26 January 2015

प्रक्रिया के हुन्छ?

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ आइतबार प्रश्नावली समिति गठनको प्रस्ताव पेस गर्दै। तस्बिर : दिपेश श्रेष्ठकाठमाडौं-प्रश्नावली समितिको पहिलो बैठक अबको पाँच दिनपछि अर्थात माघ १६ गते बस्नेछ। समितिले त्यसको पाँच दिनपछि राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीका सन्दर्भमा देखिएका विवादमा वस्तुगत प्रश्नसहितको प्रतिवेदन संविधानसभामा पेस गर्नेछ।
त्यसपछि संविधानसभामा प्रश्नावली निर्णयार्थ प्रस्तुत भएर बहुमतका आधारमा निर्णय गरी पहिलो मस्यौदाका लागि मस्यौदा समिति पठाइनेछ।
मस्यौदा समितिले तयार पारेको पहिलो मस्यौदालाई राजपत्रमा प्रकाशित गरी संविधानसभाको नागरिक सम्बन्ध समितिमार्फत जनताको राय–सुझाव लिन गाउँगाउँ पठाइनेछ। जनताको राय–सुझावसम्बन्धी विस्तृत प्रतिवेदन तयार गरी संविधानसभाको बैठकमा मस्यौदासहित पेस गरेर छलफल गरिनेछ।
जनताको रायबमोजिम पहिलो मस्यौदालाई परिमार्जन गरी विधेयक संविधानसभाको बैठकमा पेस गरिनेछ। सभामा दफावार छलफल क्रममा सर्वसम्मति हुन नसके विषयलाई दुई तिहाइले पारित गरिनेछ।
पारित संविधानको प्रमाणीकरण प्रति तयार गरी सदस्यहरूले हस्ताक्षर गर्नेछन्। संविधानसभा अध्यक्षले विधेयक प्रमाणित गरेपछि राष्ट्रपतिले संविधानको प्रतिमा हस्ताक्षर गरी नेपाली जनतासमक्ष नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्नेछन्।

No comments :

Post a Comment