14 November 2015

‘रअले भन्यो भारत मधेसीलाई उचालेर तराई बिखण्डन गर्न चाहन्छ’

Mission RAW Book Coverकाठमाडौं, २८ कात्तिक । उपप्रधानमन्त्री एवम् महिला बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनालीले भारतले तराईलाई नेपालबाट विभाजन गर्ने उदेश्यका साथ लागीरहेको भारतीय दस्तावेज र किताबहरूले स्पष्ट देखाएको आरोप लगाउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज (शनिबार) बिहान कुरा गर्दै उपप्रधानमन्त्री मैनालीले इन्दिरा गान्धी प्रधानमन्त्री भएका बेलादेखि नेपालमा राजनीतिक हस्तक्षेप गरेर नेपाललाई भारतमा गाभ्ने नीति बनाएको आरोप लगाउनुभयो ।
भारतीय गुप्तचर संस्था ‘रअ’का दोस्रो तहका उच्च अधिकारी (पूर्व उपप्रमुख) आर.के. यादवले लेखेको ‘मिशन रअ’ किताबमा नेपाललाई भारतमा गाभ्ने नीति बनाएको उल्लेख रहेको मैनालीले बताउनुभयो ।
आर.के. यादवको किताबमा
बंगलादेश, सिक्किम र नेपालका विषयमा भारतले के नीति लिएको छ भन्ने विषय प्रष्ट रहेको उपप्रधानमन्त्री मैनालीले बताउनुभयो । ‘रअ’का उपप्रमुख यादवको सोही किताबमा उल्लेख भएअनुसार सिक्किम भारतमा गाभिएको उल्लेख छ ।
छिमेकी देशहरूमा राजनीतिक हस्तक्षेप गर्ने र विखण्डन गराउने योजना भारतको रहेको ‘रअ’का पूर्व उपप्रमुख यादवले आफ्नो किताबमा उल्लेख गरेका छन् । यादवले आफ्नो किताब सन् १९७५ मा लेखेका हुन् ।
नेपाललाई विखण्डन गर्न आउने भारतलाई नेपालीले कहिल्यै समर्थन नगर्ने मैनालीले बताउनुभयो । उपप्रधानमन्त्री मैनालीले राष्ट्रिय अखण्डता र राष्ट्रिय एकताका लागि नेपालीहरूले भारतीय पक्षमा बोल्नेहरूलाई कहिल्यै नदिने उल्लेख गर्नुभयो ।
‘इन्दिरा गान्धीको पालामा भारतले बनाएको नीति अहिलेसम्म परिवर्तन भएको छैन’, उपप्रधानमन्त्री मैनालीले भन्नुभयो, ‘भारतले नेपालमा राजनीतिक हस्तक्षेप गर्ने र आफूमा गाम्भने नीतिलाई परिवर्तन गरेको छैन भनेर अहिलेसम्म भनेको छैन ।’ सोही अभियानअन्तर्गत भारतले मधेसी दलहरूलाई उचालेको उहाँको संकेत थियो ।
भारतकै योजनामा मधेस केन्द्रित दलका नेताहरूले ‘एक मधेस एक प्रदेश’को कुरा उठाएर हिमाल, पहाड र तराईलाई जोडेर संघीयता बन्न नदिएको बताउनुभयो । उहाँले हिमाल, पहाड र तराई मिलाएर संघीय राज्य बनाउने हो भने दीकालीन र राष्ट्रिय एकताको रुपमा सामाजिक सद्भावसहितको हुने दाबी गर्नुभयो ।
भारतले नेपालमा आफ्नो उदेश्य पूरा गर्नका लागि नाकाबन्दी लगाएको मैनालीले बताउनुभयो । ‘भारतले भन्नु पर्‍यो किन नाकाबन्दी लगाएको हो’, उहाँले भन्नुभयो, ‘भारतले आफ्ना उद्देश्य पूरा गर्नकै लागि नाकाबन्दी लगाएको छ । भारतीय राजदूत र मधेसवादी दलका नेताहरूको अभिव्यक्तिले त्यसको पुष्टि गरिसकेको छ ।’
भारतले सन् १९४५ मा लगाएको नाकाबन्दीलाई वेवास्ता गरेका कारण अहिले आएर नेपालीले फेरि दुःख पाएको उहाँले बताउनुभयो ।
भारतले नाकाबन्दी लगाएको विषय नेपालले अहिलेसम्म बेवास्ता गरी नसा खाएर बसेको उपप्रधानमन्त्री मैनालीले बताउनुभयो ।
‘भारतले लगाएको नाकाबन्दीको बिकल्प खोज्नेतर्फ कहिल्यै पनि ध्यान दिएनौँ’, उहाँले भन्नुभयो, ‘भारतसँग लगातार एकपक्षीय रुपमा व्यापार सम्झौता गरी आयौँ । यो गम्भीर भुल हो । यति लामो समय हामी नसा खाएर बस्यौँ ।’
उपप्रधानमन्त्री मैनालीले अब भारतसँगको व्यापार सम्झौतालाई पुनःविचार गरी बैकल्पीक व्यवस्थाका साथ जानै पर्ने बताउनुभयो । उहाँले भारतको नाकाबन्दीको पाठबाट नेपाल र नेपालीले नचेत्ने हो भने भविष्यमा फेरि यस्तै दुःख हुने बताउनुभयो ।

No comments :

Post a Comment