27 November 2015

नेपाल-भारत सीमामा गोली हानाहान

२७ नोभेम्बर २०१५, झापा : झापाको दक्षिणी केचनास्थित नेपाल-भारत सीमानाकामा नेपाल प्रहरी र सुपारी तस्करहरुबीच गोली हानाहान हुँदा एक महिला घाइते भएकी छन् । 
 
सुपारी तस्करसँग भएको गोली हानाहानमा प्रहरीको गोली लागेर एक महिला घाइते भएकी छन् । गोली लागेर घाइते हुनेमा केचना गाविस-५ निवासी ५५ वर्षीया द्रौपदी गणेश रहेकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 
 
नेपालबाट ठूलो परिमाणको सुख्खा सुपारी भारततर्फ तस्करी भइरहेको सूचना पाएपछि पुगेको प्रहरी र भारतीय नागरिकबीच विवाद बढ्दा प्रहरीमाथि ढुङ्गामुढा हानिएको थियो । 
 
दशगजामा भएको विवादका क्रममा भारतीय भूमिबाट नेपाल प्रहरीमाथि ढुङ्गामुढा र गोली हानेपछि प्रहरीले जवाफी कारवाहीका क्रममा गोली चलाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिए । 
 
भारतीय पक्षबाट ४ राउण्ड गोली हानिएपछि जवाफी कारवाहीका क्रममा नेपाल प्रहरीले १३ राउण्ड हवाई फायर गरेको हो । 
 
प्रहरीले केचनाबाट ४० बोरा सुख्खा सुपारी बरामद गरेपछि बढेको विवादले उग्ररुप लिँदा त्यहाँ तनाव भएको हो । 
 
प्रहरीले फायरिङ गरेको गोलीको छर्राले तिघ्रामा लागेर गणेश घाइते भएको प्रमुख जिल्ला जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बताए । 
 
घाइते महिलाको भद्रपुरस्थित ओमसाई अस्पतालमा उपचार भइरहेको छ । दसगजा क्षेत्रबाट प्रहरीले दुई ट्याक्टर सुख्खा सुपारी बरामद गरेपछि नेपाली व्यापारी र भारतीय व्यापारीहरुबीच विहान तनाव भएको थियो । 

No comments :

Post a Comment