23 February 2015

श्रीमान, श्रीमती र ७ महिने छोरी कोठामा मृत फेला

"काठमाडौंको काँडाघारीमा एकै परिवारका ३ जना मृत फेला परेका छन् । हालको कागेश्वरी मनोहरा नगरपालिका-३ विरेन्द्रचोकमा राजन बस्नेत, उनकी श्रीमति पबिता र उनीहरुको ७ महिने छोरी मृत फेला परेका हुन् ।
रामेछाप बाम्ती गाविस १ का उनीहरु शंकर खतिवडाको घरमा डेरा गरी बस्दै आएका थिए । उनीहरु आफ्नै कोठाभित्र आइतबार विहान मृत फेला परेको प्रहरी
निरीक्षक दीपक शर्मा ढुंगेलले अनलाइनखबरलाई जानकारी दिए ।
सेनामा सिपाहीको जागिरे राजन र पबिताबीच एक बर्षअघि विहे भएको थियो । चितवनको शक्तिखोरमा कार्यरत उनी तालिमका लागि काठमाडौंस्थित हेडक्वाटरमा आएका थिए ।
विरामी छोरीलाई सेकेर सुतेका उनीहरु सँधैका लागि उठ्न नसकेर संसारबाट विदा भए । ब्रिकेट बालेर ढोका, झ्याल बन्द गरी सुतेकाले अक्सिजन अभावमा निसास्सिएर उनीहरुको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

विहान अबेरसम्म पनि ढोका नखुलेपछि शंका लागेर घरबेटी खतिवडाले ढोका खोल्न खोज्दा नखुलेपछि प्रहरीलाई खबर गरेका थिए ।
‘स्थानीयको रोहबरमा ढोका फोडेर हेर्दा ‘कोठाको एक छेउँमा घर ढलान गर्दा सिमेन्ट बोक्ने फलामको तावामा कोइला बालिएको खरानी थियो । झ्यालहरु सबै बन्द थिए । तिनैजना खाटमा सुतिरहेको अवस्थामा मृत फेला परे,’ प्रहरी निरीक्षक ढुंगेलले भने, ‘सावधानी नअपनाउँदा दुःखद घटना भयो ।’
एकै ठाउँमा एकभन्दा धेरै जनाको मृत्यु भएमा एउटै बाटोबाट बाहिर निकाल्न नहुने मान्यताको कारण फरक-फरक ढोका र झ्यालबाट शवलाई बाहिर निकालिएको थियो ।
पोष्टमार्टमका लागि शवलाई शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरी निरीक्षक ढुंगेलले जानकारी दिए ।

No comments :

Post a Comment