07 September 2015

न राहत न सरकारको साथ, आन्दोलनकारीको मराई केवल आफन्तलाई आघात

सुर्खेतः सीमाकंनको विरोध र अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका मृतकका आफन्तहरुले आफूहरुलाई आन्दोलनकारी र राज्य दुबैबाट वेवास्ता भएको गुनासो गरेका छन् ।


आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा गर्ने र क्षतिपूर्ती दिने निर्णय भएपनि हालसम्म केही पनि नभएको दुखेसो पीडित परिवारले पोखेका छन् ।

जिल्लामा १३ दिनसम्म चलेको आन्दोलनका क्रममा गत साउन २५ गते प्रहरीले गोली चलाउँदा वीरेन्द्रनगर–३ का टिकाराम गौतम, वीरेन्द्रनगरकै यामबहादुर विसी र गोपालसिं रजवारको मृत्यु भएको थियो ।

आन्दोलन चर्किदै जाँदा शीर्ष नेताहरुले सुर्खेतको आन्दोलनलाई सम्बोधन गर्न सात प्रदेशमा जाने सहमति जनाएसँगै आन्दोलन पनि फिर्ता भयो । तर, आन्दोलन निष्कर्षमा पुगेको तीन साता वितिसक्दा समेत आन्दोलनमा ज्यान गुमाएका तीनै जनाको परिवारलाई भने हालसम्म कसैले सम्झेका छैनन् ।

आन्दोलन सफल भएपछि जिल्लामा विजय जुलुस समेत निकालियो । तर, आन्दोलनलाई उचाईमा पुर्याउनका लागि प्रहरीको गोली थापेका मृतकका आफन्तहरुले भने आफूहरुको अपमान भएको बताएका छन् । आन्दोलनका नेतृत्वकर्ता र राज्य दुवै पक्षबाट आफूहरुलाई वेवास्ता गरिएको उनीहरुको गुनासो छ ।

उनीहरुले मृतकलाई हालसम्म पनि सहिद घोषणा नगरिएको र सरकारले दिने निर्णय गरेको दस लाख क्षतिपूर्ती रकम समेत नपाएको जनाएका छन् ।

‘आन्दोलनका बेलामा मेरा श्रीमान्को ज्यान गयो, श्रीमान्को रगतले नै यो क्षेत्रले छैठौ प्रदेश पनि पायो । तर, जसको रगतले आन्दोलन सफल भयो’, आन्दोलनका क्रममा ज्यान गुमाएका टिकाराम गौतमका पत्नी दुर्गादेवी गौतमले भनिन्,  ‘आज उनीहरुलाई नै अपमान गरिंदैछ ।’

उनले आफ्ना पतिसहित आन्दोलनमा ज्यान गुमाएका तीनै जनालाई तत्काल सहिद घोषणा गर्न सरकारसँग माग गरिन् । एकातर्फ आफन्त गुमाएको पीडा त छदैं छ, त्यसमा पनि मृतकका आफन्तलाई सरकारले दिने निर्णय गरेको क्षतिपूर्ति बापतको रकम नपाउँदा उनीहरुलाई थप पीडा भएको छ ।

आन्दोलनकारीहरुले आफ्ना माग पूरा गराउनका लागि मृतकको शवलाई हतियार बनाएको गुनासो पीडित परिवारले गरेका छन् ।

‘आन्दोलन सफल नहुँदासम्म सबैले घरमै आएर धेरै सान्तवना र आश्वासन दिए, जब हामीले मृतकको दाहसंस्कार गर्यौ त्यसपछि भने कोही पनि फर्केर आएका छैनन्’ आन्दोलनमा मारिएका गौतमका जेठा छोरा अमृत गौतमले भने, ‘त्यत्तिबेला सहिद घोषणा गर्छौ भने, राहत स्वरुप दस लाख दिन्छौ पनि भनेका थिए । अहिलेसम्म हामीले केही पाएका छैनौं ।’

उनले थपे, ‘आन्दोलनको जस सबैले लिए, तर बुबाको शवयात्रामा प्रयोग भएको गाडीको भाडा समेत हामीसँगै मागे । दस लाख राहतको त कुरै छोडौं, किरिया खर्च समेत कसैले दिएनन् ।’

यसअघि सहिद घोषणा र क्षतिपूर्ती नपाएसम्म आफन्तहरुले शव बुझ्न मानेका थिएनन् । तर, स्थानीय प्रशासन र आन्दोलनकारीबीच मृतकलाई सहिद घोषणा गर्नुका साथै राहत दिने सहमति भएपछि आठ दिनपछि मात्र आफन्तले शव बुझेका थिए । आन्दोलन टुंगिएको तीन साता बितिसक्दा समेत मृतकका आफन्तलाई हालसम्म कसैले पनि भेटेका छैनन् ।

अर्कोतर्फ आन्दोलनका घाइतेहरुको उपचारमा समेत कसैबाट ध्यान पुग्न सकेको छैन । आन्दोलनमै ज्यान गुमाएका यामबहादुर विसीकी पत्नी निमा शाही भन्छिन्, ‘हाम्रा आफन्तको रगत खेर नजाओस्, तत्काल मृतकलाई सहिद घोषणा गरियोस् ।’ मृतकका आफन्तहरुले सहिद घोषणा र राहतको माग गरेपनि त्यसका लागि कसैले पहल गरेका छैनन् ।

आन्दोलन टुंगिएपछि जिल्लाका राजनीतिक दलहरु मौन देखिएका छन् भने नागरिक संघर्ष समिति पनि निस्कृय बनेको छ । यता सुर्खेतका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम मृतकलाई सरकारले सहिद घोषणा गर्ने भएकाले आफूहरुले मात्र चाहेर केही नहुने बताए ।

उनले मृतकका आफन्तहरुलाई दिने भनिएको दस लाख राहत केही दिनमा वितरण हुने जानकारी दिए । त्यसका लागि प्रक्रिया अघि बढिरहेको उनको भनाइ छ । आन्दोलनमा ज्यान गुमाएका मृतकका आफन्तहरुले मृतकलाई सहिद घोषणा नगरिए आन्दोलनकै अबमुल्यन हुने बताएका छन् ।

आन्दोलनको सफलतामा जस लिनका लागि प्रतिस्पर्धा गरेका यहाँका राजनीतिक दल र नागरिक आन्दोलन संघर्ष समितिले प्रभावकारी भूमिका निर्वाह नगर्दा आन्दोलनमा आफन्त गुमाएकाहरु निराश बनेका छन् । यस्तै आन्दोलनकै क्रममा घाइते भएकाहरुको उपचारमा समेत कसैले ध्यान दिएका छैनन् । जसका कारण आन्दोलनका घाइतेहरु पनि विभिन्न अस्पतालमा अलपत्र परेका छन् । 

No comments :

Post a Comment