोप लगाउने गरिन्छ ।
 
पाकिस्तानको उत्तरपश्चिमी नगर पेसावरमा सन् २०१३ को सेप्टेम्बरमा दुई आत्मघाती बम आक्रमणमा ८२ व्यक्तिको मृत्यु भएपछि आइतबारको आक्रमण उक्त समुदायमा सबैभन्दा क्षतिकारक आक्रमण भएको देखिएको छ ।आइतबार सयौँ क्रिस्चियनले प्रहरीसँग भिडन्त गरेका छन्, उनीहरूले गाडीमा ढुङ्गा तथा लट्ठीले हानेका छन् ।प्रधानमन्त्री नवाज सरिफले एक विज्ञप्ति प्रकाशन गरी बम आक्रमणको भत्र्सना गरेका छन र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न प्रान्तीय सरकारलाई निर्देशन दिएका छन् ।
 
क्रिस्चियनहरूले पाकिस्तानको सबैभन्दा ठूलो नगर कराचीका साथमा अन्य नगरका सडकमा पनि प्रदर्शन गरेका छन् । कराचीमा प्रदर्शनकारीले मुख्य सडक अवरुद्ध पारेका छन् र टायर बालेका छन् ।
पाकिस्तानमा तालिवानका तीन प्रमुख समूहले आफूहरू एक भएको बिहीबार बताएपछि उनीहरूले आइतबार आक्रमण गरेका हुन् ।डिसेम्बर महिनामा पेसावरको एक विद्यालयमा तालिवान बन्दुकधारीले आमहत्या गरी १५० व्यक्ति मारेपछि सेनाले तालिवानविरुद्ध आक्रमण अगाडि बढाएको छ । उक्त आक्रमणमा मर्नेमा प्रायः बालबालिका परेको बताइएको छ । यसबीच मृत्युदण्ड कार्यान्वयनमा लगाइएको रोक हटाइएको छ भने आतङ्कवादका मुद्दा हेर्न सैनिक अदालत गठन गर्न संविधानमा संशोधन गरिएको छ ।
- See more at: http://nagariknews.com/world/story/34753.html#sthash.qnV9ooqv.dpuf

No comments :

Post a Comment