29 November 2014

१० बैंक पहिलो श्रेणीमा

standerd१३ मंसिर २०७१, काठमाडौं  - बैंकको वित्तीय अवस्था झल्काउने विधि क्यामेल्सका आधारमा गरिएको अध्ययनअनुसार मुलुकका १० वाणिज्य बैंक प्रथम श्रेणीको सूचीमा परेका छन् । उनीहरूले सयमा ६० भन्दा बढी अंक पाएका हुन् । केन्द्रीय बैंकले समेतले संस्थाको अवस्था हेर्न तयार गर्ने क्यामल्समा समावेश हुने ६ मध्ये ४ सूचकलाई आधार मान्दा यो अवस्था देखिएको हो । मुलुकमा ३० वाणिज्य बैंक सञ्चालनमा छन् । जसअनुसार ३३ प्रतिशत वाणिज्य बैंकको उत्कृष्टको सूचीमा परेका हुन् । वाणिज्य बैंकहरूले प्रकाशित गरेर वित्तीय विवरणअनुसार पुँजी पर्याप्तता अनुपात, निष्क्रिय कर्जा, रिटर्न अन इक्विटी र
तरलतालाई क्यामेल्स विधिअनुसार अंक दिँदा १० वटा बैंक पहिलो श्रेणीमा परेका हुन् ।
क्यामेल्स भने ६ वटा सूचकलाई हेरेर तयार गरिन्छ । यसलाई विश्वभरकै केन्द्रीय बैंकका वा नियमनकारी निकायले संस्थाको वित्तीय अवस्था अध्ययनका लागि प्रयोग गर्ने गर्छन् । ६ मध्ये बजार जोखिम र व्यवस्थापनसम्बन्धी अंक भने स्थलगत वाणिज्य बैंकको निरीक्षणपछि मात्र गर्न सकिन्छ । केन्द्रीय बैंकले यी दुई सूचकमा दिएको अंक गोप्य रहने
र अन्यले निकाल्न नसक्ने हुँदा ४ सूचकलाई मात्र आधार बनाएर अध्ययन गरिएको हो ।
उपलब्ध तथ्यांकअनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा उत्कृष्ट ८३ दशमलव ६६ अंक पाएको छ । ४ वटै आधारमा उत्कृष्ट अंक नपाए पनि औसत निकाल्दा भने
स्ट्यान्डर्ड चार्टर्ड बैंक सबैभन्दा अघि देखिएको छ । 'यो सही मूल्यांकन हो,' स्ट्यान्डर्ड चार्टर्ड बैंकका एक्सटर्नल अफेयर्स प्रमुख दिवाकर पौडेलले भने, 'अन्तर्राष्ट्रिय बैंक भएको नाताले सुशासन, अन्तर्राष्ट्रिय मापदण्ड र साखलाई हामीले उच्च प्राथमिकता दिने गरेका छौं ।' सूचकमा देखिएको प्रदर्शनले सेवालाई सबल, सक्षम र प्रभावकारी बनाउन थप प्रोत्साहन पुग्ने उनले बताए । स्ट्यान्डर्ड चार्टर्ड बैंकपछि नेपाल एसबीआई, एभरेस्ट, इन्भेस्टमेन्ट र सानिमा बैंक उत्कृष्ट ५ मा परेका छन् । एसबीआई, एभरेस्ट र इन्भेस्टमेन्ट बैंकले ७० प्रतिशतभन्दा बढी अंक ल्याएका छन् । प्रमुख ५ मध्ये तीन वटा संयुक्त वैदेशिक लगानीमा सञ्चालित बैंक छन् ।
६८ दशमलव ०२ अंकसहित एनएमबी बैंक छैटौं स्थानमा छ । लुम्बिनी, बैंक अफ काठमाडौं, नबिल र हिमालयन बैंकले पनि ६० प्रतिशतभन्दा माथि अंक पाएका छन् । १४ वटा बैंकको अंक ५० देखि ६० को बीचमा छ । ४ बैंकको अंक ४० देखि ५० को बीचमा छ । घाटामा गएका किस्ट र ग्रान्डले सबैभन्दा कम अंक पाएका छन् ।
तथ्यांक तयार गर्दा पुँजी पर्याप्तता अनुपात २० प्रतिशत हुनेले सत प्रतिशत अंक पाउने गरी अध्ययन गरिएको छ । यो घटदै जाँदा अंक पनि कम हुँदै गएको हो । निष्त्रिmय कर्जा अनुपात ० हुनेलाई सत प्रतिशत र ५ भन्दा माथि हुनेलाई शून्य अंक बाँडिएको हो । त्यस्तै रिटर्न अन इक्विटी ३० प्रतिशत वा माथि हुँदा पूर्ण अंक र शून्य हुँदा कुनै पनि अंक दिइएको छैन । कुल निक्षेपको ४० प्रतिशत वा बढी तरलता भएको संस्थालाई सय अंक र त्योभन्दा कमलाई सोहीअनुरूप अंक दिइएको छ । ४ वटै विधामा आएको अंकको औसतअनुसार श्रेणी दिइएको हो । क्यामेल्स रेटिङमा व्यवस्थापन र बजार जोखिमलाई पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ ।
'अन्तर्राष्ट्रिय रूपमा बैंकको वित्तीय अवस्था हेर्नका लागि क्यामेल्स रेटिङ हेर्ने गरिन्छ,' सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, 'यसले कुन बैंकको स्थिति कस्तो छ भन्ने देखाउँछ ।' क्यामेल्स रेटिङको सूचक स्थायी नहुने र समयसमयमा ठूलै परिवर्तन पनि आउन सक्ने राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले बताए । 'कर्जा बढदा पुँजी पर्याप्तता अनुपातमा असर पर्छ,' उनले भने, 'त्यस्तै अन्य सूचक पनि परिवर्तन भइरहन सक्छन् ।' एक पटकको सूचकलाई स्थायी नतिजाका रूपमा हेर्न नमिल्ने उनले बताए । 'कुनै महिना खराब देखिएको संस्था अर्को पटक राम्रो स्थानमा पनि पुग्ने गरेको छ,' उनले भने । राष्ट्र बैंकले पनि आन्तरिक प्रयोजनका लागि क्यामेल्स रेटिङ गर्ने गरेको छ । जसलाई आधार बनाएर सम्बन्धित संस्थालाई सुधारको निर्देशन पनि दिने गरिएको छ । राष्ट्र बैंकले तयार गरेको यस्तो सूचकलाई सार्वजनिक भने गरिँदैन ।
केन्द्रीय बैंक अनुगमनमा संलग्न हुने भएकाले उसले तयार गरेको रेटिङ पूर्ण हुन्छ ।
जसमा व्यवस्थापन र साखलाई समेत राखिएको हुन्छ ।
के हो क्यामेल्स
यो वित्तीय संस्थाको अवस्था मूल्यांकन गर्न नियामका लागि तयार गरिएको एउटा विधि हो । अंग्रजी शब्द सीएएमईएलयस जोडेर यस्तो सूत्र बनाइएको हो । जसमा सी को अर्थ क्यापिटल एड्यकेसी हुन्छ । जसलाई नेपालीमा पुँजी पर्याप्तता भन्ने गरिन्छ । वाणिज्य बैंकले कर्जा लगानी गर्दा कति पुँजी आवश्यक हुन्छ भनेर तोकिएको मापदण्ड पुँजी पर्याप्तता अनुपात हो । यसलाई बासल नियमअनुसार पनि परिभाषित गरिएको हुन्छ । नेपालका वाणिज्य बैंकको भने यस्तो अनुपात कम्तीमा १० प्रतिशत हुनुपर्ने प्रावधान छ ।
ए को अर्थ एसेटस हो । यसबाट वाणिज्य बैंकको सम्पत्तिको अवस्था मापन गर्ने गरिन्छ । यसमा खराब र असल कर्जालाई छुट्याइन्छ । एम को अर्थ म्यानेजमेन्ट क्यापाबिलिटी हो । बैंक चलाउन व्यवस्थापकको क्ष्ामताको मूल्यांकन यसमा गरिन्छ । व्यवस्थापकको क्ष्ामता, आन्तरिक सूचना प्रणाली, कारोबार गर्दा अपनाइने विधिलगायतलाई यसमा हेरिन्छ । ई अर्थात आम्दानी यसको अर्को अध्ययनको सूचक हो । यसमा संस्थाको नाफा, भविष्यमा नाफा कमाउन सकिने सम्भावना र नाफाको वृद्धिदरजस्ता विषयको अध्यययन गरिन्छ । संस्थाले कस्तो प्रतिफल दिइरहेको छ भन्ने विषयमा यसमा हेरिन्छ ।
एल लिक्युडिटी हो । यसले बैंकको लगानी गर्न योग्य पुँजीको अवस्था तरलतालाई देखाउँछ । बढी वा निकै थोरै तरलता हुनु बैंकका लागि अप्ठेरो परिस्थिति हो । यसको व्यवस्थापनलाई पनि यसमा हेरिएको हुन्छ । एस ले सेन्सिटिभिटी अफ मार्केट रिस्क भन्ने जनाउँछ । यसमा बजारको र ब्याजको जोखिम मापन गरिन्छ । क्यामेल्स विधि अमेरिकाले सुरुमा अपनाउन थालेको हो ।
सुरुमा त्यहाँको केन्द्रीय बैंकले सन् १९७९ मा यो विधिअनुसार बैंक वित्तीय संस्थाको अवस्था अध्ययन गरेकेा थियो । त्यसलाई पछि धेरै देशका केन्द्रीय बैंकले अपनाएका छन् । साधारणतया केन्द्रीय बैंक क्यामेल्स रेटिङलाई सार्वजनिक गर्दैन ।
क्यामेल्स विधिमा अपनाइने ६ मध्ये ४ सूचकमा तयार पारिएको उत्कृष्ट सूची
-    स्ट्यान्डर्ड चार्टर्ड
-    नेपाल एसबीआई
-     एभरेस्ट बैंक
-    इन्भेस्टमेन्ट
-    सानिमा
-     एनएमबी
-    लुम्बिनी
-     बीओके
-     नबिल
-     हिमालयन

No comments :

Post a Comment