29 January 2015

बाबु, छोरी पाएर मैले गल्ती गरेँ र?

चन्द्र काफ्ले 

करिव एक साताअघि मकालु यातायातको बसमा चढेर पूर्व घर जाँदै थिएँ। म झ्यालसँगैको सिटमा बसेको थिएँ, छेउको सिट खाली थियो। केही समयपछि एक जना त्यस्तै १६-१७ वर्षकी युवती गाडीमा आइन्। उनले भनिन् - यो सिटमा मेरी आमा पनि जानुहुन्छ, झ्यालतिर बस्न दिनुस् न। म हुन्छ भन्दै बाहिर निस्किएँ।
त्यस्तै ५५ वर्ष जतिकी आमालाई सिटमा राखेर ती युवती राम्ररी जानुहोस् है भन्दै निस्किइन्।
यो समय गाडीमा मान्छे पूर्व जाने कम भएर हो कि बन्द हड्तालको हल्लाले हो यात्रुहरु भरी थिएनन्। पछाडिका केही सिटहरू
खाली नै थिए।
कलंकीबाट गाडी गुडेको केही समयसम्म हामी दुवै चुपचाप बस्यौं। गाडीले थानकोट कटेर नागबेली ओरालो लाग्दै गर्दा उनैले सोधिन्, 'बाबु, कहाँसम्म जाने हो?' मैले जवाफ दिएँ- 'पथरीसम्म हो, आमा।' अनि मैले हजुर कहाँसम्म जाने नि भनि प्रश्न गरेँ। उनले आफू गछिया जान लागेको, भाइको घरमा पुराण लगाउने रे भनिन्।
गाडीमा वाइफाइमा थियो। कोही नेटमा झुम्मिरहेका थिए, कोही भने ठूलो स्क्रिनमा चलिरहेको फिल्ममा।
प्रश्न सोध्ने पालो मेरो थियो। आमाको घर चाहिँ कहाँ हो नि?
उनले भनिन्- 'बाबु मेरो घर छैन। दुई छोरीसँगै काठमाडौँमा डेरामा बस्छु।'
उनी आफ्नो जीवनको पोयो खोल्दै थीइन, 'अघि मलाई छोड्न आउने मेरी ठूली छोरी हो। ऊ अहिले १२ कक्षामा पढ्दै छ। सानी ८ मा पढ्दै छ। म बदाम बेच्छु, गुजारा चल्दै छ।'
मैले केही नसोची उनका पतिका बारेमा सोधेँ। उनी केहि भावुक बनिन् र केहि खिन्न पनि देखिइन्।
भिडियोको स्क्रिन तिर हेरेँ। फिल्म चलिरहेको थियो, कुनै साउथ इन्डियन सिनेमा हो क्यारे।
उनी आफ्नो विगत र वर्तमान फ़ुकाउँदै गईन्। 
मेरो कर्ममा धेरै दुःख लेखेको रहेछ बाबु, त्यो सबै भोगेँ, अब म ती भोगेका दुःखहरू दुई छोरीलाई हेरेर बिर्सदै छु।
बिहे हुँदा म सत्र वर्षकी मात्र थिएँ। बिहे अगाडिको जीवन एकदम सुखी थियो।
सधैँ मीठो मसिनो खान्थेँ, कहिलेकाहीँ त भात फाल्नु पनि पर्थ्यो। भगवानले हिसाब राखेछन् क्यारे, यति दुःख भोग्नु पर्‍यो।
हाम्रा पालामा छोरी मान्छेले पढ्नु हुँदैन भन्थे। छोराहरू स्कुल जाँदा छोरीले घरधन्दा गर्नुपर्थ्यो। बुबा आमाले पनि 'छोरीले पढेर के गर्नु, अर्कैले लान्छ,' भन्नुहुन्थ्यो।
उनलाई बिहेपछि सुख पाइन्छ भन्ने लाग्थ्यो। त्यस्तै कल्पना गर्दै उनी हुर्कीइन्।
उनको कल्पना साच्चिकै यथार्थमा बदलिएको थियो। सबैले कति राम्री बुहारी भनेर तारिफ गर्थे। उनी केही लजाउँथिन्। श्रीमानले पनि माया गर्थे, घरका सबैले काममा सघाउँथे। बिहे गरेको एक वर्षसम्म त उनलाई बिहे गरेर अर्काको घरमा गएको जस्तै लागेन रे।
घरमा भएका देउरानी-जेठानीले पनि उनलाई माया गर्थे। कति रमाइलो थियो। त्यो बेलाको समय सम्झँदै उनी भावुक बनिन्।
'म आमा बन्ने भएकी थिएँ, सबैले राम्रोसँग हेरचाह गरिरहेका थिए। अस्पताल पनि लगे। मैले सोचेकी थिएँ, मेरा श्रीमान् पनि बाउ बनेपछि खुसी होलान्, झन् धेरै माया गर्लान्। अनि परिवारका सदस्यले पनि काममा सघाउलान्।'
त्यो उनको मिठो कल्पना मात्र सावित भयो। छोरी जन्मिई भन्ने थाहा पाउने वित्तिकै श्रीमान बटारिए। परिवारका सदस्य पनि परिवर्तन भए।
अरु मात्र बदलिएनन्। उनको जिन्दगी पनि बदलिदियो।
छोरी जन्मेको एक वर्षपछि श्रीमानले उनलाई छोडेर अर्कैसँग घरजम गरे। पेटमा अर्को गर्भ बसिसकेको थियो।
घरमा पनि उनलाई हेला गर्न थालियो। हेर्दा हेर्दै देवरानी-जेठानी पनि उनलाई निकै हेप्न थाले। घरभरिको भाँडा थुपारेर उनलाई माझ्न लगाइन्थ्यो। ससुराले एकदिन उनलाई निस्किएर जा भने।
अब उनलाई छुट्टै बस्नुपर्ने आपत आयो। जुन घरमा सुखको ठूला सपना बुनेर आएकी थिइन, त्यही घरका मान्छेले उनको दुःख बुझेनन्।
आफू र छोरीलाई आफै पाल्नु पर्ने अवस्था आयो। कान्छी छोरी पेटमै बढ्दै थिइन्।
अब कहाँ जाने के गर्ने उनले केही सोच्न सकिनन्।
माइतमा उनकी आमाले भनिन्, 'अब यतै बस'। 'घरमा भाउजु-बुहारी र छिमेकीहरूले कुरा काट्छन् भनेर आमाको आग्रहलाई टालेँ,' झ्यालबाट मुन्टो बाहिर निकाल्दै उनले भनिन्।
एउटी छोरी काखमा अर्की पेटमा बोकेर काठमाडौँ हानिन्। सबै काम खोज्न राजधानी नै जान्थे।
बबरमहलको एउटा घरमा मासिक ८ सय रूपैयाँमा एउटा कोठा भाडामा लिइन्। कोठामा केही सामान थिएन। खाना पकाउने भाडो पनि थिएन। के काम गर्ने थाहा थिएन। अनि काम कसरी खोज्ने हो पत्तै पाइनन्।
बबरमहल चोकको बाटो भएर हिँड्दा एकजनाले बाटोमा काफल बेचेको देखिन्। सोचिन्- आफूसँग ब्यापार गर्ने पैसा पनि छैन। काफल बेचेर पनि के हुन्छ होला र? गाउँमा त्यत्रो जंगलभरि थियो कसैले बेच्दैनथे। यहाँ काफल पनि बिक्दो रहेछ।
एकदिन तिनै काफल बेच्ने दिदीको छेउमा गएर बसिन्। काफलले पनि राम्रै आम्दानी भएको देखेर चकित भइन्। 'यसबाट पनि केही हुँदो रहेछ, डेरा तिर्ने पैसा त कमाउन सकिँदो रहेछ लाग्यो।'
अर्को दिन पनि त्यही गइन्। तिनै दिदीसँग कुरा गर्दै थिइन् एक्कासी तिमी पनि काफल बेच्छ्यौ बहिनी? भनेर प्रस्ताव आयो। उनलाई मनकै कुरा भनेजस्तो लाग्यो।
बाटोको डिलमा बसेर कसरी काफल बेच्ने। थोरै हच्किन। मुख छोपेर पहिलो दिन काफल बेचिन्।
काफल बेचेर नयाँ जिन्दगी शुरु गरेको कथा सुनाउँदै गर्दा उनको अनुहार उजेलिसकेको थियो। 'डोको त श्रृंगारपटार गर्दा राम्रो देखिन्छ, म मान्छे त राम्रै हो नि,' उनी मजाले हाँसिन्।
पहिलो दिननै उनले 'दिदी'लाई सबै काफल बेच्न सघाईन्। दोस्रो दिन पनि सबै बेचिन्। दिदी खुसी भइन र भनिन्, 'अब तिमी आफैँ बेच र पैसा पनि आफै राख म तिमीलाई काफल ल्याइदिन्छु।' उनको आत्मविश्वास चुलियो।
उनी दंग परिन्।
काफलसँगै बिस्तारै बदाम पनि बेच्न थालिन्। आम्दानी राम्रो हुन थाल्यो, घर खर्च सजिलै धानिन थाल्यो। नजिकैको कार्यालयका हाकिमहरु बदाम खान आउँथे, कति पढ्या छौ भनेर सोध्थे। 'पढेको भए जागिर खान मिल्थ्यो भनेर उहाँहरु भन्नुहुन्थ्यो।' 
हुन त उनका श्रीमान पनि सरकारी जागिरे नै थिए। तर, उनको अफिस र कामबारे उनलाई केही थाहा थिएन। जुन दिन उनलाई घरबाट निकाले त्यो दिनदेखि सम्पर्क छैन। 'कहाँ छे? के गर्दै छे? भनेर कहिलै सोधखोज गरेनन्।
बस हेटौंडा पुगिसकेको थियो। खाना खान सबै यात्रु ओर्लिए। उनलाई बाहिरको खानेकुरा नखानू भनेर छोरीले भनेकी रहिछन्। 'झोलामा भुटेको चिउरा र आलु ल्याएकी छु।'
***
बदाम खान आउने सरकारी हाकिमका कुराले उनलाई अब पढाइको महत्व थाहा भयो। दोस्री छोरी पनि जन्मिसकेकी थिइन्।
उनले अठोट गरिन्, 'म पनि छोरीहरुलाई पढाएर उनीहरुको बाउको भन्दा राम्रो सरकारी जागिर खुवाउँछु।'
'बदाम बेचेर नै मैले दुई छोरीलाई पढाइरहेकी छु। ठूली छोरी १२ मा पढ्दै छे, सानी ८ मा।'
उनका दुवै छोरीहरु ज्ञानी छन् रे, पढ्नमा तेज। उनीहरुपनि आमाको दुःख बुझेर कुनै पनि फाल्तु कुराको चाहना गर्दैनन्।
उनले जस्तोसुकै अवस्थामा पनि छोरीहरूलाई बाबुको अभाव हुन दिइनन्। आफैं आमा र बाबु दुवै भएर उनले छोरीहरूलाई हुर्काइन्।
छोरीहरूको मुख हेरेरै जस्तोसुकै दुःख परेपनि कहिलै हरेस खाइनन्। अब उनको एउटै मात्र इच्छा छ छोरीहरूलाई राम्ररी पढाएर बाबुको भन्दा राम्रो जागिर खुवाउने। आफ्नै खुट्टामा उभ्याउने।
'कान्छी (सौता)ले छोरो पाएकी छ रे भन्ने सुनेको छु। छोरा पाएपछि श्रीमानसहित परिवारका सबै खुसी छन् रे। मपनि छोराभन्दा छोरीहरुलाई कुनै पनि रूपमा कमजोर बनाउँदिन। त्यो पछि देख्ने कुरा हो,' उनको आत्मविश्वास थियो।
उनले सुनेकी रहिछिन्- छोरीलाई अब आमाकै नामबाट नागरिकता दिन सरकारले थाल्यो रे। उनी ढुक्क छिन् उनकी छोरीहरूले पनि उनकै नामबाट नागरिकता लिनेछिन्। 'अनि उनीहरूका बाबुलाई छाती ठोकेर देखाउँछु मैले पनि छोरीहरूलाई पढाएर सक्षम बनाए भनेर।'
आमाको नामबाट छोरीलाई नागरिकता दिने बिषयमा नेताहरुले कुरा चपाईरहेका छन् भनेर मैले उनलाई भन्न सकिन।
भोलिपल्ट बिहान बस गछिया पुग्यो। उनी ओर्लिने बेलामा मलाई पनि सँगै जाऊ, चिया खाएर जानु होला भनिन्। मैले ठिकै छ आमा, पछि कुनै बेला भेटेर खानै खाउँला नी भनेँ। जाँदा जाँदै उनले भनिन- बाबु, मैले छोरी पाएर गल्ती गरेँ र?

No comments :

Post a Comment