14 May 2015

राजधानीका कुन-कुन बस्ती जोखिमपूर्ण छन् त ?

Bhukampa-bid३१ वैशाख, काठमाडौं । विज्ञहरुले काठमाडौं उपत्यकाका केही ठाउँहरु मानव बस्तीका लागि जोखिमपूर्ण ठहर गरेका छन् । बिभिन्न अध्ययन र पछिल्लो भूकम्पको क्षतिपछि उनीहरुले केही त्यस्ता ठाउँहरु ‘लोकेट’ गरेका हुन् ।
विपत व्यवस्थापन सम्बन्धी सभासदहरुको अनौपचारिक फोरमले बिहीबार काठमाडौंमा आयोजना गरेकेा कार्यक्रममा भूगर्भविद तथा भूकम्प इन्जिनियरिङका अध्ययताहरुले काठमाडौं पहिले ताल भएकाले यहाँको माटो कमजोर रहेको बताए ।
भूगर्भविद डा.रन्जन दाहालले भने-केही हजार वर्षअघि काठमाडौं ताल थियो । ताल कटाएर बनाएको शहर भएकाले यहाँको माटो कमलो र कतिपय ठाउँमा बाक्लो छ । त्यसैले ठाउँ अनुसार यहाँ क्षति कम र बढि हुन्छ ।’

उनले काठमाडौंको नैकाप, रामकोट लगायतका क्षेत्रमा बढि क्षति हुनु त्यहाँको माटोमै समस्या रहेको बताए । त्यस्तै जग्गा प्लटिङका नाममा काटेर पुरिएको घँडेरीमा बनाइएका घर उच्च जोखिममा हुने बताए । भूकम्प इन्जिनियरिङक विज्ञ प्राध्यापक डा. प्रेमनाथ मास्केले काठमाडौंको धापासी, गोंगबु, रामकोट, सितापाइला,ललितपूरका इमाडोल, धापाखेल तथा भक्तपूरका कौशलटार, सिपाडोलजस्ता ठाउँमा भूकम्पको बढि जोखिम रहने अध्ययनले देखाएको बताए ।
तुलनात्मक रुपमा जोखिमपूर्ण मानिएका असन क्षेत्रका घरहरुमा कम क्षति हुनुको कारण त्यहाँको माटोनै भएको उनीहरुले बताए । ‘धेरै माटो भएका ठाउँमा अग्ला घरहरू धैरै भत्किए, साना घर भत्किएनन्, त्यसकारण असन जोगियो’ दाहालले भने ।
काठमाडौं उपत्यकामा घर बनाउन प्रयोग भइरहेका इटा कुनै पनि गुणस्तरीय नभएको भन्दै मास्कले अब निर्माण सामाग्रीको गुणस्तरमा सरकारले कडाई गर्नुपर्ने बताए । अष्ट्रेलियामा बाँसका २९ तले भवनसम्म बनेका उदाहरण दिँदै उनले भने-‘अब हाम्रा बाँसहरुको उपयोगमा राज्यले नीति बनाएरै प्रोत्साहन दिनुपर्छ । बाँसको घर जति सुरक्षित कुनै पनि हुँदैनन् ।’
कार्यक्रममा विज्ञहरुले सभासदहरुको यो फोरममार्फत अब भवन निर्माण सम्बन्धी कडा संहिता ल्याउन संसदले काम गर्नुपर्ने बताएका थिए ।
विपत व्यवस्थापनमै विद्याबारिधी गरिरहेका एमाले सभासद गंगालाल तुलाधरको संयोजकत्वमा बनेको फोरममा सबै दलका सभासदहरु छन् । यो फोरम भूकम्प आउनुभन्दा एक साताअघिनै गठन भएको यसका सदस्य तथा सभासद यज्ञराज सुनुवारले बताए ।

No comments :

Post a Comment