10 October 2015

माअोबादी-एमाले एकिकृत हुने प्रवाल संभावना

ओली प्रचण्ड सम्बन्ध : ‘पागल’ घोषणादेखि अंकमालसम्म


KP-Oli-and-Prachand२३ असोज, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डको सम्वन्ध निकै उचार-चढावपूर्ण छ । अहिले आपसमा राम्रो सम्बन्ध बनाएका यी दुई नेता ७/८ महिना अघिसम्म आपसमा शत्रुतापूर्ण व्यवहार गर्थे ।
विगतमा एकअर्काका कटु आलोचक बन्ने उनीहरु अहिले एकअर्काका परिपूरकजस्तै बनेका छन् । र, प्रचण्डको समर्थनमा ओली प्रधानमन्त्री बन्न लागेका छन् ।
संघीयताबारे भइरहेको बहसमा विपरीत धु्रुवमा रहेका ओली र प्रचण्डहरु विगतमा आरोप प्रत्यारोपमा समेत उत्रिए । ओलीले आफूलाई महाराजा र अरुलाई रैतीको व्यवहार देखाएको भन्दै प्रचण्डले सार्वजनिक रुपमै को हुन् ओली भन्दै कडि्कएका थिए ।
त्यसो त प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले औपचारिक निर्णय नै गरेर ओलीको मानसिक उपचार गराउनुपर्छ भन्यो ।
ओलीलाई ‘पागल’ घोषणा गर्ने सो अशिष्ट निर्णयबारे अहिलेसम्म प्रचण्ड मोर्चाका नेताहरुले आत्मालोचना गरेको सुनिएको छ्रैन् ।
तर, अहिले समयले १८० डिग्री फन्को मारेको छ । र, केही घण्टामा कुनै अग्राख पलाएन भने प्रचण्डको समर्थनमा आइतबार ओली देशको प्रधानमन्त्री बन्नेछन् ।
प्रचण्ड-ओलीको सम्वन्ध केलाउन खोज्नुको अर्थ एमाओवादीले ओलीलाई प्रधानमन्त्री बनाउन सघाउनु हुन्छ/हुन्न वा पर्छ/पर्दैन भन्ने होइन । कसलाई समर्थन गर्ने/नगर्ने एमाओवादीको आन्तरिक विषय हो, उसको निर्णय उसैले गर्ने हो ।
तर, कुन सर्तमा ओली र प्रचण्ड एक ठाउँमा आए ? र, यसबाट देशले निकास पाउँछ कि पाउँदैन भन्ने मुख्य प्रश्न हो यतिबेला ।
रहस्यमय गठजोड
एमाओवादी नेताहरुका अनुसार केपी ओली र प्रचण्डको सम्वन्ध अहिले निकै रहस्यमय देखिएको छ । कुनै समय ओली ‘फासिस्ट’ चरित्रको भएको भन्दै पार्टीभित्र र सार्वजनिकरुपमै उनको कडा आलोचना गर्ने प्रचण्ड अहिले केपी ओलीलाई आलोचना गर्न पर्‍यो भने निकै गाह्रो मान्छन् र उनलाई निकै ठूलो सकस हुन्छ ।
प्रचण्डले केही महिनाअघि सम्म भन्ने गरेका थिए कि परिवर्तनका एजेण्डाहरुका कांग्रेसभन्दा एमाले नेतृत्व बढी कठोर र पश्चगामी देखिने गरेको छ । तर, अहिलेको स्थिति हेर्दा प्रश्न यो उठ्छ कि परिवर्तनका एजेण्डामा एमाले रातारात कांग्रेसभन्दा अग्रगामी भयो या एमाओवादी नेतृत्वचाँहि पछाडि धकेलिएर एमालेसँगै मिल्न आइपुग्यो ?
एमाओवादी अध्यक्ष प्रचण्डले पार्टीका आन्तरिक मिटिङहरुमा पनि ओलीसँगको सम्वन्धबारे प्रश्न उठ्यो भने यसबारे अहिले केही भन्दिँन भन्दै छल्ने गरेका छन् । बरु, ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको भन्दै लबिङ गर्ने गरेका छन् ।
उसो भए विपरीत ध्रुवमा रहेका प्रचण्ड र ओलीलाई केले निकट ल्यायो त ? यसका केही कारण हुन सक्छन् :
१. पार्टी एकताको कार्ड
दोस्रो संविधानसभाको चुनाव हुँदै गर्दा प्रचण्डलाई लागेको थियो कि एमाओवादी सबैभन्दा ठूलो पार्टी हुनेछ । तर, उनको गणित बिग्रियो र तेस्रो पार्टी बन्यो । जसले महत्वाकांक्षी प्रचण्डलाई ठूलो झड्का दियो ।
लामो समयसम्म प्रचण्डले हार स्वीकार गर्न सकेनन् र जति बहस गर्दा पनि उनी अन्तिममा भन्थे, चुनावमा धाँधली त भएकै हो नि ।
पार्टी भित्रभित्रै खोक्रो भएको प्रचण्डले चुनाव अघिसम्म र पछि पनि पत्तै पाएका थिएनन् ।
हारको पीडा कम हुँदै गर्दा एमाओवादीमा तीन विकल्पसहितको बहस सुरु भयो । जानकारहरुका अनुसार त्यसमा एमालेसँगको पार्टी एकता एउटा विकल्प थियो, जसलाई प्रचण्ड निकटका दोस्रो तहका नेताहरुले अघि सारेका थिए ।
यदाकदा ओलीनिकटका नेताहरुले मनमोहनलाई त अध्यक्ष मान्यौं भने प्रचण्डलाई अध्यक्ष मान्न हामीलाई केही गाह्रो छैन भन्ने गरेका छन्, र यो खबर लाजिम्पाटसम्म पुगिसकेको छ ।
तर, हालै एमाओवादी परित्याग गरेका डा. बाबुराम भट्टराईले एमालेसँगको एकताको सम्भावनालाई कहित्यै स्वीकार गरेनन् । बरु उनले एमाओवादी नै छाड्न लागेको संकेतहरु दिइरहे । र, अन्ततः बाबुरामले प्रचण्डलाई सजिलो हुने गरी पार्टी नै परित्याग गरे । यसले प्रचण्डलाई एमाले अध्यक्ष केपी ओलीसँग नजिक पुर्‍याउन भूमिका खेल्यो ।
यो बीचमा ओलीले विष्णु पौडेलमार्फत पार्टी एकताको कार्ड खेले । र, एक हदसम्म सफल पनि भए । एमाले सचिव पौडेलले आफ्नै मुखबाट प्रचण्डलाई भनिसकेका छन् कि पार्टी एकता भयो भने मनमोहन अधिकारीलाई जसरी तपाईलाई अध्यक्ष मान्न एमाले तयार छ ।
ओली निकटका विष्णु पौडेलले प्रचण्डलाई केही महिना पहिले नै यो प्रस्ताव राखेका छन् । तर, शुक्रबार सरकारमा समर्थनका लागि आठबुँदे सर्त लिएर बालकोट पुगेका प्रचण्डलाई ओलीले फेरि त्यही कार्ड देखाएको सूत्रहरु बताउँछन् ।
स्रोतका अनुसार प्रचण्डले सरकारलाई समर्थनका शर्तहरु प्रस्तुत गरेपछि ओलीले भनेका थिए, यसमा केही समस्या छैन । भन्नुहुन्छ भने म त आजै पार्टी एकताको घोषणा गर्न पनि तयार छु ।’
यद्यपि प्रचण्डले यो कुरा यहाँ नगर्नुस् भन्दै ओलीलाई थप केही भन्नबाट रोकेका थिए ।
तर, त्यसको असर बालुवाटारमा भएको कांग्रेस र एमाओवादी छलफलमा देखियो । जतिबेला एमालेको नेतृत्वमा कांग्रेससहितको सरकार गठनको निर्णय लिएर प्रचण्डसहितको जम्बो टोली कांग्रेससँग छलफल गर्न बालुवाटार पुगेको थियो । सो छलफलमा प्रचण्डले भद्र सहमति अनुसार एमालेको नेतृत्वमा प्रमुख दलहरुको सरकार बनाउन प्रस्ताव मात्रै गरेनन्, हामी त बहुमतीय सरकारमा पनि एमालेलाई नै समर्थन गर्ने हो भनेर कांग्रेसलाई अगि्रम सूचना चुहाए ।
तर, एमाओवादीका अन्य नेताहरुले भने यसबारे पार्टीमा कुनै औपचारिक निर्णय नभएको भन्दै प्रचण्डको भनाइ सच्याउने प्रयास गरेका थिए ।
एमाओवादी अध्यक्ष प्रचण्डलाई नजिकबाट बुझेकाहरुका अनुसार अहिले केपी शर्मा ओली र प्रचण्डको सम्वन्ध मिलनको ‘क्लाइमेक्स’मा पुगेको छ । प्रचण्ड कुनै पनि मूल्यमा केपी ओलीलाई प्रधानमन्त्री बनाउन चाहन्छन् ।

प्रचण्डले सार्वजनिक रुपमा नै माअोबादी-एमाले एकिकृत हुन सक्ने संभावनालाई अभिब्याक्त गरिसकेका छन । यो साठगाठलाई त्यसैले महत्वपुर्ण रुपमा हेर्न सकिन्छ ।

No comments :

Post a Comment